निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुगे कर्मचारी



विमल विष्ट, डोटी ।
बिहिबार अर्थात मंसिर २१ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सम्पन्न गराउनका लागि चुनावमा खटिएका डोटीका कर्मचारीहरु मतदानस्थल र केन्द्रमा पुगेका छन् । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्रीहरु लिएर कर्मचारीहरु डोटीको सबै मतदान केन्द्रमा पुगिसकेको र चुनावको तयारीमा लागेको डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनु भयो ।

मतदानस्थल र मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय, सर्वपक्षीय वैठकको आयोजना गरी चुनावको कामलाई अगाडि बढाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।

चुनावका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरणको काम पनि सुरु गरेका छन् । डोटीमा ९० मतदान स्थल र १५७ वटा मतदान केन्द्र तोकिएको छ । चुनाव सम्पन्न गराउनका लागि १५७ जना मतदान अधिकृत, १५७ जना सहायक मतदान अधिकृत लगायत १ हजार ३ सय जना अन्य कर्मचारीहरु खटिएका छन् । चुनावका लागि डोटीमा सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक मधुसुदन लुईटेलले बताउनुभयो ।

अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलको आधारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । दुई नगरपालिका र साँत वटा गाउँपालिका रहेको डोटीमा कुल मतदाता संख्या १ लाख ६ हजार ५ सय ४३ रहेको छ । तीमध्ये ५७ हजार ४ सय महिला तथा ४९ हजार १ सय ४३ जना पुरुष मतदाता रहेका छन् । प्रदेशसभा (क) मा ५८ हजार ५ सय ४ र (ख) मा ४८ हजार ४९ मतदाता छन् । डोटीमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि कुल १७ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्