“विस्फोटका घटना प्रचारमा आउने प्रोपोगाण्डा” विप्लवको पार्टी भन्छ– हाम्रा १ हजार १ सय कार्यकर्ता गिरफ्तार परे



प्रशान्त वली, काठमाडौं
प्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभरका आफ्ना १ हजार १ सय कार्यकर्ता सरकारद्वारा गिरफ्तारमा परेको बताएको छ। सो पार्टीले निर्दोष व्यक्तिलाई केही नगरेर घरमै बसिरहेको समयमा समेत गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ।

चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मुख्य सुरक्षाको चुनौतीका रूपमा लिएको हो। आफ्नो पार्टीलाई बदनाम गराउन निराधाररूपमा कार्यकर्तालाई अज्ञात बनाएको सो पार्टी निकट विद्यार्थीका केन्द्रीय नेता हेमन्त जीसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘अहिले जसरी बम विस्फोटका घटना बाहिर आएका छन्, ती घटनामा कांग्रेस–माओवादीलगायत गठबन्धनको संलग्नता रहेको छ। संसदीय राजनीतिमा प्रचारमा आउनलाई केही उम्मेदवारले नाटक गरेका हुन्।’

सरकारले अहिलेसम्म आफ्नो पार्टीका कार्यकर्तालाई विनाकारण धरपकड गरे पनि कुनै ठाउँमा दोषी प्रमाणित नगरेको सो पार्टीले बताएको छ। पार्टीका केन्द्रीयस्तरका नेताहरू सरला रेग्मी, दीपजंग शाहीलगायतलाई बिनाकारण पक्राउ गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ।

नेपाल कम्युनिस्ट पार्टीका अनुसार प्रहरीले पार्टीमा आस्था राखेकै भरमा अपांग व्यक्तिलाई समेत पक्राउ गरेको छ। आफ्ना कार्यकर्तालाई पक्रेर सरकारले अन्याय गरेको र बिनाकारण सार्वजनिक मुद्दा चलाएको भन्दै कार्यकर्ता रिहाइको माग पनि गरेको छ। निर्वाचन जनताको पक्षमा नभएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनको मुखमा अराजक गतिविधि गर्दै आएको सरकारको स्पष्टोक्ति छ। मंसिर १० पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ भने २१ गते दोस्रो चरणको निर्वाचन हुँदै छ। निर्वाचनको मुखमा उम्मेदवार केन्द्रित विस्फोटका घटनाहरू तीव्र पारिएका छन्। यद्यपि घटनाको जिम्मा कसैले पनि लिएको छैन।

प्रतिक्रिया दिनुहोस्