गोल्डेन बड र श्रमशील सेमिफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
गोल्डेन बड र श्रमशील १२औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

पेप्सीकोला टाउन प्लानिङको मैदानमा भएको क्वार्टरफाइनलमा गोल्डेन बडले साविक उपविजेता न्यु स्टार पोललाई २–० गोलले पराजित गर्यो। विजेताका विजय थापा मगर र अशिम थापा मगरले गोल गरे। श्रमशीलले हाइली क्रिएटिभलाई सडन डेथ (१०–९) मा हरायो।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगितामा एकलव्य र डिफेन्डिङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी पनि सेमिफाइनलमा पुगे।

एकलव्यले विद्या विकासलाई टाइब्रेकरमा पाखा लगायो। करियरले ओरिएन्टलमाथि ५–० को सहज जित दर्ता गर्यो। करियरको जितमा अभय चौधरी, विशाल राउत, सविन कोइराला, ओमवीर कुलुङ र साहिल बस्नेतले १–१ गोल योगदान गरे।

सेमिफाइनलमा करियरको भेट श्रमशीलसँग हुनेछ भने एकलव्यले गोल्डेन बडको सामना गर्नेछ। सेमिफाइनल बिहीबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्