चुनावको मुखमा नक्कली नोट भेटिन थाले



नेपाल समाचारपत्र
पर्वत
पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन्। चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोटको प्रयोग हुनसक्ने आशंका गरिएको छ।

यसअघि बागलुङ र म्याग्दीमा केही दिनअगाडि नक्कली नोट भेटिएकामा अहिले पर्वतका पसल र वित्तीय संस्थामा ल्याइएका रकममा नक्कली नोट भेटिन थालेका हुन्।
कुस्माको गण्डकी विकास बैंकमा जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो भने ग्रिन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा पनि नक्कली नोट भेटिएको थियो।

गण्डकी विकास बैंकमा केही दिन पहिले गुरुङ थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो भने ग्रीन बैंकका सुदीप राजभण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा एक हजार रुपियाँको नक्कली नोट फेला परेको बताउनुभयो। नक्कली नोटमा कलमले लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने गरेको उहाँले बताउनुभयो।

यसअघि म्याग्दी र बागलुङमा जस्तै पर्वतको पातीचौरमा नक्कली नोट भेटिएको थियो। चुनावको मुखमा यसरी नक्कली नोट भेटिनुले मतदातालाई प्रभावित पार्नका लागि नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ। मतदानअगाडि जनतालाई आफ्नो पक्षमा पार्नका लागि मतदातालाई पैसा दिने गरेको आशंका सर्वत्र गरिरहेका बेला नक्कली नोट भेटिन थालेपछि त्यही प्रयोजनका लागि यस्ता नक्कली नोट प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ।

बागलुङमा वित्तीय क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले यस्तो समयमा नचिनेका मानिसहरूले दिएको रकम पहिचान नगरी नबुझ्न आग्रह गरेका छन्। नक्कली नोट फेला परेमा ग्राहकलाई मुलुकी ऐनअनुसार जाली नोटमा जेल सजायसमेत हुन्छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले भन्नुभयो– ‘जाली नोट कारोबारमा राष्ट्र बैंकले पनि कारबाही गर्छ भने मुलुकी ऐनअनुसार जेल सजायसमेत हुन्छ।’

धौलागिरिका विभिन्न ठाउँमा नक्कली नोट भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन्। चलनचल्तीकै जस्ता देखिने नोट सामान्य मानिसहरूले पहिचान गर्न नसक्ने भएकाले पनि त्यस्ता ठाउँमा नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ। बजारमा भेटिएका नक्कली नोटको बीचमा रहेको स्टीकरमा एनआरबी नलेखिएको र हिमालनजिकै रहेको गोलाकारभित्र अंकित तस्वीर नभएको जनाइएको छ।
यस्ता नोट बजारमा आउनुले नेपालको अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भएकाले यस्ता गतिविधिमा संलग्नलाई कारबाहीको प्रक्रियामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन्। निर्वाचनका बेला खर्च हुने ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूबाट कारोबार नगरी सीधै कारोबार हुने भएकाले नक्कली नोटको चलखेल हुन सक्ने भन्दै यस्ता नोटका कारोबारी यही बेला सल्बलाउन सक्ने हँुदा छानबिन प्रक्रिया अगाडि बढाउन सरोकारवालाले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्