प्रदेश नम्बर ५ वाम गठबन्धनको लाल किल्ला



शंकर पोख्रेल
प्रदेशसभा, नेकपा एमाले, दाङ क्षेत्र नं.५

५ नम्बर प्रदेशका मुख्य मन्त्रीमा अगाडि सारिएका नेकपा एमालेका प्रभावशाली नेता शंकर पोख्रेल यतिबेला दाङमा निकै चर्चामा छन्। संघमा उम्मेदवारी नदिएर प्रदेशको नेतृत्व गर्ने गरी दाङ २ को ‘क’बाट प्रदेश सदस्यमा उम्मेदवारी दिएपछि विभिन्न किसिमका कुरा बाहिर आएका छन्। उनीसँग प्रतिस्पर्धा गर्न कांग्रेसका युवा नेता कमलकिशोर घिमिरे जोडतोडका साथ अघि बढेका छन्। २३ वर्षअघिको जित फेरि दोहोर्याउने अवस्थामा पोख्रेल पुग्लान्? मुख्यमन्त्रीका दाबेदार रहेका पोख्रेलले एमाले र माओवादीको सहमतिका आधारमा मुख्यमन्त्रीको साझा उम्मेदवार रहेको बताउँदै आएका छन्। गाँठी कुरा के हो त ?

मुख्यमन्त्रीका दाबेदार पोख्रेलसँग नेपाल समाचारपत्रका लागि सन्तोष खनालले गरेको कुराकानीको संक्षेपः

प्रतिनिधिसभामा टिकट नपाएर हो कि पाए पनि चुनाव हार्छु भनेर प्रदेशतिर झर्नुभएको हो ?

त्यसो होइन, पार्टीले मलाई प्रतिनिधिसभाकै टिकट दिएको थियो। त्यो अहिले पनि मसँगै छ। हार्ने कुरा त झन् सम्भावना नै छैन। २३ वर्षअघि पनि सांसद जितेर आएको हो। अब फेरि जित दोहोर्याउँछु। प्रदेशबाट देशको नेतृत्व गर्ने हिसाबले प्रदेशको टिकट लिएर आएको हुँ। मैले यसपालि अवसर पाए जनताले गौरव गर्ने गरी काम गरेर देखाउँछु। नीतिगतरूपमा केन्द्रीय तहमा रहेर नीति निर्माण गर्छु भने प्रदेश तहमा आफै नेतृत्व गर्ने भएकाले त्यसलाई कार्यान्वयन गरेर देखाउँछु। पार्टीका शीर्ष नेताको सल्लाहमा र लामो सोच विचार गरेर नै मैले प्रदेशमा टिकट लिएको हो। तपाईंहरूले सोचेभन्दा तेब्बर तरिकाले मनन गरेर यो निर्णयमा पुगेको छु। मलाई २ नम्बर ‘क’का जनताले प्रदेशको नेतृत्व गर्ने गरी जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु। तर, पाटीबाट मेरै नाम २ नम्बरमा सिंगल पठाएकै हो प्रतिनिधिसभाका लागि। यो कुरा सबैलाई थाहा छ। प्रदेशको नेतृत्व गर्नुपर्ने भएकाले नै पार्टीले मलाई त्यसका लागि प्रदेश सभाको टिकट दिएर पठाएको हो।

५ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने चाहनाले नै तपाईं प्रदेशमा झर्नुभएको हो ?

मेरो मात्रै चाहना होइन। पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेपछि प्रदेश सदस्यका लागि उम्मेदवारी दिएको हुँ। पहिले त पार्टीले नै प्रदेशको समृद्धिका लागि नेतृत्व गर्ने गरी पठाएको हो। मेरो पनि इच्छा हो। मेरो नेतृत्वमा पाँच नम्बर प्रदेशको मुहार बदल्छु। हेर्दाहेर्दै जनताले भन्नेछन् शंकर पोख्रेल आएपछि प्रदेशको मुहार बदलियो भनेर। यो मान्यता स्थापित गर्न नै म आफै प्रदेशको नेतृत्व गर्न आएको हुँ। प्रचण्डले प्रस्ताव गर्नुभयो, मैले अध्यक्षको मुहार हेरें। अनि उहाँहरू दुवैले प्रदेशको नेतृत्व गर्नुपर्छ, त्यहाँबाट नयाँ आर्थिक समृद्धिको सूत्रपात गर्नुपर्छ भनेपछि यस प्रदेशको नेतृत्व गर्ने गरी आइपुगें। र अहिले प्रदेशसभामा उम्मेदवारी दिएको छु। यो मलाई ठूलो अवसर हो। अबको एजेन्डा आर्थिक समृद्धि नै हो।

मुख्यमन्त्री बन्नलाई त प्रदेशमा अरू पार्टीको भन्दा धेरै सिट जित्नुपर्ने होला नि। मुख्यमन्त्री फुस्किने डर त छैन ?

