दान पर्वको रूपमा मनाइयो यःमरी पुन्ही



पुष्कर बुढाथोकी, भक्तपुर
आइतबार भक्तपुरका नेवार समुदायले समयसूचक चाड एवं दान पर्वको रूपमा यःमरी पुन्ही मनाएका छन्। धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समयसूचकका रूपमा लिने गरिन्छ। धान्य पूर्णिमा अर्थात् यःमरी पुन्हीका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ।

मल्लकालदेखि यो पर्वमा आजको दिन कुनै पनि चीज दान गर्दा पुण्य प्राप्त हुने विश्वासले यःमरी लिने र दिने परम्परा रहेको हो। मंसिर–पुषको जाडोमा यःमरी दान गर्ने चलनसमेत रहेको छ। आजको दिन बिहानैदेखि यःमरी चढाएर पूजा गर्नेहरूको शिवालयमा भीड लाग्ने गर्छ।

तिहारमा द्यौसी⁄भैलो खेलेझैं टोल–टोलका घरघरमा गएर युवायुवतीले गीत गाउँदै यःमरी माग्ने प्रचलन छ। यःमरी पुन्हीका दिन गृहणीहरू शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी त्रिकोण आकार बनाई पानीको बाफमा पकाउने गरिन्छ।

पूर्णिमाका दिन यःमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ। यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ। परम्पराअनुसार यःमरी पकाएको ४ दिन, ६ दिन र १२ दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन पनि रहेको छ।

यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइन्छ। आजको दिनलाई सकिमना पुन्ही अर्थात् पिंडालु उसिन्ने पूर्णिमाका रूपमा पनि नेवार समुदायले मनाउने गर्दछन्। आजका दिन पिँडालु, सख्खरखण्ड उसिनेर खाने गर्दछन्। यःमरी, पिँडालु खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता रहेको छ।

किम्बदन्तीअनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे। उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए। उनीहरूको दयालु स्वभाव जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे। सुचन्द्रकी श्रीमतीले ब्राह्मणरूपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाइन्।

उनको सत्कारदेखि प्रशन्न भई कुवेरले आफ्नो असलीरूप देखाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए। सोही अनुरूप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर ४ दिनपछि प्रसादको रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र यःमरी खाएका कारण शरीरसमेत हृष्टपुस्ट हुन थाल्यो।

विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको देखिन्छ। धनसम्पत्ति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा यःमरी पूर्णिमाका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गर्दछन्। नेवार समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र यःमरी दान गर्ने प्रचलन रहेको छ।

यःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ। यःमरी भगवतीलाई अन्नपूर्णदेवीको प्रतीकका रूपमा पनि लिइन्छ। यस दिन नेवार समुदायले यःमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र भण्डार कोठामा चढाएपछि मात्र आफूले खाने चलन रहेको छ। यसरी यःमरी चढाउँदा आफ्नो अन्नमा वृद्धि हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ। नेवार समुदायले नयाँ धान घरमा भित्रइएपछि यसै दिन विभिन्न नयाँ परिकार बनाएर खाने चलन रहेको स्थानीयको भनाइ छ।

संस्कृतिविद् अ‍ोम धौभडेले यःमरी पूर्णिमालाई जाति विषेशको चाड मात्र नभनी देशभरि नै फैलाउनुपर्ने बताउनुभयो । यसैबीच यःमरी पूर्णिमा (धान्य पूर्णिमा) अर्थात् आजको दिन साँझ नेवार समुदायको घरआँगनमा गुञ्जिने लोकभाका अचेल गुञ्जिन छाडेका छन्। लोकप्रिय र महत्त्वपूर्ण पर्वमध्येको एक यःमरी पुन्हीको साँझ नेवार समुदायको घरआँगनमा गुञ्जिने यःमरी भाका परम्परागत चाडपर्व आधुनिकताको चपेटामा परेसँगै लोप हुँदै गएका हुन्।

प्रतिक्रिया दिनुहोस्