बैंकबाट ५ करोड हिनामिना गर्ने पक्राउ



काठमाडौं, (नेस)
कृषि विकास बैंकको न्यूरोड शाखाबाट ठूलो परिमाणको रकम हिनामाना गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त अभियोगमा बैंकका सहायक टेलर दीपिका रेग्मीसहित २ जनालाईे पक्राउ गरेको हो।

सीआईबीका अनुसार रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको छ। ३ जनाको मिलेमतोमा बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाएर बैंकको मौज्दातबाट ४ करोड ९१ लाख रुपियाँ हिनामिना गरेको पाइएको छ। सहायक टेलर रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत् सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानीवापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर सोही चेक पुनः प्रयोग गरेको र बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको खुल्न आएको छ। यसरी जम्मा भएको रकम उनले सुनचाँदीलगायतका सामग्री खरिदमा प्रयोग गरेको पनि भेटिएको छ।

पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखाका रेमशकुमार थापा रहेका छन्। रेग्मीले हिनामिना गरेको केही रकम घतानीको खातामा जम्मा भएको खुलेको छ। त्यसवापत घतानीले रेग्मीलाई सुनका गरगहना दिने गरेका थिए। पक्राउ परेका थापाले भने रेग्मीको सहयोगीका रूपमा काम गरेको प्रहरीको आरोप छ।
प्रहरीले नेपाल राष्ट्र बैंकको अनुरोधपछि रकम हिनामिना गर्ने तीनै जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनजनालाई उच्च अदालत पाटनबाट ५ दिनको म्याद लिएर बैंकिङ कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्