विप्लवका नेता कार्यकर्ता प्रहरीको निगरानीमा



कृष्णउदास खनाल, वीरगन्ज
पर्सा प्रहरीले वीरगन्जको चिनी मिल आवास क्षेत्रमा बस्दै आएका एक वकिल र पत्रकारको घरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक दस्तावेज, झन्डा, पर्चा पम्प्लेटका साथै विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने विद्युतीय सामान बरामद गरेको छ।

चिनी मिल आवास क्षेत्रमा अधिवक्ता महेन्द्र साहको नाममा रहेको घरबाट प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक दस्तावेज, विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने विद्युतीय सामान बरामद गरेको हो। प्रहरीले साहलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा रहेका अधिवक्ता साहले आफूले उक्त घर पत्रकार सुदर्शनराज पाण्डेलाई भाडामा दिएको र पाण्डेकै कोठाबाट प्रहरीले ती सामान बरामद गरेको बताएका छन्।

पाण्डे भने फरार रहको पर्सा प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट बिहीबार साँझ खटेको प्रहरी टोलीले पत्रकार पाण्डे बस्दै आएको उक्त कोठामा छापामारेको हो। उक्त घरबाट प्रहरीले भोल्टको ब्याट्री एक थान, तार १० मिटर, रिमोर्ट एक थान, किट एक थान, टेस्टर एक थान, विप्लव समूहको झन्डा १४ थान, चन्दा रसिद ३ ठेली, कम्युनिस्ट पार्टीसम्बन्धी किताब २ दर्जन, विप्लवको राजनीतिक प्रतिवेदन, ब्यानर, क्यालेन्डर, डायरीलगायतका सामान बरामद गरेको छ। पत्रकार पाण्डे नभेटिएको र घरधनीसमेत रहेका अधिवक्ता साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सहज वातावरण बनाउनका लागि निर्वाचनविरोधी कार्यमा संलग्न जो सुकै भए पनि कारबाही गरिने पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताए। पर्सामा विप्लव माओवादीको खासै प्रभाव नभए पनि केही व्यक्ति बाहिरबाट आएको प्रहरीको अनुमान छ।

पत्रकार पाण्डे भने हालै विप्लव माओवादीनिकट पत्रकार संगठनमा आवद्ध भएका हुन् । झण्डै ६ दशकको हाराहारीमा पुगेका पाण्डेका छोरा जनयुद्धका क्रममा मारिएका थिए भने पत्नीलाई दुई वर्षअगाडि मुटु रोगबाट उनले गुमाइसकेका छन्। उनकी पत्नी पनि पत्रकार नै थिइन्।

प्रतिक्रिया दिनुहोस्