म्यानचेस्टर युनाइटेडको जित



लन्डन, (एजेन्सी)
टुग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति वाटफोर्डमाथि जितेपछि म्यानचेस्टर युनाइटेडका मेनेजर जोजे माउरिन्होले टोलीले सिगार तान्न सकिने भनेर प्रतिक्रिया दिएका छन्।

युनाइटेडले घरेलु टोली वाटफोर्डविरुद्ध ७७औं मिनेटसम्म ३–० को अग्रता लिएको थियो। तर छिटो दुई गोल फर्काएर वाटफोर्डले ३–२ को स्थितिमा ल्याएर युनाइटेडलाई तनाव दियो। जेसे लिंगार्डले भ्रमणकारी टोलीका लागि चौथो गोल गरेपछि युनाइटेड ४–२ गोलअन्तरले जित्यो। यो जितपछि टोलीका मेनेजर माउरिन्होले भने– ‘हामीले सिगार तान्न सक्नेछौं तर पछि हामी चिन्तामा हुनेछौं।’

यसअघि युनाइटेडका एस्ली योङले उनको पुरानो क्लबविरुद्ध दुई गोल गरेका थिए। १९औं मिनेटमा बक्सको छेउबाट पहिलो गोल गरेका योङले छ मिनेटपछि २५ यार्डको फ्रिकिकमा दोस्रो गोल गरेका थिए। एन्थोनी मार्सियलले १८ यार्डबाट ३२औं मिनेटमा गोल गरेपछि युनाइटेड ३–० को अग्रतामा रहेको थियो।

तर ट्रोय डिनीले ७७औं मिनेटमा पेनाल्टीमा र अब्डुलाए डउकुरेले सात मिनेटपछि डिबक्स क्षेत्रबाट गोल गरेर गोलअन्तर ३–२ मा खुम्च्याए।
८६औं मिनेटमा लिन्गार्डले करिब ६० यार्डबाट एक्लैले बल नियन्त्रणमा लिएर गोल गरेका थिए। जितसँगै युनाइटेडको १४ खेलमा ३२ अंक भएको छ। यो २०१२–१३ सिजनपछि प्रिमियर लिगमा टोलीको उत्कृष्ट शुरूआत हो।

रियल अन्तिम १६ मा
स्पेनिस फुटबलका महारथी रियल मेड्रिड कोपा डेल रे प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत मेड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ ले नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा प्रवेश गरेको हो। यसअघि पहिलो लेगमा रियल २–० ले विजयी भएको थियो।

खेलमा फिउनलाब्राडाका लुइस मिलरले खेलको २५औं मिनेटमा पहिलो गोल गरेका थिए। तर बोर्जा मायोरलले खेलको ६२औं र ७०औं मिनेटमा दुई गोल गर्दै रियललाई २–१ ले अघि राखेका थिए। यसैगरी खेलको अन्तिम मिनेटतिर फिउनलाब्राडाका एल्भारो पोर्टिलाले गोल गर्दै खेल बराबरीमा टुंग्याउन सफल भए। मंगलबारै भएको अन्य खेलहरूबाट नतिजा आफ्नो पक्षमा पार्दै न्यूमान्सिया, लेगानेस, लेभान्ते र सेल्टा भिगोले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्