विवाहअगाडि मार्कलको बाप्टाइज्ड हुने



लन्डन, (एजेन्सी)
विन्डसोर क्यासलस्थित सेन्ट जर्ज च्यापेल त्यो गिर्जाघर हुनेछ, जहाँ मेगन मार्कल र राजकुमार ह्यारी विवाह बन्धनमा बाँधिनेछन्। धेरै पर्खाइपछि ती जोडीको इंगेजमेन्टको घोषणा भएको एक दिनपछि नै उनीहरूको विवाह कार्यक्रमका बारेमा थप विस्तृत विवरण बाहिर आएको छ।

सन् २०१८ मेमा हुने उनीहरूको विवाह शाही परम्पराअनुसार गिर्जाघरमा हुने र त्यसलाई महारानी एलिजाबेथले अनुमति दिइसकेको केंसिङटन प्यालेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो सन् २०११ मा राजकुमार विलियम र डचेस अफ क्याम्ब्रिजको विवाह भएको स्थल वेस्टमिनिस्टर अबेभन्दा सानो छ। तर यो स्थानमा यसअघि धेरै शाही परिवारको विवाह भइसकेको छ। सन् २००५ मा युवराज चाल्र्स र क्यामिला पार्कर बोल्सले उनीहरूको सामान्य विवाह समारोहमा क्यान्टरबरीका आर्कविसपबाट आशीर्वाद लिएका थिए। १४ शताब्दीको उक्त गिर्जाघर ह्यारी र मार्कलका लागि विशेष पनि हो, जहाँ उनीहरूले सम्बन्धमा रहेका बेला केही समय बिताएको टेलिग्राफले उल्लेख गरेको छ।

इसाईमा प्रोटेस्टेन्ट रहेकी मार्कलको बाप्टाइज्ड गरिने र बेलायती नागरिक हुन तयार भएको पुष्टि गरिने टेलिग्राफले जनाएको छ। उक्त विवाहको खर्च शाही परिवारले बेहोर्नेछ भने विवाह कार्यक्रमका योजनाको नेतृत्व ह्यारी र मार्कल आफैले गर्ने इभिनिङ स्ट्यान्डर्डले जनाएको छ। “मार्कलले राजकुमारीको दर्जा पाउनेछैनन्”

अर्को वर्ष राजकुमार ह्यारीसँग विवाह बन्धनमा बाँधिन लागेकी मेगन मार्कललाई प्रिन्सेस दर्जा दिइनेछैन।

यस्तो किन? भन्ने प्रश्नको जवाफ अलि क्रूर छ। किनभने बेलायती शाही शिष्टाचारको मानकमा पूर्व हलिउड अभिनेत्रीमा शाही रगतको अभाव छ। यसको अर्थ उनले आफूलाई प्रिन्सेस मेगन भन्न पाउने छैनन्। यो अनौठो नियमको अर्थ मेगनलाई भावी भाउजूकै उदाहरणलाई पालना गर्न बाध्य पारिनेछ।

सन् २०११ मा क्याथरिन मिडल्टन र राजकुमार विलियमलाई ‘पुरुष र पत्नी’को घोषणा गर्दा उनी स्वाभाविक रूपमा मौसुफ, प्रिन्सेस विलियम अफ वेल्स बनेकी थिइन्। ठूलो सम्भावना के हो भने, नयाँ शाही मंगेतर औपचारिक रूपमा ‘हर रोयल हाइनेस प्रिन्सेस ह्यारी अफ वेल्स’ बन्नेछिन्। यसमा प्रिन्सेस केट भन्न बिर्से जस्तै प्रिन्सेस मेगलाई बिर्सनु पर्नेहुन्छ। यसको कारण सामान्य छ, क्याथरिन मिडल्टन शाही रगतबाट आएकी होइनन्। उनमा जे नियम लागू भएको छ, समान नियम मेगन मार्कलमा पनि लागू हुनेछ।

शाही रगतको नाता हुनुले महारानीकी स्वर्गीय बहिनी मार्गरेटले आफूलाई प्रिन्सेस मार्गरेट भन्न पाएकी थिइन्। त्यसै गरी महारानी छोरी प्रिन्सेस एनी र उनकी नातिनीहरूलाई प्रिन्सेस बेट्रिस र प्रिन्सेस युजेनीले त्यो दर्जा सुरक्षित गरेका छन्। शाही रगत हुनुले नै उनीहरूले आफूलाई प्रिन्सेस भन्न पाएका हुन्। तर सराह फर्गुसन कहिल्यै पनि प्रिन्सेस सराह र प्रिन्स एडवार्डकी पत्नी सोफी र्यास जोन्स कहिल्यै पनि प्रिन्सेस सोफी भएनन्।

लेडी डायना स्पेन्सर पनि कहिल्यै औपचारिक रूपमा प्रिन्सेस डायना भइनन्। उनलाई प्रिन्सेस अफ वेल्स र प्रिन्स चाल्र्सबाट सम्बन्ध विच्छेदपछि डायना प्रिन्सेस अफ वेल्स मात्र भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्