चुनावका कारण निगमलाई ५४ करोड घाटा



दीपेन्द्र थापा, काठमाडौं

शभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले वातावरण तात्दै गर्दा नेपाल आयल निगम भने निर्वाचनका बेला ह्वात्तै बढेको इन्धनको खपतले थला परेको छ। अघिल्ला महिनामा खपत हुँदै आएको इन्धनको औसत परिमाणभन्दा निर्वाचनका बेला ४० प्रतिशतभन्दा बढी इन्धनको खपत हँुदा निगम पछिल्लो दुई वर्षको अवधिमा पहिलोपटक मासिक ५४ करोड रुपियाँ नोक्सान परेको छ।

भारतमा इन्धनको मूल्यवृद्धि हुनु र औसत खपतभन्दा निक्कै धेरै परिमाणमा इन्धन खपत हुँदा महँगोमा किनेर सस्तोमा बिक्री गर्दा निगम नोक्सनमा परेको हो।

निर्वाचनका बेला यातायातका साधन बढी चल्नु तथा अन्य प्रयोगका निम्ति पनि इन्धनको खपत बढी हुँदा अरू महिनाको भन्दा अहिले ४० प्रतिशत बढी इन्धनको माग रहेको नेपाल आयल निगमले जनाएको छ। निर्वाचनका बेला इन्धनको मूल्यवृद्धि गर्ने निर्णयसमेत सरकारले फिर्ता लिएपछि निगमलाई थप नोक्सान भएको बताइएको छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार नोभेम्बर महिनामा ८ अर्ब २४ करोड भारुको इन्धन आयात भएको छ। जबकी अक्टोबर महिनामा ६ अर्ब ४३ करोड भारुको इन्धन आयात भएको थियो। ४० प्रतिशत खपत वृद्धि हुँदा नेपाल आयल निगमलाई अहिले ५४ करोड रुपियाँ घाटामा भएको भट्टराईले जानकारी दिनुभयो।

निर्वाचनको माहोल कम हुँदाको बेला अक्टोबर महिनामा निगम मासिक १६ करोड रुपियाँ नाफामा रहेको थियो। एकातिर खपत वृद्धि हुनु र अर्कोतिर भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्यवृद्धि गरेका कारण निगम घाटामा गएको भट्टराईको भनाइ छ। उहाँका अनुसार डिसेम्बर महिनामा पनि इन्धनको मूल्य बढेर आउने सम्भवना रहेकाले आगामी महिना निगमका घाटा अझै बढ्ने संकेत देखिएको भट्टराईले बताउनुभयो। भारतीय आयल कर्पोरेसनले हरेक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने भए पनि शुक्रबार नेपालमा सार्वजनिक बिदा परेका कारण नयाँ मूल्यसूचीबारे जानकारी नभएको भट्टराईले नेपाल समाचारपत्रसँग बताउनुभयो।
डिसेम्बरसम्म निगमलाई १ अर्ब रुपियाँभन्दा बढी घाटा पर्ने अनुमान गरिएको भट्टराईको अनुमान छ।

निगमका अनुसार पेट्रोलको आयात उस्तै रहे पनि डिजेलमा ४० प्रतिशतले वृद्धि भएको छ । अक्टोबरमा १ लाख किलोलिटर डिजेल आयात भए थियो भने नोभेम्बरमा १ लाख ४२ हजार किलोलिटर आयात भएको निगमले जनाएको छ। यस्तै हवाई इन्धन र एलपी ग्यास पनि १५⁄१५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै मट्टितेल १० प्रतिशले आयात बढेको छ। अहिले निगमलाई डिजेलमा प्रतिलिटर ४ रुपियाँ र ग्यासमा प्रतिसिलिन्डर २ सय ६६ रुपियाँ नोक्सान रहेको छ। तर, मट्टितेलमा १५ रुपियाँ, हवाई इन्धनमा आन्तरिकतर्फ १५ र बाह्यतर्फ १८ रुपियाँ तथा पेट्रोलमा १४ पैसामात्रै नाफा रहेको छ।जसले गर्दा निगमको मासिक घाटा ११ करोड रुपियाँले कम गराएको छ। निगमका अनुसार डिजेलमा नोभेम्बर माहिनाको कुल नोक्सान ४० करोड र एलपी ग्यासमा २५ करोड रुपियाँ रहेको छ।

अक्टोबरमा १ हजार ७ सय ७१ मट्टितेल आयात भएकोमा नोभेम्बरमा १० प्रतिशतले वृद्धि भएर २ हजार किलोलिटर पुगेको थियो। पेट्रोल दुवै महिनामा ४२ हजार किलोलिटर आयात भएको छ। एलपी ग्यास अक्टोबरमा २९ हजार ९ सय १६ मेट्रिक टन आयात भएको थियो भने नोभेम्बरमा ३४ हजार ९ सय मेट्रिक टन आयात भएको छ। त्यस्तै हवाई इन्धन अक्टोबरमा १९ हजार ४ सय किलोलिटर आयात भएको थियो भने नोभम्बरमा १९ हजार ५ सय किलोलिटर आयात भएको थियो।

प्रतिक्रिया दिनुहोस्