मतपेटिका सुरक्षामा कडाइ



विनोदसिंह विष्ट, बैतडी
पहिलो चरणअन्तर्गत मंसिर १० मा सम्पन्न चुनावका बैतडीमा मतपेटिकाको सुरक्षामा कडाइ गरिएको छ। बैतडीका सबै मतदान केन्द्रका मतपेटिका दशरथचन्द नगरपालिकाको कार्यालय भवनमा राखिएको छ।
बैतडीका १ सय ८२ मतदान केन्द्रका ५ सय ४६ मतपेटिका नगरपालिकाका ६ वटा कोठामा राखेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो। मतपेटिकालाई सुरक्षित राख्न सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो। मतपेटिका राखिएको नगरपालिकाको कार्यलयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादीप्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको उहाँले बताउनुभयो। बैतडीमा प्रदेशसभा ‘क’ र ‘ख’ दुवैका गरी १ सय ८२ केन्द्रका मतपेटिका छुट्टाछुट्टै कोठामा सिलबन्दी गरी राखिएको छ। कुल १ लाख ३२ हजार ३ सय १९ मतदाता रहको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मात्रै मतदान गरेका थिए। मतपेटिकाको रेखदेखमा सुरक्षा निकायसँगै राजनीतिक दलका प्रतिनिधि पनि खटिएका छन्।

जिल्लामा सबै उम्मेदवारलाई परिचयपत्र दिएकाले राजनीतिक दलका नेताले पनि पालैपालो पहरा दिइरहेको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो। मतपेटिकाको सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतबाट दलको प्रतिनिधि परिचयपत्र बनाएर दलका नेता खटिएका छन्। दलहरूमा आपसी सहमति र विश्वासको वातावरण रहे पनि निर्वाचनसँग जोडिएको विषय भएकाले कुर्नु परेको दलहरूले बताएका छन्। ‘संवेदनशील अवस्था भएर सबै दलका प्रतिनिधि कुरुवा बसेका छौं’ –माओवादी केन्द्रका नेता खिमानन्द भट्टले भन्नुभयो।

मतपेटिकाको सुरक्षाका लागि प्रशासनसँगै राजनीतिक दल पनि संवेदनशील बन्नु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘दलहरू रातदिन कुरुवा बसेका छन् कुनै घटना हुने खतरा छैन।’

निर्वाचन आयोगको अनुरोध अनुसार नै दलका नेता कार्यकर्तालाई पनि मतपेटिका कुरुवा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका राखिएको नगरपालिका कार्यालयको पश्चिमतर्फको कोठाको झ्यालका सिसा मात्रै रहेको र सिसा खोलेर सजिलै मतपेटिका निकाल्न सकिने तथा पूर्वपट्टि मूल गेटसँगै रहेको कोठाका मतपेटिका बाहिरबाट प्रष्टै देखिने भएपछि सुरक्षा निकायले त्यसको बन्दोबस्त मिलाएको हो। प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले पश्चिमतर्फको झ्यालमा ग्रिल र पूर्वपट्टिका झ्यालभित्रको मतपेटिका नदेखिने व्यवस्था मिलाइएको बताउनुभएको छ।

त्यस्तै नगरपालिकाका नियमित कामहरू सञ्चालनमा रहेको अवस्थामा मतपेटिका राखिएको कोठाबाहिर लगाएको टाँचा सेवाग्राहीको भीडमा फुत्किन सक्ने अवस्था रहेको थियो। त्यहाँ सुरक्षा दिइरहेका सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि उक्त विषयलाई लिएर चिन्तित भएको अवस्थामा सेवाग्राहीका लागि नयाँ बाटो बनाइएको छ। भुईंतलाभन्दा माथिल्लो तलाका मुख्य ढोकासँगै ६ वटा कोठामा राखिएका मतपेटिका छिचोल्दै सेवाग्राहीहरूले हिँड्नुपर्ने अवस्थामा बाटो परिवर्तन गरी तेस्रो तलाबाट सिधै मेयर तथा उपमेयरको कोठामा जाने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो।

दोस्रो चरणको निर्वाचन सकिएसँगै मंसिर २१ गते बेलुकी ५ बजेबाट मतगणना शुरू गर्ने तयारी भएको छ। मंसिर २० गते सर्वपक्षीय बैठक बसेर मतगणना प्रक्रियाबारे सहमति खोजिने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्