निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुगे कर्मचारी



विमल विष्ट, डोटी
बिहीबार अर्थात् मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सम्पन्न गराउनका लागि चुनावमा खटिएका डोटीका कर्मचारीहरू मतदानस्थल र केन्द्रमा पुगेका छन्।

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्रीहरू लिएर कर्मचारीहरू डोटीका सबै मतदान केन्द्रमा पुगिसकेको र चुनावको तयारीमा लागेको डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो। मतदानस्थल र मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गरी चुनावको कामलाई अगाडि बढाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ।

चुनावका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरणको काम पनि शुरू गरेका छन्। डोटीमा ९० मतदानस्थल र १५७ वटा मतदान केन्द्र तोकिएका छन्। चुनाव सम्पन्न गराउनका लागि १५७ जना मतदान अधिकृत, १५७ जना सहायक मतदान अधिकृतलगायत १ हजार ३ सय जना अन्य कर्मचारीहरू खटिएका छन्। चुनावका लागि डोटीमा सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक मधुसूदन लुईंटेलले बताउनुभयो।

अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका आधारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको डोटीमा कुल मतदाता संख्या १ लाख ६ हजार ५ सय ४३ रहेको छ। तीमध्ये ५७ हजार ४ सय महिला तथा ४९ हजार १ सय ४३ जना पुरुष मतदाता रहेका छन्। प्रदेशसभा (क) मा ५८ हजार ५ सय ४ र (ख) मा ४८ हजार ४९ मतदाता छन्। डोटीमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि कुल १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

यसैबीच डोटीमा अपांगमैत्री मतदानकेन्द्र नहुँदा अपांगता भएका व्यक्तिलाई समस्या हुने भएको छ। डोटीमा रहेका १५७ ओटा मतदान केन्द्रमध्ये एउटा पनि अपांगमैत्री तथा महिला मतदान केन्द्र छैन।
डोटीका मतदान केन्द्रमा एउटा पनि महिला तथा अपांगमैत्री मतदान केन्द्र नहुँदा समस्या भएको जोरायल गाउँपालिका–५ की स्थानीय तुलसी शाहीले बताउनुभयो। सडकभन्दा टाढा रहेकाले ह्वीलचेयरमार्फत् जान नसकिने भएकाले अपांगमैत्री मतदान केन्द्रमा अपांगता भएका व्यक्ति पुग्न नसक्ने जिल्ला निर्वाचन अधिकारी नन्दीप्रसाद ओझाले जानकारी दिनुभयो। मतदान केन्द्रहरू महिला तथा अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिहरू मताधिकारबाट वञ्चित हुने शिखर नगरपालिका १ का नेत्रबहादुर शाहीले बताउनुभयो।

जिल्लामा अपांगता भएका व्यक्ति पनि धेरै भएकाले उनीहरूलाई भोट हाल्न समस्या हुने उहाँले बताउनुभयो। अपांगता भएका व्यक्तिहरू सहजै पुग्न सक्ने ठाउँमा मतदान केन्द्र नहुँदा अपांगता भएका व्यक्तिहरूले मतदान गर्न नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्