इन्डोनेसियाको अर्काे विमानस्थल पनि बन्द



 

बाली, इन्डोनेसिया ।  इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण फेरि अर्काे विमानस्थल पनि बन्द गरिएको समाचार छ ।

बालीमा गएको तीन दिनदेखि बन्द रहेको बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बुधबारबाट सञ्चालनमा आएपछि पुनः बिहीबार अर्काे विमानस्थल बन्द गरिएको बताइएको छ ।

केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतरा रहेको भविश्यवाणी गरिएको थियो । त्यसैले तीन दिनदेखि बालीकोे विमानस्थल बन्द थियो । सो विमानस्थल भने बुधबार दिउसो खोलिएको थियो ।

अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार उक्त ज्वालामुखीको खरानीले असर गर्ने भएकोले बिहीबार फेरि यहाँको अर्काे विमानस्थल, लोम्बक विमानस्थल बन्द गराएका छन् ।

इन्डोनेसियाको पश्चिमी नुसा ताङ्ग्रा प्रान्तमा रहेको सो विमानस्थल पनि अन्तर्राष्ट्रिय विमानस्थल हो । बिहीबार बिहान १० बजेदेखि सो विमानस्थल बन्द गर्ने सूचना अधिकारीहरुले जारी गरेका छन् ।

खरानीका कारण मानवीय समस्याका अतिरिक्त जहाजको इञ्जिनमा पनि क्षति पु¥याउने भएकोले उक्त विमानस्थलबाट उडान रोकिएको हो ।

बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्ले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका छन् ।

सरकारले सर्वसाधारण नागरिकलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्