विकास र वातावरणलाई सन्तुलनमा राख्न राष्ट्रपतिको आग्रह



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण सन्तुलनका साथ विकास निर्माणकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। यो कार्य कुनै एउटा मुलुकको पहलले मात्रै सम्भव नहुने उहाँको भनाइ छ।

जलवायु परिवर्तन, वातावरण विनाशका असर र समस्यासँग जुध्ने उपायको खोजीका लागि काठमाडौंमा आइतबार शुरू भएको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो विचार व्यक्त गर्नुभएको हो। ‘जैविक विविधताले भरिपूर्ण यो पृथ्वी प्रकृतिको बहुमूल्य साझा उपहार भएको छ’, उहाँले भन्नुभयो– ‘तर प्रकृतिको संरक्षणकार्य राष्ट्रिय सीमानामा मात्रै सम्भव छैन। यसका लागि आपसी समझदारी र सहकार्य अपरिहार्य छ।’

एसियाली क्षेत्रको दिगो विकासका उपाय खोज्न हिन्दकुश हिमालय क्षेत्रका विज्ञ र सरोकारवाला सहभागी सम्मेलन आइतबारदेखि शुरू भएको हो। सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्व तापमान वृद्धिमा नेपालको योगदान ज्यादै न्यून भए पनि नेपालजस्ता विकासोन्मुख र पर्वतीय मुलुकले वातावरणको असर सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। यस्तै कारण हिमालय क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिने, हिमताल विस्फोट हुने, बाढी, पहिरो, खडेरीजस्ता समस्या बढ्दै गएको र बहुमूल्य प्राकृतिक स्रोतको विनाश भइरहेको उहाँको भनाइ थियो। ‘वातावरणमा आएको परिवर्तनले मानव जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ, पानीका स्रोत र पर्यावरणमा असर देखिएको छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘यही कारणले कृषि उत्पादन, खाद्य सुरक्षामा समेत असर परिरहेको छ।’

पर्वतीय क्षेत्रको अध्ययन⁄अनुसन्धानमा क्रियाशील अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र जनसंख्या तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन शुरू भएको हो। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरी, युरोपियन युनियनकी राजदूत भरोनिका कोडी, भुटानको कृषि मन्त्रालयका सचिव दासो रिजिङ दोर्जीलगायतले जलवायु परिवर्तनले निम्त्याएका असर र अनुकूलनका अभ्यास खोज्न र कार्यान्वयन गर्न सम्मेलन प्रभावकारी बन्ने विचार व्यक्त गर्नुभयो।

राजदूत कोडीले युरोपियन युनियनले नेपालको प्रकोप व्यवस्थापन र वातावरण संरक्षणमा आर्थिक सहयोग गर्दै आएको स्मरण गर्दै त्यस्तो सहयोग आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो। बुधबार समापन हुने सम्मेलनमा श्रीलंका र माल्दिभ्सबाहेक सार्कका सबै सदस्य राष्ट्रसहित चीन र म्यानमारका सरोकारवाला र विज्ञ सहभागी छन्। नेपालबाहेक विभिन्न २६ मुलुकका करिब २ सय ५० विज्ञ सहभागी सम्मेलनमा भुटानका वनमन्त्री, बंगलादेशबाट प्रधानमन्त्रीका सल्लाहकारसमेत सहभागी रहनुभएको छ। विभिन्न ११ सत्रमा विभाजन हुने सम्मेलनका विज्ञले वातावरण र प्रकोप समस्या समाधानका विकल्प खोज्नेछन्। यही विषयको महत्त्व झल्काउने उत्कृष्ट पोस्टर र तस्वीर प्रदर्शनीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्