जेरुसलमलाई राजधानीको दर्जा दिने ट्रम्पको निर्णयमा विवाद, म्याक्रोंद्वारा एकपक्षीय निर्णयप्रति चिन्ता व्यक्त



पेरिस, (एजेन्सी)
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने अमेरिकी नेताको एकपक्षीय निर्णयलाई लिएर आफू चिन्तित भएको बताए।

उक्त शहरको स्थितिमा कुनै पनि फैसला ‘इजरायल र प्यालेस्टाइन वार्ताको फ्रेमवर्क भित्र‘ हुनुपर्ने म्याक्रोंले बताए। यसैहप्ता जेरुसलमलाई इजरायली राजधानीको मान्यता दिने र अमेरिकी दूतावास उक्त शहरमा स्थानान्तरण गर्ने ट्रम्पको फैसलामा अरब तथा मुस्लिम मुलुकले विरोध गरिसकेका छन्।

इजरायल तर प्यालेस्टाइन दुवैले उक्त शहरलाई आ–आफ्नो राजधानी दावी गरिरहेका छन्।अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार आफ्नो सम्बोधनमा जेरुसलमलाई इजरायलको राजधानी मान्यता दिने घोषणा गर्न सक्ने समाचारमा जनाइएको छ। तर ह्वाइट हाउसले अमेरिकी दुतावास टेलअभिवबाट जेरुसलममा सार्ने प्रक्रियामा ढिलाइ हुन सक्ने संकेत दिएको छ।

इजरायल प्यालेस्टाइन विवादमा जेरुसलमको दर्जा एक महत्वपूर्ण मुद्दा हो। ट्रम्प आफ्नो यो फैसलामा विचार गरिरहेकै बेला मध्यपूर्व लगायत विश्वका नेताहरूले दशकौं पुरानो अमेरिकी नीतिमा आएका विचलनलाई लिएर सार्वजनिक चेतावनी जारी गरे। इजरायली रक्षा मन्त्री एविग्डोर लिबरमानले ट्रम्पलाई यस ऐतिहासिक अवसरलाई हातबाट फुत्कन नदिन सुझाव दिएका थिए। यसबीच टर्कीका उप प्रधानमन्त्री बेकिर बोजदागले यदि जेरुसलमको स्थिति परिवर्तन भएमा र त्यस दिशामा अर्को कदम उठाइएमा ठुलो विध्वंश निम्तिने चेतावनी दिए। उनले यस क्षेत्रमा संवेदनशील शान्ति प्रक्रिया पूर्ण रूपमा नष्ट हुने र नयाँ विवाद, नयाँ संघर्ष बढ्ने र नयाँ शिराबाट अशान्ति फैलिने चेतावनी पनि दिए।

ह्वाइट हाउसका अधिकारीहरूले राष्ट्रपतिबाट अहिले नै अन्तिम फैसला नलिएको र सम्भवतः दूतावास जेरुसलममा स्थानान्तरित गर्ने फैसलालाई अगाडि नबढाइने संकेत दिए। ह्वाइट हाउसका प्रवक्ता होगन गिडले यस सम्बन्धमा फैसलाको घोषणा आगामी दिनमा हुने बताए। यस मुद्दामा राष्ट्रपतिको धारणा प्रष्ट भएको बताउँदै यो हुन्छ वा हुँदैन भन्ने मामिला नभई कहिले हुन्छ, भन्ने मात्र भएको उनले बताए।
अरब लिगका प्रमुख, टर्की, जोर्डन र प्यालेस्टिनी नेताहरूले यसबाट गम्भिर परिणाम निस्कने चेतावनी दिएका छन्। इजरायल र अरबबीच उक्त शहरको भविष्यलाई लिएर ठूलो विवाद रहेको छ। ट्रम्पको सम्भावित घोषणालाई लिएर इजरायल सरकारले कुनै टिप्पणी गरेको छैन।

अमेरिकी दूतावासलाई इजरायली राजधानी तेलअभिवबाट जेरुसलममा सार्ने प्रक्रियालाई विलम्ब गर्ने मस्यौदामा ट्रम्पले हस्ताक्षर गर्नु थियो तर यसको समयसीमा सोमबार समाप्त भइसकेको छ।

दूतावास जेरुसलममा सार्नका लागि अमेरिकी कांग्रेसले १९९५मा एक कानुन पारित गरेको थियो। त्यहिबेलादेखि उक्त योजना कार्यान्वयन ढिलाइ गर्ने अनुमति दिने निर्णयमा सबै राष्ट्रपतिले प्रत्यक ६ महिनामा हस्ताक्षर गर्दै आइरहेका छन्।

ट्रम्पले आफनो चुनावी अभियानमा दूतावासलाई जेरुसलम लग्ने प्रतिबद्धता पटक पटक व्यक्त गरेका थिए। अहिले पनि उनी आफ्नो उक्त नीतिमा अडेका छन्। तर उनले अहिलेसम्म त्यसलाई पूरा गर्न सकेका छैनन्।

मध्यपूर्व तनावको प्रमुख कारण
जेरुसलम अरब र इजरायलीबीच विवादको एक प्रमुख मुद्दा हो। सहरको पूर्वमा यहुदी, इस्लाम र इसाइ धर्मका पवित्र धार्मिक स्थल रहेको छ। सन् १९६७को मध्य पुर्व युद्धमा इजरायलले उक्त इलाकामाथि कब्जा गरेको थियो र सम्पूर्ण शहरलाई आफ्नो अविभाज्य राजधानी घोषण गरेका थिए।

तर प्यालेस्टाइनले पनि पुर्वी जेरुसलमलाई आफनो भविष्यको राज्यको राजधानी भएको दावी गर्दै आइरहेको छ। १९९३मा इजरायल र प्यालेस्टाइनबीच भएको शान्ति सम्झौताअनुसार उक्त शहरको बारेमा भविष्यको शान्ति वार्तामा तय गरिनेछ। हाल इजरायलको अधिनमा रहेको भएपनि जेरुसलममाथि इजरायली अधिकारलाई कहिले पनि अन्तराष्ट्रि«य मान्यता प्राप्त भएको छैन। इजरायलको सबैभन्दा निकत मानिएको अमेरिकालगायत विश्वका कुनै पनि देशले आफ्नो दूतावासलाई तेलअभिवमै राखेका छन्।

तर सन् १९६७ पछि इजरायलले पूर्वीजेरुसलममा नयाँ बस्तीहरू बसालेका छन्, जसमा करिब २ लाख यहुदी बसोबास गर्दै आइरहेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार त्यसलाई अवैध निर्माण मानिएको छ तर इजरायलले यसलाई अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्