मतदान सिकाउन ७७ जिल्ला पुगेर २० भाषामा नाटक मञ्चन



भोलि बिहीबार हुने दोस्रो चरणको निर्वाचन शिक्षाका लागि जिल्ला जिल्लामा मञ्चन गरिँदै आएको नाटक महादानको प्रदर्शन समापन भएको छ। ४५ जिल्लामा पुगेका २२ नाट्य टोलीले सडक नाटक महादान सोमबार प्रदर्शन समापन गरेका हुन्।

निर्वाचन आयोगको आयोजना, सांस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकूलको सहकार्यमा प्रस्तुत हुँदै आएको नाटकमार्फत् कलाकारहरुले सम्बन्धित क्षेत्रमा निर्वाचन कसरी गर्ने, आफ्नो मतको सदुपयोग कसरी हुन्छ, निर्वाचन कसका लागि लगायतका विषयमा महादानमार्फत् जनचेतना फैल्याए।

यसअगाडि गत १० मंसिरको पहिलो चरणको निर्वाचनलाई मध्यनजर गर्दै २० नाट्य टोली ३२ जिल्लामा खटिएका थिए। ती टोलीले नाटक महादान मञ्चन सफलतापूर्वक सम्पन्न गरेलगतै दोस्रो चरणको निर्वाचनका लागि नाट्य टोली ८ मंसिरबाटै मञ्चमा उतारिएको सांस्कृतिक संस्थानमा महाप्रबन्धक राजेश थापाले जानकारी गराए। ‘दुवै चरण गरेर मतदाता शिक्षा नाटक महादान कूल ७७ जिल्लाको सबै स्थानीय निकायमा मच्चन भएको छु महाप्रबन्धक थापाले भने ‘महादानमार्फत् मतदान शिक्षा फैलाउन हामी सफल भयौँ।’ थापाका अनुसार स्थानीय कलाकार परिचालन गरिएको नाटक मञ्चनका क्रममा नेपालीसहित विभिन्न स्थानीय भाषामा नाटक देखाइएको थियो। ‘स्थानीय भाषालाई समेत जोड्ने हो भने करिब २० भाषामा नाटक महादान मञ्चन भएको छ’ –थापाले भने। मतदाता शिक्षाका लागि हिमाली तथा पहाडी जिल्लामा खटिएका विभिन्न नाट्य टोलीमध्ये केहीले ५ दिनसम्मको लगातार पैदल यात्रा गरी नाटक मञ्चन गरेका थिए भने केही टोलीले एक स्थानबाट अर्काे स्थानमा नाटक प्रदर्शन गर्न जाँदा दिनभर पैदल यात्रासमेत गर्नुपरेको पर्यो।

गत २७ कात्तिकबाट शुरु भएको नाटक २२ दिन आर्थात् १८ मंसिरसम्म मञ्चन भएको छ। यो अवधिमा करिब २ लाख ५० हजार दर्शकले प्रत्यक्ष नाटक महादान हेरेर मतदाता शिक्षा लिएको संस्थानका महापबन्धक थापाले बताए।

अन्तिम दिन सोमबार पनि नाटक महादान विभिन्न जिल्लामा मञ्चन गरियो। सोमबार प्रदेश १ को सुनसरीस्थित चार स्थानीय क्षेत्रमा नाटक मञ्चन गरियो। आरोहण गुरुकूलले सुनसरीको दुहवी नगरपालिकाको दुहवी, इनरुवा नगरपालिकाको इनरुवाबजार, रामधुनी नगरपालिकाको झुम्का बजार र इटहरी उपमहानगरपालिकाको खनार बजारमा नाटक मञ्चन गरिएको टोलीका निर्देशक दीपेश भण्डारीले बताए। यसै गरी भर्याङ नाट्य समूहले आइतबार र सोमबार उदयपुरको विभिन्न स्थानमा महादान मञ्चन गरेको छ। उनीहरुले कटारी नगरपालिकाको कटारी बजार, सुनकोशी गाउँपालिकाको बराहा, त्रियुगा नगरपालिकाको गाईघाट बजार, चौदण्डीगढी नगरपालिकाको बेल्टार, बेलखा नगरपालिकाको तपेश्वरी आम्बासी, रौतामाई गाउँपालिकाको मुर्कुची र काली गाउँपालिकाको रुपाटारीमा नाटक प्रस्तुत गरे।

प्रदेश २ को बारामा पनि सोमबार नाटक मञ्चन भयो। जिल्लाको पर्वानीपुर गाउँपालिकाको बुनियार, पर्साैनी गाउँपालिकाको पुटनाजब्दी र कलैया उपमहानगरपालिकाको इनरुवा टोलमा गढीमाई नाट्य समूहले नाटक प्रदर्शन गरेको छ। यी स्थानमा नेपाली, भोजपुरी र थारु भाषामा नाटक देखाइएको नाट्य टोलीका प्रमुख रामलोचनले जानकारी गराए। प्रदेश ३ को सिन्धुलीस्थित गोलन्जोर गाउँपालिकाको खनियाँखर्क, घ्याङलेख गाउँपालिकाको खट्टारमा नाटक मञ्चन गरियो। प्रदेश ४ को तनहुँ पुगेको भिक्टोरिया नाट्य समूहले त्यहाँस्थित ब्यास नगरपालिकाको बिसघरे, घिरिङ गाउँपालिकाको देउराली र रिसिङ गाउँपालिको गोठादीमा नाटकमार्फत् निर्वाचन शिक्षा बाँडेको टोली नेता संगम कायस्थले बताए।

त्यस्तै प्रदेश ५ को पाल्पा पुगेको संँस्कृतिक संस्थानको रमेश केसी मट्टारे नेतृत्वको टोलीले जिल्लास्थित मिस्सी गाउँपालिकाको मितेल बजार र रामपुर नगरपालिकाको बेदहाड बजारमा नाटक मञ्चन गर्यो। प्रदेश ७ को डडेलधुरस्थित ज्ञानपुरधारा गाउँपालिकाको भातकाडा, आलिताल गाउँपालिकाको घरेलु गाउँ, परशुराम नगरपालिकाको जोगबुढा बजारमा सुप सांस्कृतिक मञ्चले पश्चिमेली भाषामा नाटक मञ्चन गरेको छ।

प्रतिक्रिया दिनुहोस्