कांग्रेसमाथि लगातार आक्रमण



रामकृष्ण चापागाईं, काठमाडौं
उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की चढेको सवारीसाधनमाथि बुधबार बम विस्फोट हुँदा कार्कीसहित चुनाव प्रचारप्रसारमा रहेका अन्य ६ जना घाइते भए।

उदयपुरको गढी गाउँपालिका–६ मा बुधबार बिहान ११ बजे भएको बम विस्फोटबाट उम्मेदवार कार्कीसहित निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्कीलगायत अन्य ३ जना घाइते भएका थिए। बुधबार नै जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो।

अघिल्लो दिन मंगलबार नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू दाङको तुलसीपुरमा कार्यक्रम चलिरहेकै बेला २ सय मिटरको दूरीमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका ८ जनामध्ये म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान निधन भयो।

सोमबार राति पनि नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.३ का नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घरमा बम विस्फोट भएको थियो। यसअघि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल, डा. रामशरण महतलगायतका नेताहरू चढेको सवारीसाधनमा पनि लगातार बम विस्फोट गराइएको थियो। लगातार कांग्रेस उम्मेदवारमाथि बम प्रहार भइरहँदा पनि सरकारको नेतृत्व गरिरहेको कांग्रेसले घटना न्यूनीकरण गर्न सकेको छैन।

घटना भएपछि कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति तथा केन्द्रीय कार्यालयका तर्फबाट कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्तालाई लक्षित गरी सुनियोजित तरिकाले शृंखलाबद्धरूपमा यस्ता घटनाहरू दोहोरिइरहनु दुःखद भएको भन्दै यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराइएको छ। कांग्रेसले यस्ता घटनाहरू लोकतन्त्र विरोधी तत्त्वहरूले गराएको भन्दै घटनामा संलग्न व्यक्तिको खोजी गरी तत्काल कारबाही गर्न पनि सरकारसँग माग गरेको छ।

दिनानुदिन बम विस्फोटको घटनाले सन्त्रास छाएको छ। कांग्रेस उम्मेदवार तथा कार्यकर्ताको हत्या नै गर्ने उद्देश्यले लगातार आक्रमण भइरहेको भन्दै कांग्रेसका एक केन्द्रीय सदस्यले भने– ‘हाम्रै नेतृत्वमा सरकार छ, हाम्रै उम्मेदवारमाथि दैनिक हमला भइरहेको छ, सरकार मौन बसेको छ।’ कांग्रेस उम्मेदवारमाथि लगातार आक्रमण भरहेको र कांग्रेस नेतृत्वको सरकारले यस्ता घटना रोक्न नसकेको जिज्ञाशा राख्दै घटना न्यूनीकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति के छ भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भन्नुभयो– ‘यस विषयमा प्रधानमन्त्रीले विज्ञप्ति निकालिसक्नुभएको छ त्यही हेर्नुहोस्।’

पछिल्लो समय बढ्दै गएको बम विस्फोटका घटनाहरू न्यूनीकरण हुन नसक्नुको मुख्य कारण मुलुकमा छुट्टै गृहमन्त्री नहुनुलाई मानिएको छ। गृहमन्त्रालय प्रधानमन्त्री स्वयम्ले राखेको र उहाँ चुनाव प्रचारप्रसारका क्रममा देश दौडाहमा भएकाले शान्ति सुरक्षामा ध्यान दिन नसक्नुभएको बताइएको छ।

विपक्षी दलका नेताहरूले पनि यही आरोप लगाइरहेका छन्। चुनावी सुरक्षाको गोप्य रणनीति, कार्य योजनाहरू बाहिरिएकाले पनि यस्ता आक्रमणहरू गर्न सजिलो भएको बताइएको छ। साथै, बम विस्फोटका घटनामा माओवादीका पूर्वलडाकूहरू तथा विप्लव माओवादी कार्यकर्ताहरू परिचालन भएको भन्दै उनीहरूले एमाले माओवादीको गठबन्धनका उम्मेदवारहरूलाई भन्दा सत्तासिन कांग्रेस उम्मेदवार लक्षित धेरै घटनाहरू गराएको आरोप कांग्रेसले लगाएको छ।

नेपाली कांग्रेसको नेता, उम्मेदवार एवं कार्यकर्ताको हत्या नै गर्ने उद्देश्यले लगातार बम आक्रमण भइरहेको भन्दै कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले लोकतन्त्र विरोधीहरूका यस्ता घृणित क्रियाकलापबाट नेपाली कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताका साथै कांग्रेसप्रति अगाध माया गर्ने आम मतदाता यी घटनाबाट रत्तिभर विचलित नहुने दावी गर्नुभयो।

साथै उहाँले कांग्रेसप्रतिको बढ्दो जनलहर देखेर तर्सिएका प्रतिपक्ष दल नै यो घटनामा सामेल भएको हुन सक्ने आशंका गर्दै घटनामा संलग्नको तत्काल खोजी गरी कडा सजाय दिन सरकारसँग माग गर्नुभएको छ। यस्ता घटनाले शान्तिपूर्ण एवं निर्वाध रूपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको भन्दै निर्वाचन परिचालन समितिका संयोजक खाँणले यस प्रकारका घटनाहरू पुनः नदोहोर्याउन चेतावनी दिनुभएको छ।

सुरक्षा चुनौती बढेको बढ्यै
ईश्वरराज ढकाल, काठमाडौं
सरकारले पहिलो चरणमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाए पनि दोस्रो चरणको निर्वाचन आउनै लाग्दा देशभर जताततै बम विस्फोटका घटना तीव्ररूपमा बढ्न थालेको छ।

दोस्रो चरणको निर्वाचन हुने जिल्लामा दैनिकजस्तो बम विस्फोट हुन थालेको छ। प्रहरीले विप्लव माओवादी र तराईका केही भूमिगत संगठनले बम विस्फोट गराएको आकलन गरे पनि बम विस्फोटको घटनामा संलग्नमध्ये केहीलाई पक्राउ गरेको छ। पछिल्लो तथ्यांकअनुसार हालसम्म विस्फोटका घटनामा संलग्न ५ सय १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। हातहतियार र विस्फोटक पदार्थसहित २ सय ३४ जनलाई पक्राउ गरेको छ।

त्यस्तै ४४ स्थानमा वम विस्फोटका घटना भएका छन्। प्रहरीले ५१ थान अवैध हातहतियार बरामद गरेको जनाएको छ। निर्वाचन उम्मेदवार र आमसभा लक्षित कार्यक्रममा बम विस्फोटका घटना बढ्न थालेपछि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको जनाएको छ।

पहिलो चरणको निर्वाचनमा भन्दा पनि दोस्रो चरणको निर्वाचनमा विस्फोटनका घटना बढेको प्रहरीले स्वीकार गरेको छ। प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले एकाध स्थानमा निर्वाचन बिथोल्न बम आक्रमण गरेको बताउनुभयो। पछिल्लो समयमा यस्ता घटना बढ्न थालेपछि राजधानीलगायत दोस्रो चरणको निर्वाचन हुने क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो।

प्रहरीले तराईमा भारतसँग सिमाना जोडिएको अधिकांश स्थानमा नेपाल र भारतको संयुक्त सुरक्षा फौजले गस्ती गरिरहेको जनाएको छ। ‘यस्ता घटना हुन नदिन दुवै देशका सुरक्षा फौजको गस्ती बढाएका छौं’ –डीआईजी नेउपानेले भन्नुभयो। बम विस्फोटका घटना बढ्न थालेपछि राजमार्ग, विभिन्न नाका र होटलहरूमा समेत चेकजाँच गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस्