माग्ने बुढाले मागे वामलाई भोट



हेटौंडा, (नेस)। लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले देश विकासका लागि वाम गठबन्धन दुई तिहाइ मतसहित विजयी हुनु आवश्यक रहेको बताएका छन्।

बकैया गाउँपालिका–४ जुरेली चौरमा बुधबार भएको कार्यक्रममा उनले देश विकासका लागि वाम गठबन्धनमात्र विकल्प रहेको दाबी गरे। उनले देशभर नै वाम गठबन्धनजस्तै मकवानपुरको विकासका लागि अझ स्थानीय उम्मेदवारहरु कृष्णप्रसाद दाहाल तथा प्रेमबहादुर पुलामीलाई विजयी गराउनु आवश्यक रहेको बताए।दाहाल तथा पुलामी यसै क्षेत्रको माटोमा हुर्किएको र हालसम्म राजनीतिमा इमान्दार व्यक्तिमात्र नभएर उनीहरु उठेको गठबन्धन नै देशको आशाको केन्द्र भएको उनले बताए। दाहाल र पुलामीले त्यस क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्न सक्ने क्षमता राख्ने तथा त्यहाँका हरेक डाँडा, कुना र कन्दरासँग परिचितसमेत भएकाले हेलिकोप्टर चढ्नेहरुभन्दा चप्पल लगाउनेहरुलाई विश्वास गर्न आग्रह गरे।

लोकतन्त्रको रक्षा गर्न राजावादीले नसक्ने भन्दै उनले वाम गठबन्धनलाई मत दिन आग्रह गरेका थिए। घिमिरेले सभामा आफ्ना हास्य प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्