उत्तर कोरियाद्वारा अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण, किमले युद्ध निम्ताएको अमेरिकी चेतावनी



सोल, (एजेन्सी)
करिब साढे दुई महिना लामो शान्तिपछि उत्तर कोरियाले बुधबार बिहान अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हतियार अर्थात् नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। केही पर्यवेक्षकहरूले यो क्षेप्यास्त्र वासिङ्टनलगायत पूर्वी अमेरिकाको सम्पूर्ण तटीय क्षेत्रसम्म पुग्न सक्ने दाबी गरेका छन्।

सो क्षेप्यास्त्रका परीक्षण प्रक्षेपण गरेको घन्टौंपछि उत्तर कोरियाले सरकारी टेलिभिजनबाट विशेष घोषणा गर्दै आफूले यसअघि परीक्षण गरिएको लामो दूरीको क्षेप्यास्त्रभन्दा कयौं गुणा शक्तिशाली ह्वासोङ–१५ नामक आणविक क्षमतायुक्त आईसीबीएमको सफल प्रक्षेपण भएको जनाएको थियो।

अन्य राष्ट्रका सरकारहरू र हातहतियार विश्लेषकहरूले उत्तर कोरियाले क्षेप्यास्त्र क्षमतामा हासिल गरेको अद्भूत उपलब्धिको दाबीलाई विश्वास गरेका छन्। अचानक गरिएको यस परीक्षण प्रक्षेपणको कारण कोरियाली प्रायद्वीप र वासिङ्टनमा खैलाबैला मचाएको छ।

उत्तर कोरियाको स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर १७ मिनेट जाँदा तथा अमेरिकी राजधानीको समयअनुसार मध्याह्न अचानक गरिएको यस प्रक्षेपणको प्रमुख उद्देश्य अमेरिकाको ध्यानाकर्षण गर्नु रहेको अनुमान गरिएको छ। सरकारी सञ्चारमाध्यममार्फत जारी गरिएको एक विज्ञप्तिमा उत्तर कोरियाले निकै शक्तिशाली ह्वासोङ–१५ ले निकै ठूलो परिमाणमा आणविक हतियार बोक्न सक्ने तथा त्यसले अमेरिकाको कुनै पनि स्थानमा मार हान्न सक्ने जनाइएको छ।

प्योङयाङले राजधानीनजिकैबाट प्रक्षेपण गरिएको यो क्षेप्यास्त्र ९ सय ५० किमि दूरी तय गरी अधिकतम ४ हजार ४ सय ७५ किमि उचाइसम्म पुगेर सागरमा राखिएको लक्ष्यमा प्रहार गर्न सफल भएको जनाएको छ। दक्षिण कोरियाली सेनाले पनि यही उडान तथ्यांक सार्वजनिक गरेको छ। साथै उत्तरले अत्यधिक उचाइबाट क्षेप्यास्त्र प्रहार गरिएकाले यसबाट छिमेकी मुलुकहरूको सुरक्षामा कुनै आँच नपुगेको पनि जनाएको छ। प्योङयाङले आफ्ना सर्वोच्च नेता किम जोङ उनले यस सफल प्रक्षेपणलगत्तै राष्ट्रले ‘रकेट शक्ति’को उपलब्धि हासिल गरेकामा गौरवान्वित हुँदै खुसी प्रकट गरेको जनाएको छ। उत्तर कोरियाले अमेरिकी साम्राज्यवादको आणविक ब्ल्याकमेल नीति र राष्ट्रमाथि हुनसक्ने कुनै पनि आणविक आक्रमणको खतराबाट जोगाउने उद्देश्यले आफूले आणविक विकास कार्यक्रम अघि बढाउनुपरेको भन्दै वकालत गर्दै आएको छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले आणविक र क्षेप्यास्त्र परीक्षण गरेका कारण उत्तर कोरियामाथि पटकपटक आर्थिक नाकाबन्दी लगाउँदै आएको छ। तर त्यसको बेवास्ता गर्दै उत्तरले हतियार परीक्षण प्रक्षेपण कार्यलाई निरन्तरता दिँदै आएको छ। केही समयअघि मात्र अमेरिकाले उत्तर कोरियालाई आतंकवाद प्रायोजन गर्ने राष्ट्रको सूचीमा राखेको थियो।
यसको कारण उत्तरसँगको समस्या कूटनीतिक ढंगले समाधान हुने सम्भावना न्यून हुँदै गएको छ भने अमेरिका र उत्तर कोरियाबीच युद्धको सम्भावना बढेको छ। साथै पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको नकारात्मक प्रभाव आगामी वर्षको शुरूमै दक्षिण कोरियामा हुन लागेको हिउँदे ओलम्पिकको सुरक्षामा पर्न सक्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन्। उत्तरको कार्यको सटिक जवाफ दिने उद्देश्यले हिजो नै दक्षिण कोरियाले पनि तत्कालै तीनवटा क्षेप्यास्त्र परीक्षण गरी आफ्नो सामरिक क्षमता प्रदर्शन गरेको छ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनले उत्तर कोरियाबाट बढिरहेको क्षेप्यास्त्रको खतराप्रति चिन्ता व्यक्त गर्दै यसैको कारण अमेरिकाले उत्तरमाथि उसले आणविक हयितारयुक्त लामो दूरीको क्षेप्यास्त्र विकास गर्नुअघि नै आक्रमण गर्न सक्ने बताएका छन्। दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले हिजो गोप्य कक्षमा जानकारी दिने क्रममा उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सम्भावना प्रबल रहेको बताएको छ। जापानी रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले उत्तरी जापानको प्रमुख टापु होन्सुको आओमोरीदेखि करिब २ सय ५० किमि टाढाको विशेष आर्थिक क्षेत्रको सागरमा उक्त क्षेप्यास्त्र खसेको जानकारी दिएका छन्।

यसैबीच अमेरिकी सिनेटर लिन्डसे ग्राहमले यस क्षेप्यास्त्र प्रक्षेपणको केही घन्टापछि उत्तरले हतियार द्वन्द्वको स्थिति सृजना गरी अमेरिकाको धैर्यताको बाँध तोडेको तथा यसका लागि किम जोङ उन पूर्णरूपमा जिम्मेवार हुने बताएका छन्। उनले सीएनएन सिट रुमलाई प्योङयाङको यस्तो व्यवहार रोक्न आवश्यक परेकामा अमेरिका युद्धमा पनि जान सक्ने, यसका लागि उत्तर आफै जिम्मेवार हुने तथा समस्यामा परिवर्तन नआएको खण्डमा युद्धको कुनै विकल्प नै नरहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्