सुरक्षाप्रति संवेदनशीलताको खाँचो



प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा नै सम्पन्न भएको मान्नुपर्छ । तर आगामी २१ गते हुने दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सो दिन निर्वाचन हुने जिल्लाहरुमा बम विस्फोटका घटना तीव्ररूपमा बढ्न थालेको छ । पहिलो चरणको निर्वाचनमा भन्दा पनि दोस्रो चरणको निर्वाचनमा विस्फोटनका घटना बढेको प्रहरीले समेत स्वीकार गरेको छ । यस्ता घटनाले सुरक्षा व्यवस्थामा समेत चुनौती थपेको छ । यसरी उम्मेदवार लक्षित बम विस्फोटका घटना बढिरहँदा पनि सरकार मुकदर्शक भएर बसेकाले अवस्था झनै जटिल बन्दै जाने हो कि भन्ने त्रास फैलिएको छ ।

गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू संलग्न दाङको तुलसीपुरमा कार्यक्रम चलिरहेकै बेला २ सय मिटरको दूरीमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका ८ जनामध्ये म्यादी प्रहरी विनोद चौधरीको भोलिपल्ट बुधबार निधन भयो । यसै गरी उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की चढेको सवारीसाधनमाथि उदयपुरको गढी गाउँपालिका–६ मा बुधबार बम विस्फोट हुँदा कार्कीसहित चुनाव प्रचारप्रसारमा रहेका अन्य ६ जना घाइते भए । सोही दिन सोही जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार डा. नारायण खड्काको गाडीलाई लक्षित गरी बम प्रहार भयो । सोमबार राति पनि झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घरमा बम विस्फोट भयो ।

यसअघि पनि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल, डा. रामशरण महतलगायतका नेताहरू चढेको सवारीसाधनमा बम विस्फोट गराइएको थियो । घटनामा संलग्नहरु एकिन गरी कारबाहीको दायरामा नल्याउने हो भने उनीहरुको मनोबल बढी यस्ता घटना झनै बढ्न सक्ने अनुमान लगाउन गाह्रो पर्दैन ।
दिनानुदिन बम विस्फोटको घटनाले सन्त्रास छाएको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विस्फोटका घटनामा संलग्न ५ सय १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै ४४ स्थानमा वम विस्फोटका घटना भएका छन् । प्रहरीले ५१ थान अवैध हातहतियार बरामद गरेको जनाएको छ । पछिल्लो समय उम्मेदवार र आमसभा लक्षित बम विस्फोटका घटना बढ्न थालेपछि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको जनाएको छ । यद्यपि, दैनिकजसो बम विस्फोट भइरहेको छ ।

पछिल्लो समय बढ्दै गएको बम विस्फोटका घटनाहरू न्यूनीकरण हुन नसक्नुको मुख्य कारणमा मुलुकमा छुट्टै गृहमन्त्री नहुनुलाई पनि मानिएको छ । गृह मन्त्रालय प्रधानमन्त्री स्वयंले राखेको र उहाँ चुनाव प्रचारप्रसारका क्रममा देश दौडाहामा भएकाले शान्ति सुरक्षामा ध्यान दिन नसकेको आरो एकथरीको छ । यस्तै चुनावी सुरक्षाको गोप्य रणनीति र कार्ययोजनाहरू बाहिरिएकाले पनि यस्ता आक्रमणहरू गर्न चुनाव बिथोल्नेहरुलाई सजिलो भएको अनुमान गरिएको छ । यस्ता घटनाले शान्तिपूर्ण एवं निर्बाधरूपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गरेको छ । यसले लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खेजेको छ । त्यसैले यस प्रकारका घटना पुनः नदोहोरिऊन् भन्नका लागि सरकारसहित सुरक्षा निकाय संवेदनशील एवं चनाखो बन्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्