चुनावी घोषणापत्रको किन हुँदैन कार्यान्वयन ?



प्रधिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा हुने निर्वाचनको लागि राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचनमा प्रभाव पार्ने गरी राजनीतिक दलहरुले आ–आफ्ना चुनावी घोषणापत्र पनि जनताको बीचमा लिएर गएका छन् । निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरुले लिएर गएका एजेन्डा विगतका भन्दा धेरै फरक छैनन् । पुरानै एजेन्डासहित रानजीतिक दलका नेताहरु जनताको घरदैलोमा पुगेका छन् । विगतकै जस्तो सडक निर्माण गर्ने, खानेपानीको समस्या समाधान गर्ने, बिजुली बाल्ने पुराना एजेन्डा लिएरै भोट माग्न राजनीतिक दलका उम्मेदवाहरु व्यस्त छन् ।

विगतको निर्वाचनमा पनि राजनीतिक दलका उम्मेदवारहरुका आश्वासनमा भर परी जनताले भोट दिएर उनीहरुलाई विजयी गराएका हुन् । तर निर्वाचित भएपछि गाउँसमेत नफर्किएका नेताहरु पुनः उम्मेदवार बनी उधारो आश्वासन लिएर जनताको बीचमा भोट माग्ने काममा जुटेका छन् । मतदाता एकपटक भोट हालेर पाँच वर्षसम्म उम्मेदवारहरुले गरेको बाचा पूरा हुन्छ कि भन्ने आशमा बसेका हुन्छन् । तर उम्मेदवाहरु भने जितेर गएपछि विकास त टाढैको कुरा भयो, जनतालाई दुःख–पीडा पर्दा सहयोग गर्नसमेत हिचकिचाउने गरेका छन् ।
निर्वाचनका लागि राजनीतिक दलहरुले सार्वजनिक गरेका चुनावी घोषणापत्र निकै आकर्षण खालका छन् । सोही अनुसार काम भए देशमा विकासले गति लिनेमा आशंका गर्ने ठाउँ छैन । तर राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणापत्रअनुसार अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेको देखिँदैन । ती घोषणापत्रहरु कागजीरुपमा मात्र सीमित हुने गरेको पाइन्छ । निर्वाचित भएर जानेहरुले आफ्ना एजेन्डाहरु बिर्संदै जाने र निर्वाचनमा पराजित हुनेले पनि जाँगर नै नगर्ने प्रवृत्ति राजनीतिक दलहरुभित्र व्याप्त देखिन्छ । जनतालाई विकासको सपना देखाउने तर नीति–निर्माण गर्ने ठाउँमा पुगेर पनि सिन्को नभाँच्ने राजनीतिक दलका उम्मेदवारहरुलाई जनताले हालै सम्पन्न निर्वाचनमा कसरी मतदान गरे र अब २१ गते हुने निर्वाचनमा पनि कसरी मतदान गर्लान् ? जनताको मतबाट नै नीति–निर्माण गर्ने ठाउँमा पुग्ने राजनीतिक दलका उम्मेदवारहरुले आफूले गरेको बाचा एवम् प्रतिबद्धताहरु किन कार्यान्वयन गर्दैनन् ? के जनतासँग गरेको प्रतिबद्धता कार्यान्वयन गर्नु राजनीतिक दलका उम्मेदवारहरुको दायित्व र कर्तव्यभित्र पर्दैन र ? के सोझा जनतालाई झुक्याएन सकिन्छ भन्ने मानसिकता बढ्दै गएको हो ?

निर्वाचनमा जनताको बीचमा जाँदा बडेमानका आश्वासन र विकासे सपना लिएर जाने तर जितेपछि नातावादमा बढी रमाउने उम्मेदवारहरुलाई जनताले सचेतपूर्वक मतदान गर्नुपर्छ । होइन भने एक दिन मतदान गरेर पाँच वर्ष पछुताउनुपर्ने अवस्था नआउला भन्न सकिन्न । अहिले जनतालाई आश्वासन र विकासे सपनाका ठूला–ठूला भाषण दिनेभन्दा पनि जनताको दैनिक आवश्यकतासँग जोडिएका विषयलाई सम्बोधन गर्दै जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रम गर्नेतिर राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्