दुई तिहाइ बहुमतसहित चुनाव जित्छौँ



डा. अजयक्रान्ति शाक्य प्रदेशसभा ‘क’, नेकपा (एमाले)

चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ?
नेकपा (एमाले) अहिले स्पष्ट एजेन्डासहित चुनावी मैदानमा ओर्लिएको छ। त्यही एजेन्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरि नै चुनावी प्रचार अभियानमा जुटेका छन्। हामी पनि ‘स्वच्छ निर्वाचन, लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि बामपन्थी सरकार’ भन्ने नारासहित चुनावी घरदैलो कार्यक्रममा व्यस्त बनेका छौँ।

जनताको घरदैलोमा पुग्दा जनताबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामी अहिले जहाँजहाँ घरदैलो कार्यक्रममा गएका छौँ। त्यहाँत्यहाँका जनता निकै उत्साहित भएको पाएका छौँ। उहाँहरुले विकासमुलक निर्माणको सपना बोकेको पार्टी एमाले मात्र भएको भन्दै निकै उत्साह व्यक्त गर्नुभएको छ। पछिल्लो समय वाम शक्तिहरुको चुनावी तालमेल र वाम एकतासम्मको प्रयासलाई जनताले खुशी साथ समर्थन गरेको मैले पाएको छु।

एकपटक वामपन्थीलाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ भन्नेमा जनताको मनोभावना रहेको पनि हामीले पाएका छौँ। हामी चुनावी दौरानका क्रममा कोठे भेला गर्ने, विभिन्न क्षेत्र र समूदायका व्यक्तिहरुसँग भेटघाट गर्नेजस्ता कामलाई पनि तिव्रता दिएका छौँ। त्यस्ता भेटघाटबाट उहाँहरु झन प्रभावित भएको मैले पाएको छु। चुनावको मिति नजिकिरहेका बेला हामीले कोणसभा गर्ने, टोल सभा गर्ने, ठूला भेलाहरु गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिएका छौँ।

तपाईं वाम गठबन्धनको साझा उम्मेदवार पनि हो। माओवादीलाई मत दिँदै आएका मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हो, म वाम गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर–९ क को साझा उम्मेदवार हुँ। त्यसैले मैले उहाँहरुसँग पनि संयुक्त कार्यकर्ता भेला गर्ने, उहाँहरुसँग पनि सल्लाह–सुझाव लिनेजस्ता कुरालाई प्राथमिकतामा राखेको छु। माओवादी केन्द्रका साथीहरुसँग अहिले पनि म निरन्तर सम्पर्कमा रहेको छु। अहिले हामीसँगै चुनावी मैदानमा होमिएका छौं। र माओवादी केन्द्रका साथीहरु पनि निकै उत्साहित भएको मैले पाएको छु।

वामपन्थीहरुकै सरकार होस् भन्ने चाहना जनतामा किन ?
अहिले आर्थिक, राजनीतिक सामाजिक क्षेत्रमा मात्र होइन सबैतिर अस्तव्यत रहेका बेला अहिले राजनीतिक धु्रवीकरणले गर्दा वाम गठबन्धनको सरकारले केही गर्छ भन्ने आशा यस क्षेत्रका जनताले गरेका छन्। घरमा जाँदा हाम्रा आगामी प्रतिनिधिहरु नै तपाईंहरुको हो भनेर फूलमालाले स्वागत गर्ने खादा ओडाउने र शुभकामना दिने गर्नुभएको छ। त्यसले हामी थप उत्साहित भएका छौँ।

तपाईं राजनीतिक क्षेत्रमाभन्दा पनि बौद्धिक क्षेत्रमा बढी सक्रिय व्यक्ति चुनावी अभियानमा जाँदा कस्तो महशुस् गर्नुभएको छ ?
मैले भूगोलको प्रत्यक्ष जिम्मा लिएर मात्र काम नगरेको हो। तर, म २०४६ सालदेखि नै राजनीतिमा सक्रिय भएको व्यक्ति हुँ । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर मैले काम गरेको व्यक्ति पनि भएको नाताले मलाई त्यस्तो कुनै असहज महशुस् भएको छैन।

