जनता जान्न चाहन्छन्



आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रायः हरेक पृष्ठभूमिका नेता चुनावी दौडमा छन्। नेपाली खेल क्षेत्र पनि यसमा अछुतो छैन। काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ प्रत्यक्षतर्फका उम्मेदवार छन् भने नेपाली कांग्रेस काठमाडौंबाट इन्द्र्रमान तुलाधर प्रदेशको चुनावी प्रतिस्पर्धामा छन्।

त्यसै गरी ललितपुरमा नेपाली कांग्रेसको तर्फबाट मीनकृष्ण महर्जन प्रदेशसभाका उम्मेदवार छन्। श्रेष्ठ, तुलाधर र महर्जन खेल क्षेत्रबाट सक्रिय राजनीतिमा फड्को मार्ने खोज्ने प्रतिनिधि पात्र मात्रै हुन्। खेल क्षेत्रमा पनि त यस्ता अनुहार विगतमा महत्त्वपूर्ण र निर्णायक जिम्मेवारीमा रहेको धरहराले देखेकै हो। श्रेष्ठ विगतमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव थिए भने उनी नेपाल ओलम्पिक कमटीका अध्यक्ष बनिसकेका छन्।

त्यसै गरी तुलाधर अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत थिए भने महर्जन कराँतेका अन्तर्राष्ट्रिय रेफ्री। खेल पृष्ठभूमिका उम्मेदवारले आफ्ना चुनावी एजेन्डा नेपाली खेलकुदको पूर्वाधार विकासलाई अघि सारेका छन्। खेल क्षेत्रको पूर्वाधार विकास, रंगशाला निर्माण र खेलकुद क्षेत्रका विविध समस्यालाई नै उनीहरूका चुनावी एजेन्डा बनाएका रहेछन्।

निकै लामो समय खेल क्षेत्रमा बिताउँदा उनीहरूलाई यस्ता एजेन्डा अघि सार्न र अघि बढाउन कुन पक्ष र तत्त्वले छेकेको थियो, कि पद मात्रै ओगटियो ? जनता जान्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्