“जनतालाई संसदमा सुत्ने र घुर्ने होइन, बाघजस्तै गर्जिने सांसद चाहिएको छ”



प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुँदै छ। निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन्। निर्वाचनमा आ–आफ्ना एजेन्डा लिएर राजनीतिक दलहरु मतदाताको घरदैलोमा पुगेका छन्। निर्वाचनमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। काठमाडांैको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ बाट वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता एवं केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ रहनुभएको छ। विगतमा संसद् र स्थानीय विकास राज्यमन्त्री हुँदा लोकप्रिय काम गरेर जनताको मन जित्न सफल हुनुभएका श्रेष्ठ यसपटक पनि ९ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ।

जनताको हरेक दुःख–सुखमा साथ दिँदै आएको बताउँदै उम्मेदवार श्रेष्ठले ९ नम्बर निर्वाचन क्षेत्रको विकासको एजेन्डा पनि अगाडि सार्नुभएको छ। आगामी पाँच वर्षेभित्र गर्न सकिने एजेन्डासहित श्रेष्ठ मतदाताको घरदैलोमा भोट माग्न व्यस्त हुनुहुन्छ। निर्वाचनको प्रचार–प्रसारमा रहनुभएका श्रेष्ठसँग निर्वाचनमा विजयी भएपछि पाँच वर्षको अवधिमा गर्ने कामको प्राथमिकता के–के हुन् ? तपार्इंलाई नै मतदाताले भोट दिनुपर्ने कारणलगायतका विषयमा केन्द्रित भएर उम्मेदवार कृष्णगोपाल श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र मधुसूदन रायमाझीले गरेको कुराकानी ः


तपाईं काठमाडौं ९ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार हुनु हुन्छ। तपाईंलाई नै मतदाताले भोट दिनुपर्ने कारण के छ ?

चुनावमा कुन पार्टीलाई जिताउँदा देशको कल्याण हुन्छ भन्ने कुरा मतदाताले बुझेका छन्। देशको कल्याण भयो भने सबैको कल्याण हुन्छ। अहिले देशको कल्याण गर्ने शक्ति भनेको वाम गठबन्धन नै हो। वाम गठबन्धनको म साझा उम्मेदवार हुँ। हिजोको स्थितिमा हामीले जसरी ९ नम्बर निर्वाचन क्षेत्रको जनताका पक्षमा समग्र विकासका लागि काम थालनी गरेका थियौं, त्यसबाट यस निर्वाचन क्षेत्रका जनता हामीसँग निक्कै प्रभावित भएको पाएका छौं। त्यसैले यो हाम्रो प्रभावित क्षेत्र पनि हो। विगतमा विभाजित वाम शक्ति अहिले एकीकृत भएको छ। त्यही नै हामीले भोट पाउने मुख्य आधार हो।

पटक–पटक अरू कसैले त्यो ठाउँ लिइरहेको र धेरैपटक मतदाताले अरूलाई हेरिसकेका छन्। यसपटक कृष्णगोपाललाई हेर्ने जनमत व्यापक छ। कृष्णगोपाललाई काम गर्ने मौका नै दिएनांै भनी स्वयं जनता भनिरहेका छन्। ऊ पटक–पटक काम गर्ने जिम्मेवारीबाट बाहिर गयो। यसपालि काम गर्ने ठाउँमा उसलाई पठाआंै भन्ने जनमत देखिएकाले पनि यसपटक यहाँका मतदाताले मलाई नै भोट दिन्छन् भन्ने कुरामा म ढुक्क छु। ९ नम्बर निर्वाचन क्षेत्रमा माटो चिनेको, भूगोल चिनेको, जनताको दुःख–सुखमा साथ दिँदै आएको, विकासको खाका कोर्न सक्ने मात्र होइन ठाउँमा पुग्दा कार्यान्वयन गर्न सक्ने इच्छाशक्ति भएकाले पनि मलाई यसपटक मतदाताले मतदान गर्छन् जस्तो लाग्छ।

निर्वाचनमा के–के छन् त तपार्इंको चुनावी एजेन्डा ?

