आजकल फेसबुकबाटै हुन्छ विवाह



विनोद सिंह विष्ट, मंसिर ।
पछिल्लो समय बैतडीमा बालबिबाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोवाइल लगायत सञ्चारका साधनले गर्दा बालबिवाह न्युनिकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियान्ताहरुको भनाइ छ ।

आधारभुत तहदेखि नै किशोर किशोरीको हात हातमा मोबाइल हुने भएकाले सञ्चारको दुरउपयोग गर्दा यो समस्या निम्तीएको अभियान्ताहरुले बताएका हुन् । बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढीरहेको बालबालीकाका क्षेत्रमा काम गर्ने संघसस्थाहरुले जनाएका छन् ।

अब बैतडीका किशोरीलाइ १२ कक्षा नपढुञ्जेसम्म मोबाइल बोक्न बन्देज गर्नुपर्ने स्थानिय स्तरमा कानुन बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताउनुभयो । सञ्चारका साधनले बालबिबाहका न्युनिकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताउनुभयो । उहाँले भन्नुभयो“ पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ । ”

अहिले जिल्लामा सबैभन्दा बढी किशोरीहरु मोबाइलका कारण बलात्कारको सिकार हुनुपरेको समेत उहाँले बताउनुभयो । बैतडी भारतसंगै जोडीएको जिल्ला भएकाले फोनमा फेसबुकामा कुरा गरेर भागेर भारत जाने गरेको उहाँले बताउनुभयो । । बैतडीको सिमानाका झुलाघाटबाट चालु आर्थिक बर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

यसैविच बैतडीमा बालबिबाह अन्त्यका लागि रणनैतिक कार्ययोजनाको तयार पारेको छ । सन २०३० मा नेपाललाइ बालबिबाह मुक्त घोषणा गर्ने नेपालसरकारको लक्षय अन्र्तगत बैतडी जिल्लालाइ पनि बालबिबाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनैतिक कार्ययोजना तयार पारीएको हो ।

बैतडीका १० वटै स्थानिय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीबृत्त, प्रतिष्ठित धामिसमुह,पत्रकार लगायत सरोकारवालाहरुले बालबिबाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनैतिक कार्ययोजना तयारपारेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । बैतडीमा किशोरी सञ्जाल , किशोरी समुह किशोरी बृत गठन गरी बालविबाह न्यनीकरण गर्नका लागी किशोरी सक्रिय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्