उम्मेदवारी खारेजका बारेमा सर्वोच्चले आयोगलाई बोलायो



प्रशान्त वली, काठमाडौं
सर्वोच्च अदालतले वाम गठबन्धनका उम्मेदवार शिवपुजनराय यादवको उम्मेदवारी खारेजका बारेमा निर्वाचन आयोगलाई बोलाएको छ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनको उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेजका बारेमा अन्तरिम छलफलका लागि निर्वाचन आयोगलाई बोलाएको हो।

वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज बुधबार अन्तरिम छलफलका लागि बोलाएको हो। भोलि बिहीबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन हुँदै छ। दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले बताउनुभयो। यादवले उम्मेदवारी खारेज बदरको माग गर्दै मंसिर १२ गते सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो। उम्मेदवार यादव उपर कूटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो। दोस्रो चरणको निर्वाचनमा भाग लिन उम्मेदवार बनेका तनहुँका गोविन्दराज जोशी र यादवको उजुरीको प्रकृति एउटै थियो यद्यपि जोशीको उम्मेदवारी तत्काल रद्ध भए पनि यादवको उजुरीमाथि लामो समयपश्चात् निर्णय भएको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ (घ) अनुसार यादवको उम्मेदवारी रद्ध गरिएको बताइएको छ। तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट सभासद् हुँदा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी दुरुपयोगको मुद्दा चलाएको थियो। आरोप लागेका पाँचमध्ये तीन जनालाई विशेष अदालतले दोषी ठहर गरेको थियो। गायत्री साह, विश्वनाथ यादवसँगै शिवपुजन पनि दोषी ठहरिएका थिए। २०७२ साउन २६ गतेको उक्त फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ।

विशेषले शिवपुजनलाई ४ महिना जेल र १५ हजार जरिवाना हुने आदेश गरेको थियो। आफ्नो कूटनीतिक राहदानी दुरुपयोग गरेर अन्य व्यक्तिलाई विदेश पठाएको आरोपमा उनीमाथि अख्तियारले मुद्दा चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्