पुनः मतदान गर्न टोली खटाइयो



धनवीर दाहाल, रुकुम
गत मंसिर १० गते स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ रत्न आधारभूत विद्यालय मतदान केन्द्र र आठबीसकोट नगरपालिका–११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्रमा यही १५ गते हुने पुनः मतदानका लागि बुधबार कर्मचारी तथा सुरक्षाकर्मी टोली खटाइएको छ।

बाँफिकोट गाउँपालिका ५ रत्न आधारभूत विद्यालय मतदान केन्द्रको ‘क’ बुथमा प्रतिनिधिसभाअन्तर्गत प्रत्यक्षतर्फ र आठबीसकोट नगरपालिका–११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्रको ‘ख’ बुथमा समानुपातिकतर्फको मतपेटिकामा एसिड राखिएपछि मतपेटिका आगलागी भएका कारण गत १० गते मतदान स्थगित भएको थियो। सोही दुई वटा मतदान केन्द्रका दुई वटा बुथमा मंसिर १५ गते पुनः मतदान हुँदै छ।

निवार्चन आयोगको निर्णयअनुसार १५ गते पुनः मतदान हुने भएपछि बुधबार ती दुई मतदान केन्द्रमा निर्वाचन टोली खटाइएको हो। आठबीसकोटको गत्तासैना मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको नेतृत्वमा र बाँफिकोट रत्न आधारभूत विद्यालय मतदान केन्द्रमा सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले नेतृत्वमा टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिमले जनाएको छ। ती दुई मतदान केन्द्रको पुनः मतदानका लागि सबै तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो।

पुनः मतदानका लागि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। जिल्लास्तरबाट म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली थप पठाइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्