ललितपुरका २० मतदानस्थल अति संवेदनशील



सुरेश तामाङ, ललितपुर
सुरक्षाको दृष्टिले जिल्लाका २० मतदानस्थल अति संवेदनशील अवस्थामा रहेको जिल्लाका सुरक्षा निकायले विश्लेषण गरेका छन्। जिल्लाभरिको निर्वाचनस्थललाई आसन्न निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पार्न सुरक्षा निकायले यस्तो विश्लेषण गरेको हो। सुरक्षा निकायले मतदानस्थललाई चुनावी सुरक्षाको दृष्टिले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३ तहमा वर्गीकरण गरेको छ। जिल्लाका २ सय ७७ वटा मतदान केन्द्रको १ सय ३१ निर्वाचनस्थलमध्ये २० मतदानस्थल अति सम्वेदनशील, ५० मतदानस्थल सम्वेदनशील र ६१ मतदानस्थल सामान्य अवस्थाको रहेको सुरक्षा निकायको विश्लेषण छ।
जिल्लाको दुर्गमस्थल महांकल गाउँपालिकाका १० मतदानस्थलमध्ये ५ मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेको जनाइएको छ भने २ वटा संवेदनशील अवस्थामा छ। बाँकी सामान्य अवस्थामा रहेको छ। शहरी भेगमा ७० मतदानस्थलमध्ये ४ मतदानस्थल अतिसंवेदनशील छ भने ३१ मतदानस्थल संवेदनशील अवस्थामा छ। दुर्गम भेगमा ६१ मतदानस्थलमध्ये १६ मतदानस्थल अतिसंवेदनशिल अवस्थामा रहेको छ भने १९ मतदानस्थल संवेदनशील अवस्थामा रहेको छ। बाँकी सामान्य अवस्थाको रहेको सुरक्षा निकायले औंल्याएको छ।
जिल्लाको दक्षिणी भेग गोदावरी नगरपालिका, कोन्ज्योसोम, महाँकाल र बाग्मती गाउँपालिकाका मतदानस्थलमा दुर्गम एवं सञ्चारसमेत सञ्चालन नहुने, थप मद्दत पुर्याउन नसकिने, विप्लवका जिल्लास्तरका कार्यकर्ता, सवारीसाधन नजाने, नाका क्षेत्र रहेको, विप्लव माओवादीका केन्द्रीय सदस्य बस्ने, अन्य चुनावका बेला झडप भएकाले अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रूपमा औंल्याइएको छ। कोन्ज्योसोम गाउँपालिकाका ७ मतदानस्थलमध्ये ४ मतदान स्थललाई अतिसंवेदनशीलस्थलको रूपमा औंल्याएको छ। भने ३ मतदानस्थललाई संवेदनशीलरूपमा औंल्याएको छ। बाग्मती गाउँपालिकामा भने १३ मतदानस्थलमध्ये ६ स्थल अतिसंवेदनशील र ४ मतदानस्थल संवेदनशील रहेको जनाइएको छ। गोदावरी नगरपालिकामा भने ३१ मतदानस्थलमध्ये १ अतिसंवेदनशील र १० स्थल भने संवेदनशील रहेको छ। त्यस्तै शहरी भेगका महालक्ष्मी नगरपालिकामा १८ मतदानस्थलमध्ये १ अतिसंवेदनशील र ६ मतदानस्थललाई संवेदनशील अवस्थामा हेरिएको छ। ललितपुर महानगरपालिकामा ५१ मतदानस्थलमध्ये ३ मतदानस्थल अतिसंवेदनशील र २५ मतदानस्थल संवेदनशील रहेको छ।
सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षालाई मजबुत पार्न केही कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले चुनावी सुरक्षालाई ध्यानमा राखेर सम्पूर्ण कसर बाँकी नराखी सुरक्षा व्यवस्था चुस्त पारेका छौं। सुरक्षा निकाय त्यहीअनुसार परिचालन भइसकेको छ। जिल्लामा केही अप्रिय घटना घट्न नदिन हामी कटिबद्ध छौं।’ त्यस्तै महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जिल्लाको शहरी र दुर्गम भेगमा कुनै अप्रिय घटना घट्न नदिन, चुनावविरोधी गतिविधि हुन नदिन प्रहरीको तर्फबाट पूर्णरूपमा तयार रहेको बताउनुभयो।
बाग्मती गाउँपालिकाका लागि डीएसपीको कमान्डमा भट्टेडाँडामा, महाँकाल गाउँपालिकाको गोटीखेलमा इन्स्पेक्टरको कमान्डमा र कोन्ज्योसोम गाउँपालिकाको चौघरेमा पनि इन्स्पेक्टरको कमान्डमा सशस्त्र प्रहरी बल क्याम्प खडा गरी तैनाथ भइसकेको छ।

त्यस्तै नेपाली सेनाले आस्राङ र गोटीखेलमा मेजरको कमान्डमा अस्थायी शिविर बसिसकेको छ। सुरक्षा निकायले नेपाल प्रहरी, म्यादी प्रहरीसमेत परिचालन गरिसकेको छ। सबै सुरक्षा निकायले मोबाइल गस्ती, स्टाइकिङ गर्ने जनाइएको छ। जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्न २ लाख २८ हजार ३ सय ३९ जना मतदाताले मतदान गर्दै छन्।
निर्वाचन आयोगले मंसिर २१ गने हुने निर्वाचनमा मत बदर कम गर्ने उद्देश्यले राजधानीका विभिन्न भागमा राखेको पोस्टर हेर्दै मतदाता र उपत्यकाका मतदान केन्द्रमा मतपेटिका लैजाँदै निर्वाचन आयोगका कर्मचारी। तस्वीरहरूः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्