रहेनन् शशि कपुर



ख्यातिप्राप्त बलिउड हस्ती शशि कपुरको निधन भएको छ। अभिनेता, निर्माता र निर्देशकका रूपमा आफ्ना फिल्महरूबाट ख्याति कमाएका कपुरको उपचारका क्रममा मुम्बईको कोकिलाबेन अस्पालमा ७९ वर्षको उमेरमा निधन भएको बीबीसी अनलाइन सेवाले जनाएको छ।

उनको सोमबार साँझ भारतीय समयअनुसार ५ बजेर २० मिनेटमा निधन भएको हो। उनी मृगौला रोगबाट पीडित थिए। शशिका भतिज रणधीर कपुरले पीटीआईलाई जानकारी गराएअनुसार उनलाई केही वर्षदेखि मृगौलाको समस्या थियो। उनी केही वर्षदेखि डायलसिस गरेर आफ्नो जीवन बढाइरहेका थिए। उनको अन्तिम संस्कार भने आज मंगलबार मात्र गरिने भएको छ।

७० र ८० को दशकका फिल्ममा उनी रोमान्स स्क्रिन आइकनका रूपमा छाएका थिए। उनले हिन्दीका साथै थुप्रै अंग्रेजी फिल्ममा पनि अभिनय गरेका छन्। यद्यपि उनी फिल्म क्षेत्रमा लामो समयसम्म सक्रिय थिएनन्। वक्त (१९६४), जब जब फूल खिले (१९६५), हसिना मान जायगी (१९६८), अभिनेतृ (१९७०), दिवार (१९७५), त्रिशूल (१९७८) जस्ता उनका फिल्म अहिले पनि स्मरणीय फिल्मका रूपमा लिइन्छ।

शशिले निर्माताका रूपमा बलिउडलाई केही उत्कृष्ट फिल्म दिएका छन्। जुनुन (१९७८), कलियुग (१९८०), ३६ चौरंगी लेन (१९८१), विजेता (१९८२), उत्सव (१९८४) तीमध्येका फिल्म हुन्। थिएटर र फिल्म क्षेत्रका हस्ती पृथ्वीराज कपुरकहाँ जन्मिएका शशि कपुरको जन्म १९ मार्च १९३८ मा भएको थियो। पिताको मार्गदर्शनअनुसार शशिले ४ वर्षको उमेरमै रंगमञ्चमा पाइला राखेका थिए। त्यो बाल्य उमेरमा उनले शकुन्तला नामक नाटकमा अभिनय गरेका थिए। ४० को दशकको अन्तिमतिर उनले फिल्ममा बाल कलाकारका रूपमा काम गर्न थालेका थिए। राज कपुर अभिनित आग (१९४८) र आवारा यिनीहरूमध्ये उल्लेखनीय फिल्मका नाम हुन्। यी फिल्ममा शशि कपुरले राज कपुरको बाल्यकालको भूमिकामा अभिनय गरेका थिए। ५० को दशकमा शशि कपुरले सहायक अभिनेताका रूपमा काम गर्न थालेका थिए। मुख्य अभिनेताका रूपमा भने उनले १९६१ बाट अभिनय यात्रा थालेका थिए। त्यस साल उनले धर्मपुत्र नामक ठूलो पर्दाबाट मुख्य भूमिकामा अभिनय गर्न थालेका थिए। उनले आफ्नो फिल्मी करियरमा १ सय १६ भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। उनी भारतको प्रतिष्ठित पद्म भूषण र २०१५ मा दादा साहब फाल्के पुरस्कारबाट सम्मानित भएका थिए।

शशि कपुर र अमिताभ बच्चनको जोडी बलिउडमा निकै रुचाइएको थियो। दिवार, सत्यम् शिवम् सुन्दरम्, नमक हलाल, सुहाग र त्रिशूल शशि–अमिताभको सुपरहिट फिल्म थिए। फिल्म दिवारमा उनले बोलेको संवाद अहिले पनि मानिसले सम्झने गर्दछन्। धर्मपुत्रपश्चात् शशिले चार दिवारी र प्रेमपत्रजस्ता असफल फिल्ममा काम गरेका थिए। त्यसपश्चात् उनको मेहन्दी लगी मेरे हाथ, मोहब्बत इसको कहते हैं, निन्द हमारी ख्वाब तुम्हारे, जुआरी, कन्यादान, हसिना मान जाएगीजस्ता फिल्म आए। ती पनि असफल सावित भए।

जब जब फूल खिले नामक फिल्ममार्फत उनको सफलताका यात्रा फेरि शुरु भएको थियो। सो फिल्मले गोल्डन जुबली मनाएको थियो। शशि त्यस्ता अभिनेता थिए, जसले अन्तर्राष्ट्रियस्तरका ब्रिटिस र अमेरिकी फिल्ममा काम गरेका थिए। द हाउसहोल्डर, सेक्सपियरवाला, बाम्बे टाकिज र हट एन्ड डस्टजस्ता फिल्म त्यसमध्येका थिए।

शशि कपुरको निधनप्रति भारतीय अधिकारी तथा बलिउडकर्मीले गहिरो शोक प्रकट गरेका छन्। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधनप्रति शोक प्रकट गर्दै ट्विट गरेका छन्। राष्ट्रपति कोविन्दले भारतीय र अन्तर्राष्ट्रिय फिल्मका लागि सुप्रसिद्ध अभिनेता शशि कपुरको निधनको खबरले दुःख लागेको भन्दै ट्विट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्