पहिलो कुरा त म एमालेको मात्र नभई वाम गठबन्धनको उम्मेदवार हुँ। यहाँ चुनावमा पराजित हुनुपर्ने कारण छैन। प्रदेश नम्बर पाँचमा वाम गठबन्धनले दुईतिहाई ल्याउँछ। वाम गठबन्धनको लालकिल्ला हो यो प्रदेश। यहाँ वाम गठबन्धनको प्रष्ट बहुमत छ। यहाँ एमालेलाई धेरै सिट जिताउनेभन्दा पनि गठबन्धनलाई नै जिताउने हो। यो प्रदेश कम्युनिस्टको बहुमत भएको प्रदेश हो। जित सहज छ। सबै हेभी वेटका नेता हुनुहुन्छ। हिजोका दिनमा जनताले विश्वास गरिसकेका छन्। स्थानीय तहमा पनि वाम गठबन्धन नभएपछि एमालेले पाँच नम्बर प्रदेशका एक्लै अधिकांश ठाउँमा चुनाव जितेको प्रदेश हो। गठबन्धनका तर्फबाट हामी सबै उम्मेदवारलाई जिताउन जुटेका छौं। जहाँसम्म मुख्यमन्त्रीको कुरा छ, त्यस सम्बन्धमा एमाले र माओवादीबीच सहमति भइसकेको छ।

यति धेरै असन्तुष्टि गठबन्धनमै प्रष्ट देखिन्छ। तपाईंले गठबन्धनका कारण जित सहजै छ भन्नुहुन्छ। यसमा के भन्नुहुन्छ ?

कहींकतै गलत बुझाइका कारण समस्या भएको हुन सक्छ। चुनावी दौरानका क्रममा सबै कुराको हल गर्छौं। अहिले नसमेटिएका त्यस्ता व्यक्तित्वलाई कहाँ राख्ने भन्ने विषयमा हामीले छलफल गरी टुंग्याई सकेका छौं। यस क्षेत्रको प्रतिनिधिसभाको नेतृत्व गरेको हिसाबले दाङ २ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महराजी र प्रदेशको नेतृत्व मैले गर्ने भएको हिसाबले सबैलाई समेटेर लैजान्छौं। गठबन्धनमा कुनै पनि समस्या छैन। हामीले सबै ठाउँमा जित्छौं। त्यो सबै मत्थर भइसकेको छ। दुई ठूला दल ध्रुवीकृत हुँदा अस्वाभाविक लाग्नु र केही असन्तुष्टि हुनु स्वाभाविक पनि हो। तर, अहिले सबैले बुझिसक्नुभएको छ। यो ध्रुवीकरण राष्ट्रियताका लागि हो। राजनीति स्थिरता र समृद्धिका लागि हो।

पाँच नम्बर प्रदेशका लागि खास तपाईंका एजेन्डा केके छन् ?

मैले मात्रै होइन, वाम गठबन्धनले नै प्रदेश ५ को आर्थिक समृद्धिका एजेन्डा अगाडि सारेका छौं। हामीले आर्थिक समृद्धिमार्फत् यो प्रदेशको मुहार बदल्न खोज्दै छौ। यसमा जनताले साथ दिन्छन् भन्नेमा विश्वास लिएका छौं। वाम गठबन्धन भइसकेपछि जनताले अब एउटै कम्युनिस्ट बनाउने गरी आफ्नो मत प्रकट गरेर गठबन्धनलाई विजयी बनाउँछन्। हाम्रा कमजोरीलाई सुधार गरेर देशलाई नै नेतृत्व गर्ने प्रदेश निर्माणलाई जोड दिएका छौं। सडक पुगेका ठाउँमा पनि स्तरीय सडक छैनन्। प्रदेश ५ का सबै जिल्लामा सडक सञ्जाल जोड्नु र त्यसको स्तरोन्नति गर्नु हो।

त्यसपछि सबैजिल्लामा विद्युत् विस्तार, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्ने मेरो प्रतिबद्धता छ। हरेक जिल्लामा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्याम्पस निर्माण गर्ने प्रतिबद्धता हामीले गरेका छौं। त्यसो भयो भने कसैलाई अकालमा मृत्यु हुनुपर्ने छैन। पाँच नम्बर प्रदेश प्राकृतिक स्रोतको धनी छ। गरीबीको अन्त्य गर्न जडीबुटीको प्रशोधन गर्ने, व्यावसायिक कृषि उत्पादनका योजना कार्यान्वयन गर्न योजना हामीले ल्याएका छौं। गरिबी अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नतर्फ लाग्नेछौं। आफै पनि प्रदेशको नेतृत्व गरेको हिसाबले यो प्रदेशका बारेमा धेरै कुरा मलाई थाहा छ। त्यसमा पनि दाङ मेरो घर नै भइहाल्यो। पाँच नम्बर प्रदेशको केन्द्रविन्दु दाङ नै हो। तपाईंले बनाउन चाहेको प्रदेश ५ कस्तो हो ?

धेरै कुरा मैले आफ्ना एजेन्डामा राखेअनुसार नै हुन्छ। केही काम छिटो सम्पन्न होलान्, केही समय लाग्न सक्छ। केन्द्रीकृत राज्य प्रणालीमा केन्द्रको दृष्टि पुग्न नसकेको यो क्षेत्र देशकै नमुना प्रदेश हुनेछ। त्यति मात्र हैन जनताले गौरव गर्ने प्रदेश बनाउँछु। पाँच नम्बरजस्तो सम्भावना भएको प्रदेश कुनै पनि छैन। पश्चिम नेपालको आर्थिक केन्द्रका रूपमा विकास गर्ने हाम्रो सोच छ। नेपाली अर्थतन्त्रको मुख्य हिस्सा प्रदेश ५ नै बन्छ। जुन नमुना प्रदेश हुनेछ। त्यो सम्भव छ, बन्छ। प्रदेश नम्बर ५ मा आउनै पर्ने वातावरण हामीले खडा गर्छौं।

प्रतिक्रिया दिनुहोस्