चुनावको प्रभाव शेयर बजारमा



रोविन पौडेल, काठमाडौं

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको असर शेयर बजारमा देखिएको छ। पहिलो चरणको निर्वाचन सम्पन्न भएको चौथो दिन बुधबार भदौ यताकै उच्च कारोबार भएको हो।

पछिल्लो समय शेयर बजारमा दैनिक औसत ५० करोड रुपियाँको कारोबार हुने गरेकोमा बुधबार १ अर्ब रुपियाँमाथिको कारोबार भएको छ। निर्वाचनको समयमा शेयर खरिद चाप बढ्दा नेप्से परिसूचक उकालो लागेको हो। चुनावअघि शेयर बजारको भविष्य केही समय अन्योल रहे पनि राजनीतिक स्थिरताको अपेक्षामा शेयर बजारमा कारोबार बढेको जानकारहरूले बताएका छन्।

लगानीकर्तामा यसअघि ‘लुज’ भएको ‘कन्फिडेन्स’ बढ्दा बजार उकालो लागेको नेपाल इन्भेस्टर फोरमका महासचिव राजन लम्सालको भनाइ छ। उहाँका अनुसार चुनावको समयमा विभिन्न माध्यमबाट शेयर बजारको पहुँच नहुने स्थानमा पुगेको रकम विस्तारै लगानीकर्ताको हातमा आइपुगेका कारण कारोबार बढेको हो। नेपाल समाचारपत्रसँग कुरा गर्दै लम्सालले भन्नुभयो– ‘केही पहिलेदेखि चुनावी परिणामको विषयले लगानीकर्तामा दुविधा ल्याए पनि अब राजनीतिक स्थिरता होला भन्ने आशामा लगानीकर्ता हौसिएका छन्। चुनावी परणामपछि बहुमतको सरकार बन्ने आशामा लगानीकर्ताले बजारमा स्थिरता छाउने विश्वास लगानीकर्ताको छ।’

राजनीतिक दलका उम्मेदवारको चुनावी खर्चसँगै राज्य कोषबाट पनि ठूलो खर्च हुने गर्छ। यस्ता आर्थिक गतिविधिले बजार छोटो समयका लागि प्रभावित हुने गर्छ। ‘बजारमा कारोबार बढ्नुले चुनावपछि गठन हुने बहुमतको सरकारका योजना तथा कार्यक्रममा लगानीकर्ताको विश्वास रहेको बुझिन्छ।’ लम्सालले भन्नुभयो। सामान्यतया चुनावको समयमा रकमको प्रवाह अन्य समयभन्दा बढी हुने कारण अर्थतन्त्रको आयतन बढ्दा अन्य समयको तुलनामा शेयर बजारको कारोबार रकम उच्च हुने अपेक्षा गरिन्छ।

यद्यपि, शेयर बजारको घटबढ भनेको लगानीकर्ताको दृष्टिकोण मात्र भएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीको भनाइ छ। उहाँका अनुसार चुनावकै कारण मात्र शेयर बजार प्रभावित हुन्छ भन्न मिल्दैन। उहाँले भन्नसभयो– ‘चुनावले नै शेयर बजार प्रभाव पारेको भन्न मिल्दैन। तरलता बढ्नु नै बजार प्रभावित गर्ने कारण होइन, यसमा बैंकको ब्याजदरलगायत कुराले पनि असर पार्छ।’ शेयर बजारले यसरी फैलिने हल्लाको पछाडि नलागेर हल्लालाई प्रमाणिकरण गरेर मात्र लगानी गर्न सबैलाई आग्रह गर्नुभयो। यस्तो हल्लामा आधार भएर कन्फिडेन्स बढ्यो भन्नु ‘टु अर्ली’ हो।

चुनावपछि बजार बढ्ला भन्ने आशामा लागनीकर्ता बजारमा आकर्षित भएको शेयर बजारका जानकारहरू बताउँछन्। उनीहरूका अनुसार नेपालका प्रायःजसो लगानीकर्ता शेयर बजारप्रति कम जानकार भएकाले हल्लामा बढी विश्वास गर्छन्। नेपाल समाचारपत्रसँग कुरा गर्दै शेयर बजारका एक दलालले भने– ‘अहिले शेयरको मूल्य अन्डर भ्यालु छ। जुवा खेलजस्तै नेपाल शेयर बजारमा चुनावले बढाएको तरलताको प्रभाव देखिएको हो।’ अहिले ८ अर्ब चुक्ता पुँजी भएको बैंकको प्रतिशेयर मूल्य ३ सय रुपियाँ पर्छ। लघुवित्त कम्पनीको शेयर मूल्य १५ सय रुपियाँभन्दा बढी छ।यस्तो भएपछि बजार बुझेकाले खरिद गरिहाल्छन् नि, ती ब्रोकरको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्