सडक निर्माणमा ठेकेदारको चरम लापरवाही, पाँच महिना पनि टिकेन सडक



उत्तम नेपाल, भद्रपुर ।
ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरि निर्माण गरिएको सडक भासिन र भत्किन थालेको भन्दै स्थानीयले आरोप लगाएका छन् । कालोपत्रे सडक निर्माण भएको पाँच महिना बित्न नपाउँदै भासिन र भत्किन थालेपछि स्थानीयले ठेकेदारको काम प्रति असन्तुष्टी जनाउदै आरोप लगाएका हुन् ।

साविक पृथ्वीनगर गासिव २ हाल भद्रपुर नगरपालिका १ स्थित सगरमाथाचोक देखि डि गाँउ हुदै शेरेचोक सम्म निर्माण भएको कालोपत्रे सडक २०७४ साल असार मसान्तमा सम्पन्न भएको सडक डिभीजन कार्यालय दमकले जनाएको छ ।

पृथ्वीनगरको सगरमाथाचोकदेखि बनियानी चोक निस्किने वैकल्पिक सडक पनि हो यो । निर्माण कम्पनीले सो सडकमा गुणस्तहीन काम गरेकाले अहिले सडक भासिन र भत्किन थालिसकेको स्थानीय मोहन पाण्डेले बताए । कालोपत्रे सडक निर्माण भएपछि अहिले बनियानी लगायत दक्षिण क्षेत्र तर्फ आवतजावत गर्ने ठूला तथा साना सवारीसाधन यही सडकबाट चल्न थालेको छ । ‘सवारीसाधन चल्न थालेपछि कालोपत्रे सडक कस्तो बनाइएको छ, अहिले हेर्दा प्रस्ट थाहा हुन्छ, पाण्डेले भने ।

सडक निर्माणाधिन अवस्थामै ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीय उपभोक्ताले निर्माण कार्य रोकेका थिए । तर, सडक निर्माण कार्य हेर्न गठन गरिएको अनुगमन समिति भन्दा बाहिरको उपभोक्ताले बोल्न नमिल्ने भन्दै काम उपभोक्ताको सहमति विपरित सुचारु गराइएको उनले थपे । स्थानीय गणेश भुजेलका अनुसार रोलरको भाइब्रेसन कम भएका कारण सडक भासिन थालिसकेको बताए ।

‘रोलरको काम हुदाँ म सडकमै थिए, उनले भने, ‘भाइव्रेसन दियो भने रोलर चालकको शरीरलाई असर पर्ने भएकाले चालकले अन्य सवारीसाधन कुदाएर जस्तै गरी काम सकेकोले सडक गुणस्तरहीन बनेको हो ।’ ठेकदार र अनुगमन समितिको लापारवाहीले सडक गुणस्तरहीन बनेको स्थानीय टंक श्रेष्ठको आरोप छ । सडकमा कालोपत्रे गाडीवाट पानीजस्तै छर्दै हिडेकोले सडक भत्किन सुरु भएको श्रेष्ठको भनाइ छ । ठेकदारसँग जानकारी लिदा यो कालोपत्रे हैन आजकलको सेतोपत्रे हो भन्ने जवाफ दिएको उनले बताए । अनुगमन समितिका सदस्य राजन भट्टराईले सडकको केही भाग हिलो र दलदल भएका कारण सडक भासिएको बताए ।

अनुगमन समितिका अध्यक्ष मदन कडेलले सडकको लागि बनाइएको अनुगमन समिति कागजी प्रक्रियाको लागि बनाइएको बताए । अनुगमन समितिलाई प्राविधिक बिषयमा केही जानकारी नहुने उनको भनाइ छ । सडक खाली र अवरोध हटाउन काम गराउन मात्र समिति गठन गरिएकोले सडकको गुणस्तर सडक डिभीजनलाई थाहा हुने उनले जनाए ।

करिब साढे ४ करोड लागतमा ५.५ किलोमिटर लम्बाई र ४ मिटर चौढाई सडकको ठेक्का दिवा निर्माण सेवा कम्पनीको नाममा शेरबहादुर थापाले लिएका थिए । नेपाल सरकारले सांसद कोषमा ५ करोड बजेट क्षेत्र नम्बर ३ मा पठाएपछि पृथ्वीनगरमा कालोपत्रे सडक निर्माण भएको हो । पृथ्वीनगरबासीले गाँउमा पहिलो पटक लामो कालोपत्रे सडक देख्न पाएको स्थानीय बताउँछन । यसअघि गाँउमा कालोपत्रे सडक निर्माण भएकै थिएन ।

यता सडक डिभीजन कार्यालय दमकका सव–इन्जिनीयर रामभरोष चौधरीले सडकको स्थलगत अनुगमन पश्चात मात्र सडकको बारेमा केही बोल्न मिल्ने बताए । निर्वाचनमा खटिएकोले समयमा अनुकुल मिलाएर सडकको अनुगमन गर्ने उनले बताए । निर्माण कार्य गुणस्तरहीन बनेको पाइएपनि निर्माण कम्पनीको धरौटी रकम कार्यालयमा जम्मा भएको छ उनले बताए । ‘एक बर्ष सम्म सडक बिग्रीए र भत्किए निर्माण कम्पनीले फेरी सडक बनाउनु पर्छ, उनले भने, ‘सडक नबनाए धरौटी रकम जफत गरिन्छ, ।

ठेकेदार कम्पनीका निर्माण व्यवसायी शेरबहादुर थापाले यो डिबीएसटि कालोपत्रे सडक भएकोले केही समस्या आएको हुन सक्ने जानकारी गराउँदै स्थलगत अनुगमन गरी निर्माण कार्यमा त्रुटि भए पुनः सच्याएर बनाउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्