मौन अवधिमा पनि अनुगमन, १ सय ६३ जना अनुगमनकर्ता परिचालन



सुनील महर्जन, काठमाडौं
मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गरी राजनीतिक दल र उम्मेदवारबाट अत्यधिक चलखेल हुन सक्ने आशंका गर्दै निर्वाचन आयोगले मुख्य र सूक्ष्म अनुगमनकर्तालाई व्यापक रूपमा परिचालन गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका ४५ जिल्लामा सोमबार मध्यरातदेखि मौन अवधि शुरू भएको छ। सो सन्दर्भमा अनुगमकर्तालाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै परिचालन गरिएको जनाइएको छ। यसअघि आयोगले मत खरिदबिक्री हुन सक्ने भन्दै कसैको प्रलोभनमा नपर्न मतदातालाई सचेत गराएको थियो।

विभिन्न राजनीतिक दलका घोषणापत्र र उम्मेदवारको भाषण, चिनजानपछि निर्वाचनमा कसलाई मत हाल्ने भन्ने विचार गर्ने समय भएकाले यस अवधिलाई अत्यन्त संवेदनशील समयका रूपमा लिइन्छ। उम्मेदवारले सबैभन्दा बढी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने समय पनि यही रहेको विगतको निर्वाचनले देखाउँछ। यस अवधिमा आचारसंहिताको पालनाको अनुगमन गर्न ७५ जना सहसचिव र ८८ जना उपसचिवलाई अनुगमन गर्न आयोगले विभिन्न जिल्लामा खटाएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जिल्लामा दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरे⁄नगरेको र मतदातालाई प्रलोभनमा पारे नपारेको जस्ता विषयमा सूक्ष्म अनुगमन गरी तत्कालै आयोगमा जानकारी दिन सूक्ष्म अनुगमनकर्तालाई खटाएको बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो– ‘मतदान प्रक्रिया स्वस्थ हुनुपर्छ, उम्मेदवारप्रति मतदाता विश्वस्त हुनुपर्दछ, ठूलो संख्यामा मतदाताको सहभागिता बढाउने आयोगको एउटै लक्ष्य हो। त्यसैले मतदातामैत्री वातावरण बनाउन सबैको सहयोग आवश्यक पर्छ।’

मतदान हुने ४८ घण्टा अघिदेखि मौन अवधि शुरू हुने गर्दछ। यस अवधिलाई संवेदनशील अवधिका रूपमा लिइन्छ। यस अवघिमा आम मतदाता पैसाको प्रलोभनमा नपरीकन कसलाई मत दिने भनेर उचित निर्णय गर्न पनि निर्वाचन आयोगले आग्रह गरेको छ। यस अवधि शुरू भएदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सञ्चारमाध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ।

यसअन्तर्गत सभा बोलाउन र आयोजना गर्न, कसैको पक्ष र विपक्षमा जुलुस निकाल्न र नाराबाजी गर्न र गराउन पाउँदैन। आयोगको आचारसंहिता २०७२ मा मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्नो निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री निकाल्नुपर्ने, एसएमएस, सामाजिक सञ्चाल, फेसबुक र भाइवरबाट समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन्।

त्यसै गरी उम्मेदवार र राजनीतिक दलको निर्वाचन चिह्न, पहिरन, टोपी, स्टिकर ट्याटु, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न र प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ।

त्यसै गरी उम्मेदवार वा राजनीति दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि नपाउने निर्वाचन आचारसहितामा उल्लेख गरिएको छ। मौन अवधिमा दलहरूले संयममा लिने र निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न र गराउन पनि प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आग्रह गर्नुभयो।

निर्वाचन आयोगले मौन अवधिमा चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारबाही हुने जनाएको छ। मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यम र अन्यलाई भने १ लाखसम्म जरिवाना हुने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो।
‘मौन अवधि पालना गर्नु सबैको नैतिक दायित्व हो’, प्रवक्ता ढकालले भन्नुभयो– ‘आयोगको चाहना सबैले पालना गरून् भन्नेछ, अनुगमन वा आयोगमा उजुरी उल्लंघनको उजुरी परेमा कडा कारबाही हुन्छ।’

दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन्। त्यस्तै प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर प्रदेश नम्बर ४ नवलपरासी बर्दघाट सुस्ता पूर्व, तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा दोसो चरणमा निर्वाचन हुनेछ। प्रदेश नम्बर ५ को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ को सल्यान, सुर्खेत दैलेख र प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्