मैले राजनीतिक र बौद्धिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा आवद्ध रहेर पनि यो क्षेत्रका लागि धेरै गरेको छु। म सधैँ यही क्षेत्रका जनताको साथमा रहेको छु। त्यसैले यो क्षेत्रका जनताले मेरो बौद्धिकताको यही क्षेत्रमा सदुपयोग होस भन्ने अपेक्षा गरेका छन्।

त्यसले मलाई झन घरदैलोमा के एजेन्डा लिएर जानुभएको छ ?
सबैभन्दा पहिला त मैले विगतमा गरेका कामको समिक्षा नै मेरो एजेन्डा हुन्। मैले जनप्रतिनिधि नहुदा पनि यो क्षेत्रमा गरेको कामबाट यहाँका जनता उत्साहित हुनुभएको छ। त्यति मात्र होइन मैले साना–साना काममा पनि ध्यान दिएको छु। मुख्य गरेर यो क्षेत्रको खानेपानीको समस्या, बिजुलीको समस्या, ढलको समस्या, बाटोको समस्याका बारेमा मैले उहाँहरुसँग छलफल गर्ने र त्यसको समाधान गर्ने प्रयास गरेको छु।

आर्थिक समृद्धिका एजन्डा पनि त लिएर जानुभएको होला नि ?
मैले जनतालाई यो राजनीतिक अस्थिरताबाट मुक्त गर्नलाई वाम गठबन्धनको दुई तिहाइ बहुमतसहितको सरकार चाहिन्छ भनेको छु। त्यो भयो भने मात्र मुलुकमा आर्थिक क्रान्ति गर्न सकिन्छ भनेको छु। आर्थिक रुपान्तरण र दिगो विकासका लागि पनि वामपन्थीको सरकार चाहिन्छ भन्नेमा मतदाता पनि ढुक्क रहेको पाएको छु। हामीले बोकेको आर्थिक क्रान्तिको सपना पनि वामपन्थीको सरकार भए मात्र पूरा गर्न सकिन्छ भन्नेमा विश्वास दिलाएको छु। दक्ष जनशक्ति, संगठन, मिसन र भिजन भएको वामशक्तिलाई जिताउनु अहिलेको आवश्यकता हो भन्ने राम्ररी बुझ्नुभएका यो क्षेत्रका जनताले स्थानीय निर्वाचनमा पनि भारि मतसहित एमालेका उम्मेदवारलाई विजयी बनाएका थिए।

तपार्ईंको क्षेत्रको विकासका लागि के–कस्ता एजेन्डा अघि सार्नुभएको छ ?
अधिकांश पूर्वसांसदहरुले जनताको बीचमा जाँदा म यो क्षेत्रमा यो गर्छु, त्यो गर्छु भनेर क्षेत्रलाई मात्र सीमित गरेर रोजगारी र विकासका कुरा गर्नुभएको छ। म अहिले फरक ढंगले मतदाता कहाँ पुगेको छु। मैले क्षेत्रलाई मात्र सीमित गर्ने होइन समग्र नेपालको विकास गरेपछि क्षेत्रको विकास स्वतः हुन्छ। मैले उहाँहरुलाई क्षेत्रको मात्र होइन हामी समग्र देशको विकासमा लागेका छौँ भनेर प्रष्ट भनेको छु। यति मात्र क्षेत्रमा रेल कुदाउँछु, यति मात्र क्षेत्रमा यसो गर्छु भनेर भन्ने पक्षमा म छैन।

तपाईंले जित्ने आधार के–के ?
सबैभन्दा पहिलो आधार भनेको यो क्षेत्र मेरो स्थानीय क्षेत्र हो। म यही क्षेत्रमा जन्मिए, यही क्षेत्रमा हुर्कें। यहाँका जनताले बुझेका छन्। राजनीतिकसँगै यो क्षेत्रमा मैले सामाजिक काम पनि धेरै गरेको छु। यो लेखाजोखा पनि यहाँका जनताले गरेका छन्। यहाँका जनताको समस्या समाधानका लागि पनि मैले सक्दो प्रयास गरेको छु। मैले विभिन्न पदमा रहँदा देशको विकासका लागि गरेको योगदानको पनि जनताले मूल्याङकन गरेका छन्। देशका लागि केही गरौँ भन्ने वौद्धिक व्यक्ति हामीले पाएका छौँ भन्ने सन्देश अहिले जनताको घरदैलोमा पुगेको छ। यो पनि मेरो जित्ने अर्को आधार हो।

 

प्रतिक्रिया दिनुहोस्