अधिकांश वाणिज्य बैंकको प्रतिशेयर आम्दानी न्यून, अझै १५ बैंकले चुक्ता पुँजी पुर्याउनै सकेनन्



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको प्रतिशेयर आम्दानी औसत देखिएको छ।

पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानीका आधारमा नेपाल बैंक लिमिटेड सबैभन्दा उत्कृष्ट देखिएको छ। नेपाल बैंकको प्रतिशेयर आम्दानी ४८ रुपियाँ ३२ पैसाले बढेको छ भने सोही अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको ४८ रुपियाँ १८ पैसा र नबिल बैंकको ४१ रुपियाँ १ पैसा बढेको छ। प्रतिशेयर कम आम्दानी गर्नेमा भने मेगा बैंक नेपाल रहेको छ। टुरिजम डेभलपमेन्ट बैंकसँग गाभिने प्रक्रियामा रहे पनि मेगा बैंकको अवस्था अन्यको भन्दा कमजोर देखिएको छ। मेगा बैंकको प्रतिशेयर आम्दानी १ रुपियाँ ७७ पैसामात्रै रहेको छ।

यस अवधिमा अधिकांश बैंकको नाफाको वृद्धिदर भने घटेको छ। पहिलो त्रैमासमा १२ वटा वाणिज्य बैंकले नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको छन्। सबैभन्दा बढी खुद मुनाफा भने सिभिल बैंकले गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४५ लाख रुपियाँ खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको समीक्षा अवधिमा ११ करोड ३३ लाख रुपियाँ मुनाफा कमाएको छ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षभित्र सबै बैंकलाई चुक्ता पुँजी ८ अर्ब रुपियाँ पुर्याउन समयावधि तोकेको थियो। तर, सो समयमा अधिकांश बैंकको चुक्ता पुँजी ८ अर्ब नपुग्ने देखिएपछि राष्ट्र बैंकले उक्त समय सीमा ६ महिना थप गरेको थियो। थपिएको उक्त समयावधि सकिन ३ महिना बाँकी रहँदा १३ वटा बैंकले लक्षित चुक्ता पुँजी पुर्याइसकेका छन्। कतिपय बैंक अझै पनि मर्जर, हकप्रद, बोनस शेयर जारी गरेर पुँजी पुर्याउने क्रममा रहेका छन्।

पहिलो त्रैमासिक विवरणका आधारमा कृषि विकास बैंकको सबैभन्दा धेरै १२ अर्ब ५२ करोड रुपियाँ चुक्ता पुँजी रहेको छ। दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक १० अर्ब ६२ करोड रुपियाँ र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक ८ अर्ब ५८ करोड रुपियाँ चुक्ता पुँजी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्