उदार सरकार



सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहिवस्सल्लमको जन्मदिनको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ। मोहम्मदको जन्मदिनमा बिदा दिइएको यो पहिलोपटक हो। मुसलमान संघर्ष समितिसँग २०६३ मा मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने सम्झौता गरे पनि सरकारले यसअघि बिदा दिएको थिएन।

यति मात्रै कहाँ हो र, सरकारले इसाई धर्मावलम्बीहरुलाई पनि ‘क्रिसमस डे’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आगामी पुस १० गते मनाइने ‘क्रिसमस डे’को बिदा तोक्न सरकार निकै उदार बनेको छ, त्यो पनि झन्डै एक महिनाअघि। विगतमा बिदा दिन पटक–पटक ध्यानाकर्षण गराउँदा नगल्ने सरकार चुनावी मुखमा आएर एक्कासि लचिलो बनेको छ। जे होस् ढिलै भए पनि दुवै समुदायको माग सम्बोधन भएको छ। इस्लाम समुदायलाई शुभकामना, इसाई समुदायलाई अग्रिम शुभकामना।

भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दोहोर्याउँदै उनी नेपाल भ्रमणमा आएमा सार्वजनिक अग्रिम रूपमा बिदा दिने घोषणा गरेको गरेको धरहराले बिर्सिएको छैन। इस्लाम र इसाई समुदायले त झनै बिर्सने कुरै भएन। धरहरा वरिपरि शुक्रबार साँझ गाइँगुइँ सुनियो– ‘सरकार त अहिले यति लचक भएको छ कि कसैले एक भोट दिन्छु, लौन सार्वजनिक बिदा पाऊँभन्दा तत्काल स्वीकृत हुन्छ।’ हुन सक्छ है, पहल गर्ने कि?

प्रतिक्रिया दिनुहोस्