दोस्रो चरणको निर्वाचन भोलि सम्पूर्ण तयारी पूराः आयोग



सुनील महर्जन, काठमाडौं
भोलि बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। शान्तिपूर्ण तवरमा निर्वाचन सम्पन्न गर्नु मुख्य चुनौती रहेको बताउँदै आयोगले सोहीअनुरूप व्यवस्थापकीय, सुरक्षा दृष्टिले पनि तयारी पूरा भएको जनाएको छ।

दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ क्षेत्रका लागि हुनेछ। १५ हजार ३ सय ४४ मतदानमा केन्द्रमा निर्वाचन हुनेछ। निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप, मसीलगायतका ६७ प्रकारका निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको छ। सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू मतदानस्थलमा पुगिसकेका छन्।

कर्मचारीले मतदान केन्द्र बनाउने काम गरिरहेका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालको भनाइ रहेको छ।

निर्वाचनका लागि २ लाख ७२ हजार कर्मचारी खटिएका छन्। निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको छ। उहाँले भन्नुभयो– ‘आयोग अहिले २४सै घण्टा स्ट्यान्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाइ भए समाधान गर्न हामी तयारी अवस्थामा छौं।’
आयोगले मतदानस्थलबाट मतदाता परिचयपत्र मंगलबार दिन शुरू गरेको छ। परिचयपत्र आज बुधबारसम्म दिने आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनमा कुल मतदाता १ करोड २२ लाख ३५ हजार ९ सय ९३ रहेका छन्।

यसैबीच प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो– ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरेको छ।’

दोस्रो चरणको निर्वाचनका लागि करिब २ लाख ८० हजार सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्याका सुरक्षाकर्मी खटिएका हुन्। मतदानस्थल सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक तथा नायब निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन हुनेछन्। सुरक्षा बलियो बनाउन मतदान केन्द्रलाई साधारण, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ।

मतदान सकिएलगत्तै मतपेटिकाहरू केन्द्रमा पुर्याउन कर्मचारीहरूलाई तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ। प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरी आयोगले निर्देशन दिएको उहाँले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचनमा मतगणना निकै सुस्त भएकामा आयोगको सर्वत्र आलोचना भएकोलाई मध्यनजर गर्दै आयोगले एक साता मतपरिणाम सार्वजनिक गर्ने तयारी अघि बढाएका बताइएको छ।

यसपटकको निर्वाचनमा मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न निर्वाचन आयोगले आवश्यक मात्रमा गणकको व्यवस्था मिलाएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। ‘मतगणनाका लागि आवश्यक ठाउँसमेत प्रबन्ध मिलाएका छौं। यसपटक मतपरिणामका लागि जनताले धेरै दिन कुर्नुपर्ने छैन।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।

त्यसैगरी आयोगले मतगणनामा कुनै अप्रिय घटना नहोस् भनेर निर्वाचन अधिकृतलाई सीसीटीभी राख्न निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्