वाम गठबन्धन सत्ता कब्जा गर्न चुनावी मैदानमा उत्रिएको आरोप



नेपाल समाचारपत्र
भद्रपुर
प्रजातन्त्रवादी प्राध्यापक संघ मेची बहुमुखी क्याम्पस इकाइ समिति भद्रपुरले वाम गठबन्धन आफ्नो स्वार्थ र सत्ताकब्जा गराउने उद्देश्य लिएर चुनावी मैदानमा उत्रिएको आरोप लगाएका छन्।

यही मंसिर २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै झापामा कार्यरत नेपाली कांग्रेसका शुभेच्छुक प्राध्यापकहरूले आफ्नो आधिकारिक धारणासहितको अपिल सार्वजानिक गर्दै यस्तो आरोप लगाएका हुन्।

प्रजातन्त्रवादी प्राध्यापक संघले बुधबार भद्रपुरमा आयोजना गरेको पत्रकार सम्मलेनमा सार्वजनिक गरिएको अपिलमार्फत नेपालको राजनीतिक क्षेत्रमा नेपाली कांग्रेस नै मूलधारको पार्टी भएकाले देशको राजनीतिक आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने कांग्रेस मुख्य शक्ति भएको बतायो। अन्य दलहरू कांग्रेसका अगाडि दायाँ र बायाँका सहायक शक्ति मात्र भएको उल्लेख गरिएको छ।

नेपालको राजनीतिमा १ सय ४ वर्षे निरंकुश जहानियाँ राणा शासनदेखि ७२ सालको संविधान जारी गर्नेसम्मका महत्त्वपूर्ण राजनैतिक उपलब्धि नेपाली कांग्रेसको नेतृत्वमा भएकाले कांग्रेस उदार लोकतान्त्रिक धार भएको जारी अपिलमा उल्लेख गरिएको छ।

वि.सं. २००७ सालयताका हरेक परिवर्तनको नेतृत्व लिएको नेपाली कांग्रेसलाई पाखा लगाउने बाहनामा परिवर्तनविरोधी अगाडि आउने वातावरण बनिनु नहुने भन्दै संघले कांग्रेसको पक्षमा मतदान गर्न आम मतदातालाई अपिलमार्फत आह्वान गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै संघका प्रथम केन्द्रीय उपाध्यक्ष प्राडा पुथ्वीविक्रम राईले परिवर्तनको राजनीति स्थापित भइनसकेको वर्तमान समयमा आधार शक्ति कांग्रेसलाई पाखा लगाउन खोजेको उदार लोकतन्त्रको सुरक्षामा चिन्ता थपिएको प्रस्ट पारे।

प्रतिक्रिया दिनुहोस्