एकै दिन पुँजी बजारका लगानीकर्तालाई १२ अर्ब आम्दानी



काठमाडौं, (नेस)
साताको तेस्रो दिन नेप्से परिसूचक १० दशमलव १२ अंकले बढेको छ।१ हजार ५ सय १३ दशमलव ७४ अंकबाट शुरू भएको बजार १ हजार ५ सय २३ दशमलव ८६ को बिन्दुमा पुगेर बन्द भएको हो।

आइतबार २१ दशमलव शून्य ५ अंकले बढेको बजार परिसूचक सोमबार शून्य दशमलव ६ अंकले ओरालो लागेको थियो। मंगलबार कारोबारमा आएका १० मध्ये ७ समूह उकालो लागेपछि समग्र बजार सकारात्मक भएको हो।

बजार परिसूचक बढ्दा मंगलबार समग्र शेयर बजारको आकार (बजार पुँजीकरण) १२ अर्ब रुपियाँले बढेको छ। सोमबार समग्र बजार पुँजीकरण १७ खर्ब ५८ अर्ब रहेकोमा मंगलबार १७ खर्ब ७० अर्ब पुगेको छ।

मंगलबार नेप्से परिसुचक बढ्दा कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार बजारमा ५८ करोड ४६ लाख ९३ हजार ८ सय ८९ रुपियाँको कारोबार भएको छ। कुल १ सय ६३ कम्पनीका १० लाख २७ हजार २ सय ४ कित्ता शेयर किनबेच भए। सोमबार बजारमा ६६ करोड ९८ लाख ९४ हजार २ सय १२ रुपियाँको शेयर किनबेच भएको थियो।
मंगलबार कारोबार शुरू भएको एक घण्टासम्म ओरालो लागेको थियो। त्यसपछि निरन्तर सुधारमा रहेको बजारले अन्तिम १५ मिनेट तीव्ररूपमा ५ अंकले उक्लिएको थियो।

प्रतिक्रिया दिनुहोस्