भक्तपुरका ३४ मतदान स्थल संवेदनशील



पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुर जिल्लाका ३४ वटा मतदानस्थल सुरक्षाका दृष्टिले संवेदनशील रहेका छन्। जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुरका ७८ मतदानस्थलमध्ये ३४ वटा मतदानस्थल संवेदनशील रहेको जानकारी दिनुभयो। बाँकी ४४ मतदानस्थल सामान्य रहेको उहाँले जानकारी दिनुभयो।

सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयले मतदान केन्द्रको स्थलगत अध्ययन अवलोकनपछि शान्ति सुरक्षा, राजनीतिक दलहरूको प्रभाव एवम् मतदान केन्द्र र मतदाताको दूरीको आधारमा संवेदनशील र सामान्य मतदानस्थल छुट्याइएको उहाँको भनाइ थियो।

भक्तपुरका ७८ मतदानस्थलमध्ये ३४ वटा मतदानस्थल संवेदनशील र ४४ मतदानस्थल सामान्य

भयरहित एवम् सुरक्षित ढंगले निर्वाचन गर्न केन्द्रीय सुरक्षा योजनाअनुसार भक्तपुरमा पनि सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो। भक्तपुरमा एक हजारभन्दा बढी जनपद प्रहरी र ७ सय ३६ म्यादी प्रहरी, ३ सयभन्दा शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी २ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ हुनेछन्। प्रजिअ पोखरेलले भन्नुभयो– ‘निर्वाचनका लागि २ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ भएका छन्, आजैदेखि मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ भइसकेका छन्।’

भक्तपुरका ७८ मतदानस्थलमा २०९ मतदान केन्द्र रहेका छन्। एउटा मतदानस्थलमा दुईदेखि पाँचओटासम्म मतदान केन्द्र रहेका छन्। एउटा मतदान केन्द्रमा बढीमा १ हजार जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले जानकारी दिनुभयो। भौगोलिक अवस्था एवम् मतदाता र मतदान केन्द्रको दूरी बढी भएका र साँघुरो ठाउँमा कम्तीमा ५ सय मतदाताका लागि एक मतदान केन्द्र निर्धारण गरिएको छ।

भक्तपुरमा कुल १ लाख ७८ हजार ९५ जना मतदाता रहेका छन्। जसअनुसार निर्वाचन क्षेत्र नं.१ मा ९४ हजार १ सय ६४ र क्षेत्र नं. २ मा ८३ हजार ९ सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क)मा ४३ हजार ५ सय ५२ मतदाता रहेका छन् भने प्रदेश (ख) भक्तपुर नगरपालिकामा ५० हजार ६ सय १२ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) सूर्यविनायकमा ४४ हजार ८९ मतदाता रहेका छन् भने प्रदेश (ख) मा ३९ हजार ८ सय ४६ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्