काठमाडौंको पहिचान जोगाउन मेरो उम्मेदवारी



फिरोज राजोपाध्याय, काठमाडौं

प्रदेश नम्बर तीनको चुनावको मिति नजिकिँदै जाँदा राजधानीको वातावरण रंगिएको छ। हरेक टोल–टोलमा चुनाव प्रचार तीव्ररूपमा बढेको छ। राति पनि चुनावको पम्पलेट टाँस्न राजनीतिक पार्टीका कार्यकर्ता सक्रिय भइरहेका छन्। एक किसिमले राजधानी चुनावमय भइरहेको छ।

यसै सन्दर्भमा काठमाडौंको क्षेत्र नम्बर ९ का विभिन्न टोलमा चुनाव प्रचार–प्रसार तीव्ररूपमा हुँदै छ। यो क्षेत्रमा खेल जगत्का हस्ती इन्द्रमान तुलाधरले आफ्नो उम्मेदवारी दिएका छन्। तुलाधरले काठमाडौं क्षेत्र नम्बर ९ ‘क’ मा नेपाली कांगे्रेसबाट चुनाव लड्दै छन्। तुलाधर अखिल नेपाल फुटबल संघ (एन्फा) को आकर्षक पद सीईओ (प्रमुख कार्यकारी अधिकृत) छाडेर प्रदेशसभामा आफ्नो भाग्य अजमाउन लाग्दै छन्।

त्यसो त तुलाधर खेल जगत्मा आबद्ध भए पनि राजनीतिमा पहिलेदेखि नै सक्रियरूपमा रहेका छन्। उनी कलेजमा पढिरहँदा पब्लिक युथ क्याम्पसमा स्ववियुका सभापतिसमेत भइसकेका थिए। राजनीतिमा लाग्नुको उद्देश्य रहर नभई काठमाडौंको पहिचान र यहाँका स्थानीयबासीलाई न्याय दिनका लागि पनि उम्मेदवार दिएको उनको भनाइ रहेको छ। साथै तुलाधरले आफ्नो क्षेत्रमा स्वच्छ वातावरण र ट्राफिक व्यवस्थितसमेत गर्ने बताएका छन्। उनले यसका लागि योजना बनाएको र जितेमा यो सम्भवत पहिलो प्राथमिकतामा रहने पनि बताए।

तुलाधरले बताए– ‘मैले काठमाडौंका स्थानीयबासी धेरै नै पीछडिएको पाएँ। कहीं पनि कार्यालयमा स्थानीयको संलग्नता छैन। केही मात्रामा छन् तर उनीहरूबाट केही पनि हुन सकिरहेको छैन। मेरो उद्देश्य सकेसम्म स्थानीयलाई हकअधिकार दिनुपर्छ भन्ने हो। स्थानीयबासीले जति अरूले कहाँ बुझ्न सक्छन् र काठमाडौंको समस्या। अहिलेसम्म काठमाडौंका लागि कसैले केही पनि गर्न सकिरहेका छैनन्। कोही न कोही त स्थानीयबासी अगाडि बढ्नुपर्यो, यहाँका जनतालाई हकअधिकार दिन। त्यसैले मैले उम्मेदवारी दिएको हुँ।’

यो मात्रै नभई तुलाधरले काठमाडौंको पहिचानसमेत हराउन लागेको बताएका छन्। उनले भने– ‘काठमाडौंमा नयाँ–नयाँ नामले पुरानो नामलाई विस्थापित गर्दै छ। यस्तो हुनुहुँदैन भन्ने मेरो बुझाइ छ। किनभने यसले हाम्रो पहिचान हराउने मात्र होइन हामीसमेत विस्थापित हुन सक्छौं। उदाहरणका लागि ननीलाई चोक भनेर परिचित गरिँदै छ। यही पनि टेबहाल नभनी संकटा भनेर भन्न थालिसकेको छ। यो भनेको एउटा प्राचीन नाममा चर्चित रहेको टेबहालको अस्तित्व हराउँदै गएको भन्नुपर्ने हुन्छ। यस्तो धेरै भइरहेको छ। यदि मैले जितेमा काठमाडौंको पुरानो पहिचानलाई जोगाउनेछु।’

प्रतिक्रिया दिनुहोस्