नेतालाई कोचिङ क्लास



चुनावी प्रचार तीव्र बनेको छ, हरेक दिन नेताहरू भोटका लागि मतदातासँग भेटघाटमा व्यस्त छन्। आमसभा र घरदैलो कार्यक्रमसँगै आम सञ्चारमाध्यममा नेताहरू छाएका छन्। फलाना नेताले ४ वटा आमसभालाई सम्बोधन गरे, अनि फलानाले ५ वटा, अनि त्यो पार्टीका नेता घरदैलो र कोणसभामा व्यस्त यस्तै–यस्तै विषयले सञ्चारमाध्यम चुनावमय बनेका छन्। नहोस् पनि किन, अधिकांश सञ्चारमाध्यम नेता निकटका भएपछि।

धरहरा भने नेताका चुवानी एजेन्डा सुनेर छक्क पर्न थाल्या छ। ‘निर्वाचनले गठबन्धनलाई बहुमत दिलाउँछ, चुनावपछि म प्रधानमन्त्री हुन्छु, वामपन्थीले जितेमा अराजकता बढ्छ र विदेशी लगानी भित्रिँदैन, कांग्रेस विजयी भए लोकतन्त्र मासिन्छ, फलानाले जितेर अहिलेसम्म एक सिन्कासम्म भाँच्या छैन, ठूला दल विदेशी दलाल।’ नेताका चुनावी एजेन्डा यस्तै छन्, आमसभालाई सम्बोधन गर्दा पनि यस्तै आरोप प्रत्यारोप मात्रै दोहोरिन्छन्।

पटक–पटक जनमत पाएका, राष्ट्रिय राजनीतिमा महत्वपूर्ण पद र जिम्मेवारीमा रहेकाहरूबाट यस्तै हचुवा र तुच्छ आरोप प्रत्यारोपलाई चुनावी एजेन्डा बनाएको देख्दा नेताहरू कति परिपक्व छन् भन्ने प्रस्ट हुन्छ। चुनाव लक्षित घोषणपत्र चटक्कै बिर्सिन्छन् अनि त्योचाहिँ देखाउने दाँत मात्रै बन्छ। नेताहरूको यस्तो बालापन देख्दा धरहरालाई विचरा भन्न मन लागेको छ, अनि उनीहरूलाई परिपक्व बनाउन विभिन्न ठाउँमा कोचिङ क्लास सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेको छ।

प्रतिक्रिया दिनुहोस्