दम्पतीको रहस्यमय हत्या



गोकुल घोरसाइने, बारा
जितपुर–सीमरा उपमहानगरपालिका–३ बजनी र रामवानकोबीच गाउँमा एक दम्पतीको हत्या भएको छ। गाईपालन व्यवसाय गर्दै आएका कृषक दम्पतीको शुक्रबार राति हत्या भएको हो।

इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार ३५ वर्षीय दीपक सुवेदी र उनकी ३० वर्षीय श्रीमती दीपा सुवेदीको हत्या भएको हो। दीपकको शव घरबाहिर ४० मिटर पर र दीपाको शब घरभित्र भेटिएको प्रहरीले जनाएको छ।

लुटेराको समूहले लुटेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। दम्पतीका एक छोरा र छोरी छन्। सुवेदी परिवार गाईफारममै सुत्ने गरेको भए पनि छोराछोरी भने हिजो फार्मनजिकैको घरमा सुतेका थिए।

थानीयले भने पत्नी दीपाको जबरजस्ती करणीपश्चात् दुवैको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। जितपुरसिमरा उपमहानगरपलिका वडा नम्बर ३ का वडाध्यक्ष जग्गनाथ घिमिरेले घटनास्थलको अवस्था हेर्दा दीपालाई जबरजस्ती करणी गरी वीभत्स ढंगले हत्या गरिएको बताउनुभयो। दीपाले लगाएको भित्री कपडासमेत च्यातिएको, घटनास्थल रक्क्ताम्मे भएको दीपाको शव कोठाभित्र र दीपकको घरबाहिर ४० मिटर पर भेटिएकाले आशंका बढेको वडा अध्यक्ष घिमिरेले बताए।

प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्