बम आक्रमणमा घाइते कार्कीको मतदातासँग अपिल



काठमाडौं, (नेस)। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभामा उदयपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार नारायणबहादुर कार्कीले महाराजगन्जस्थित शिक्षण अस्पतालको शैय्याबाट शान्ति, समृद्धि, लोकतन्त्रको संरक्षण, संविधानको कार्यान्वयन र विकासका लागि आफूलाई मत दिन अपिल गर्नुभएको छ। निर्वाचन प्रचारको क्रममा रहनुभएका उम्मेदवार कार्कीलाई लक्षित गरी निर्वाचन बिथाल्ने र लोकतन्त्रवादी उम्मेदवार, कार्यकर्ता तथा मतदातालाई त्रसित बनाई चुनावको परिणाम आफ्नो पक्षमा पार्न चाहने तत्त्वहरूले मंसिर १३ गते उदयपुरको गढी गाउँपालिका–६ मा उहाँलाई लक्षित गरी प्रहार गरेको बम विस्फोटमा परी घाइते हुनुभएका उम्मेदवार कार्की शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ। बम प्रहारबाट उहाँ गम्भीर घाइते हुनुभएको छ। उहाँको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ। उहाँको उपचारमा संलग्न डाक्टर रोहित पोख्रेलका अनुसार उहाँको दाहिने खुट्टाको नलीहड्डी र गोडा भाँचिएको छ। छाला जलेको छ। देब्रे खुट्टाको कुर्कुच्चा भाँचिएको छ। दायाँ हातमा चोट लागेको छ।

उहाँलाई क्रिटिकल टिमले उपचार गरिरहेको छ। निर्वाचन उत्कर्षमा पुग्न लागेका बेलामा घाइते भएर अस्पतालमा बेचैनीका साथ बस्नुभएका उम्मेदवार कार्कीले आफू मतदाताको घरदैलोमा जाने क्रममा बम आक्रमणमा परेर अस्पतालमा बस्न परेको उल्लेख गर्दै आम नेपालीको शान्ति, विकास र समृद्धिको सपनालाई साकार पार्न मंसिर २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरी अत्यधिक बहुमतले जिताउन आग्रह गर्नुभएको छ। उहाँले आफूलाई नेपाली जनताले दोस्रो संविधानसभाको निर्वाचनमा दिएको जनादेशलाई शिरोपर गरी संविधान निर्माणको कार्य सफल गराएको उल्लेख गर्दै पार्टीले अगाडि सारेको समृद्धिको अभियानलाई साकार पार्न र निर्वाचन क्षेत्रमा सडक, खानेपानी, सिँचाइ, अस्पताल, शिक्षालगायतका विकासका पूर्वाधारहरू पुर्याउन पार्टीले यसपटक पनि उम्मेदवार बनाएकाले सो जिम्मेवारी निर्वाचनमा विजयी भएपछि पूरा गर्ने बताउनुभएको छ।

नेका उम्मेदवार कार्कीले आफ्नो क्षेत्रका सम्पूर्ण उम्मेदवारसँग प्रत्यक्ष भेटेर मत माग्ने चाहना हुँदाहँुदै पनि लोकतन्त्रविरोधी आक्रमणकारीको निसानामा परेर अस्पतालमा थन्कन परेको उल्लेख गर्दै पार्टीका जिल्ला नेताहरू र आफूप्रति माया गर्ने सबैले निर्वाचन अभियानलाई सुचारु गर्नुभएकोमा आभार व्यक्त गर्दै निर्वाचनका दिन र मतगणनासम्म सो उत्साह र सक्रियता जारी राख्ने विश्वास गर्नुभएको छ।

उहाँले आफ्नो क्षेत्रका सबै गाउँ र नगरका वडा–वडाका बासिन्दाको आवश्यकता र आकांक्षाका बारेमा आफूलाई राम्रो जानकारी भएको उल्लेख गर्दै जनताका समस्याको समाधान र विकासको चाहनालाई अब आउने नेपाली कांग्रेसको सरकारले पूरा गर्ने बताउनुभयो।

‘उहाँले नेपाली जनताले ७० वर्षभन्दा लामो समय संघर्ष र आन्दोलन गरी ल्याएको संविधानको कार्यान्वयन, व्यक्तिका मौलिक स्वतन्त्रता, सम्पत्ति आर्जन गर्ने, उपभोग गर्ने र बेचविखन गर्ने सम्पत्तिको अधिकारको रक्षा गर्ने भएकाले नेपाली कांग्रेसलाई मतदान गरी बहुमत दिन समस्त मतदातासमक्ष आग्रह गर्नुभएको छ’ –पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उहाँसँगै चुनाव प्रसारमा रहनुभएका निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्कीसहित अन्य ३ जना बम विस्फोटमा परी घाइते हुनुभएको थियो। निरा कटुवालको गोडा काम नलाग्ने भएकाले काटेर फाल्नुपरेको अस्पतालले जनाएको छ। घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्