बैतडीमा मतपेटिकाको सुरक्षामा कडाई



विनोद सिंह विष्ट, बैतडी । पहिलो चरण अन्तर्गत मंसिर १० मा सम्पन्न चुनावका बैतडीमा मतपेटिकाको सुरक्षामा कडाई गरिएको छ । बैतडीका सबै मतदान केन्द्रका मतपेटिकाहरु दशरथचन्द नगरपालिकाको कार्यालय भवनमा राखिएको छ ।
बैतडीका १ सय ८२ मतदान केन्द्रका ५ सय ४६ मतपेटिका नगरपालिकाका ६ ओटा कोठामा राखेको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । मतपेटिकालाई सुरक्षित राख्न सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो । मतपेटिका राखिएको नगरपालिकाको कार्यलयमा नेपाल प्रहरी,शसस्त्र प्रहरी ,म्यादीप्रहरी र नेपाली सेनाले सुरक्षा दिरहेको उहाँले बताउनुभयो । बैतडीमा प्रदेशसभा ‘क’ र ‘ख’ दुबैको गरी १ सय ८२ केन्द्रका मतपेटिका छुट्टाछुट्टै कोठामा सिलबन्दी गरी राखिएको छ । कुल १ लाख ३२ हजार ३ सय १९ मतदाता रहको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मात्रै मतदान गरेका थिए । मतपेटिकाको रेखदेखमा सुरक्षा निकायसँगै राजनीतिक दलका प्रतिनिधीहरु पनि खटिएका छन् ।
जिल्लामा सबै उम्मेद्धारहरुलाइ परिचयपत्र दिएकाले राजनितीक दलका नेताहरुले पनि पालैपालो पहरा दिइरहेको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।
मतपेटिकाको सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतबाट दलको प्रतिनिधी परिचयपत्र बनाएर दलका नेताहरहरु खटिएका छन् । दलहरूमा आपसी सहमति र विश्वासको वातावरण रहे पनि निर्वाचनसँग जोडिएको विषय भएकाले कुर्नु परेको दलहरुले बताएका छन् । ‘संवेदनशील अवस्था भएर सबै दलका प्रतिनिधीहरु कुरुवा बसेका छौ ।’ माओवादी केन्द्रका नेता खिमानन्द भट्टले भन्नुभयो ।
मतपेटिकाको सुरक्षाका लागि प्रशासनसँगै राजनीतिक दलहरुपनि संवेदनशील बन्नु खुशीको कुरा भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । राजनीतिक दलका प्रतिनिधीहरु रातदिन कुरुवा बसेको उहाँले भन्नुभयो ‘दलहरु रातदिन कुरुवा बसेका छन् कुनै घटना हुने खतरा छैन ।’
निर्वाचन आयोगको अनुरोध अनुसार नै दलका नेता कार्यकर्तालाई पनि मतपेटिका कुरुवा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका राखिएको नगरपालिका कर्यालयको पश्चिमतर्फको कोठाको झ्यालमा सिसा मात्रै रहेको र सिसा खोलेर सजिलै मतपेटिका निकाल्न सकिने तथा पूर्व पट्टी मूल गेटसँगै रहेको कोठाको मतपेटिका बाहिरबाट प्रष्टै देखिने भएपछि सुरक्षा निकायले त्यसको बन्दोबस्त मिलाएको हो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रशाद गौतमले पश्चिमतर्फको झ्यालमा ग्रिल र पूर्वपट्टीको झ्यालभित्रको मतपेटिका नदेखिने व्यवस्था मिलाएको छ ।
त्यस्तै नगरपालिकाको नियमित कामहरु संचालनमा रहेको अवस्थामा मतपेटिका राखिएको कोठा बाहिर लगाएको टाँचा सेवाग्राहीको भिडमा फुित्कनसक्ने अवस्था रहेको थियो । त्यहाँ सुरक्षा दिइरहेका शसस्त्र प्रशरी र नेपाल प्रहरी पनि उक्त बिषयलाई लिएर चिन्तित भएको अवस्थामा सेवाग्राहीका लागि नयाँ बाटो बनाइएको छ । भुईतलाभन्दा माथिल्लो तलाका मुख्य ढोकासँगै छ वटा कोठामा राखिएका मतपेटिका छिचोल्दै सेवाग्राहीहरुले हिड्नुपर्ने अवस्थामा बाटो परिवर्तन गरि तेस्रो तलाबाट सिधै मेयर तथा उप मेयरको कोठामा जाने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो ।
दोस्रो चरणको निर्वाचन सकिएसँगै मंसिर २१ गते वेलुकी ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको छ । मंसिर २० गते सर्वपक्षीय बैठक बसेर मतगणना प्रक्रियाबारे सहमति खोजिने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्