महिलालाई होच्याएकामा राष्ट्रपति घानीद्वारा माफी



काबुल, (एजेन्सी)
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले परम्परागत हिजाबमा आफ्नो टिप्पणीका लागि सम्पूर्ण महिलासँग माफी मागेका छन्।
असरफ घानीले केही सरकारी अधिकारीका इस्लामिक स्टेटसम्बन्धी आरोपका विषयमा शनिबार प्रतिक्रिया दिइरहेका थिए। उनले आरोप लगाउनेले प्रमाण दिनुपर्छ, होइन भने महिलाको खास्टो ओढ्नुपर्छ भनेका थिए। उक्त टिप्पणीलाई लिएर धेरैले यसलाई लैंगिक विभेदकारी भएको बताउँदै आलोचना गरेका थिए।

पछि राष्ट्रपतिले यसबाट चोट पुगेका महिलालाई सम्बोधन गर्दै माफी मागेका थिए। उनले आफ्नो कुरालाई गलत ढंगले बुझेको बताए। अफगान राष्ट्रपतिको कार्यालयले एक आधिकारिक विज्ञप्तिमा भनेको छ– राष्ट्रपति महिला अधिकारको प्रखर समर्थक हुन् र उनले अफगान राष्ट्रपतिका रूपमा आफ्नो कार्यकालमा महिलाको स्थिति बलियो पार्नका लागि कदम उठाएका छन्।
बयानमा राष्ट्रपतिले ‘चादर’ शब्दको प्रयोग गरेको र त्यसलाई गलत व्याख्या गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ– यो एक आम जनजिब्रोको कथन भएको र त्यसको अर्थ देशमा महिलाको अति महत्त्वपूर्ण स्थितिमा चोट पुर्याउनु होइन।

राष्ट्रपति घानीले परम्परागत हिजाबलाई लिएर आफ्नो बयान पूरा गर्दा स्रोताहरूले ताली बजाएका थिए। तर एक दिनपछि नै उनले माफी माग्नुपरेको छ। धेरैले यसलाई घानीले आफ्नो आलोचकलाई महिला भन्न कोसिस गरेको र यसले महिला निरही हुने संकेत गरेको बताए।
नागरिक समाजका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा उनको कडा आलोचना गरेका र उनीसँग माफीको माग गरेका थिए। केही सरकारी अधिकारी र महिला सांसदले पनि राष्ट्रपतिको उक्त बयानमा असन्तोष व्यक्त गरेका थिए।

अफगानिस्तान एक मुस्लिम बाहुल्य देश हो, जहाँ धेरै जसो महिला हिजाब लगाउँछन्। हिजाब महिलाले आफ्नो शिर छोप्न प्रयोग गर्ने एक प्रकारको स्कार्फ हो। अफगानिस्तानमा महिला लेखकलाई सहयोग गर्ने संस्था फ्रि विमेन राइटर्सले राष्ट्रपति घानीको बयानलाई लिएर फेसबुकमा जवाफ दिएको छ। उसले लेखेको छ– अफगान महिलाका लागि आशाको केन्द्र को बन्छ? जब उनका आफ्ना राष्ट्रपति नै महिला हुनु लज्जास्पद भएको कुरा गर्छन्।

महिला सांसद फौजिया कुफीमाले ट्विटमा उनलाई हिजाब लगाउनुमा गर्व रहेको लेखेकी छिन्। सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति बनेपछि घानीले भ्रष्टाचारविरुद्ध कडारूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका थिए। यसअघि उनले अर्थ मन्त्री र विश्व बैंकका लागि पनि काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्