नेपाल–भारत संयुक्त सुरक्षा गस्ती शुरू



नरेन्द्र केसी, घोराही, दाङ
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न चुनाव हुनुभन्दा तीन दिनदेखि नै नेपाल–भारत सीमा बन्द गरिने भएको छ।

गत मंसिर ५ गते बाँकेमा भएको दुई देशका सुरक्षा अधिकारीको बैठकको निर्णयअनुसार दुवै देशले चुनावको ७२ घण्टाअघि नै सीमा बन्द गर्ने सहमति भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले जानकारी दिनुभएको छ। जसअनुसार मंसिर १८ गतेदेखि मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकीय सेवाबाहेक अन्य सबै प्रकारका आवात जावत निषेध गरी सीमा सील गरिने उहाँले बताउनुभयो।
यसैबीच आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै दाङको सीमा इलाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतबाट कुनै पनि व्यक्ति घूसपैठ गरेर निर्वाचनविरोधी क्रियाकलाप नगरुन भनेर सुरक्षा व्यवस्था कडा पारिएको हो।

जसका लागि नेपाल र भारतका सुरक्षा अधिकारीले संयुक्त गस्ती शुरू गरेका छन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले संयुक्त गस्ती सञ्चालन गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिनुभयो।

‘चुनाव विरोधी गतिविधिमा भारतबाट ल्याइएका विस्फोटक पदार्थ प्रयोग भएको र ठाउँठाउँमा भारतीय नागरिकसमेत पक्राउ भएको खबरपछि हामी अझ चनासो भएर सुरक्षा व्यवस्थामा कडाइ गरेका छौं’, उहाँले भन्नुभयो– ‘भारतबाट कुनै पनि अवाञ्छित गतिविधि नहोस् भनेर संयुक्त गस्तीको व्यवस्था मिलाइएको छ।’

दाङका सीमा नाकाहरू कोइलाबास, मुसी, खवरी, सिरिया, पटौली, गुरुङ, खांग्रालगायतका नाकाहरूमा सुरक्षा गस्ती तीव्र पारिएको उहाँले बताउनुभयो। सशस्त्र प्रहरी बल नेपालले २४सै घन्टा सीमाक्षेत्रमा सुरक्षा गस्ती गरिरहेको र हालसम्म दाङको सीमा क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय दाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिलीपकुमार शर्माले बताउनुभयो। ‘हामी दाङका सीमा क्षेत्रबाट कुनै पनि गलत व्यक्ति र बिष्फोटक पदार्थ प्रवेश नगरोस् भन्नेमा सचेत छौं’, उहाँले भन्नुभयो– ‘दुवै देशका सुरक्षा अधिकारी कतै एकल त कतै संयुक्तरूपमा तैनाथ गरिएका छन्।’

दाङको सीमा क्षेत्र देशकै संवेदनशील क्षेत्रको रूपमा हेरिन्छ। विगतका चुनावमा सीमा क्षेत्रबाट घूसपैठ हुने सूचनाका आधारमा यसपटक सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको सुरक्षा स्रोतले जनाएको छ। दाङमा करिब ८३ किलोमिटर भारतसँगको सीमा क्षेत्र रहेको छ भने नेपाल प्रवेश गर्ने ३१ वटा नाका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्