९ नम्बर निर्वाचन क्षेत्र, पर्यटकीय, धार्मिकस्थल, कृषिलगायतको अपार सम्भावना बोकेको क्षेत्र हो। पर्यटकीय क्षेत्रको दृष्टिकोणले पनि यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ हो। अहिलेसम्म यहाँको पर्यटन क्षेत्रको विकासमा कसैले पनि ध्यान दिन सकेका छैनन्। नेताहरुले सपना देख्नुपर्यो र सपना कार्यान्वयन गर्न प्रतिबद्ध भएर लाग्नुपर्यो। योजना र चिन्ता हुनुपर्छ। मैले लिएर गएको एजेन्डाबाट जनता प्रभावित हुनुभएको छ। अहिलेसम्म अरू उम्मेदवाहरुले मैलेजस्तो एजेन्डा लिएर जान सकेका छैनन्।

पर्यटन र कृषि विकास गर्ने सम्भावना बोकेको क्षेत्र पनि हो। लप्सी, गोलभेंडाको पकेट क्षेत्रको राम्रो सम्भावना रहेको छ। विभिन्न खालको फलफूल खेती र कृषिलाई आधुनिकीकरण गरेर पनि यस क्षेत्रको जनताको जीवनस्तर माथि उकास्न सकिन्छ। पर्यटकीय क्षेत्रको कुरा गर्ने हो भने कीर्तिपुरको सोह्रखुट्टेमा काटिएका काजी कालु पाँडेको टाउको गोरखा देखिने ठाउँमा राख्नू भन्ने पृथ्वीनारायण शाहको आदेशबमोजिम दहचोकमा राखिएको छ। यसलाई हामीले अहिलेसम्म कुनै प्रचार गर्न सकेको छैनौं।

त्यसलाई व्यापक प्रचार–प्रसार गरेर विकास गर्ने अवस्था सिर्जना गर्छु। त्यस स्थानलाई इतिहासको अवलोकन गर्ने गन्तव्यको रूपमा विकास गर्ने एजेन्डा अगाडि सारेको छु। दहचोकको इन्द्रदह पनि ऐतिहासिक क्षेत्र भएर पनि ओझेलमा परेको छ। त्यो पनि बेवारिसे अवस्थामा बसेको छ। यसको विकास गरेर स्थानीय जनताको आर्थिक विकासमा टेवा पुग्ने योजना अगाडि सारेको छु। पर्यटन उद्योगमार्फत जनताको जीवनस्तर उकास्न सकिन्छ। सबै ठाउँमा सडक पुगेको छ। तर, सडकको सुधार र गुणस्तरीयता कायम हुनसकेको छैन। सडक निर्माणसँग गुणस्तरीयतामा सुधार गर्ने पनि भूमिका निर्वाह गर्ने एजेन्डा अगाडि सारेको छु।

अहिले विकासको नाममा शुरूमै निर्माणकार्य अगाडि बढाएर पछिमात्र योजना निर्माण गर्ने गलत परम्पराको विकास भयो। अब हचुवाको भरमा होइन गुरुयोजना निर्माण गरेर मात्र विकास निर्माणको काम अगाडि बढाइनेछ। सडक कस्तो बनाउने कहाँदेखि कहाँसम्म बनाउने ? ढल व्यवस्थापनको काम कसरी गर्ने, खानेपानीको सुविधा कसरी पुर्याउने ? कहाँ घर निर्माण गर्न नपाइने हो, कहाँ पाइने हो पहिचान गरेर मात्र विकास निर्माणको काम अगाडि बढ्छ।

कंलकी, बलम्बु तीनथाना काठमाडौंबाट बाहिर निस्कने राजधानीसँग जोड्ने मुख्य सडक निर्माणमा ढिलासुस्ती गर्दा धुँवा र धूलोका कारण आक्रान्त बनेका छन्। अझ बढी त्यस क्षेत्रका जनता अत्यन्तै पीडित छन्। अर्को कलंकीमा निर्माण भइरहेको अन्डरग्राउन्ड निर्माणकार्यमा ढिलाइ भइरहेको छ। कलंकीबाट थानकोट जान निकै कष्टकर हुँदै आएको छ। जनताले असाध्यै दुःख पाएका छन्। यो समस्या ९ नम्बर निर्वाचन क्षेत्रको मात्र समस्या होइन देशभरका जनताले पाएको सास्ती हो। यो राष्ट्रिय समस्या नै भइसकेको छ। त्यसैले यसलाई पनि मैले सबैभन्दा पहिलो प्राथमिकतामा राखेको छु।

भीमढुंगामा थाप्ले भन्ने ठाउँ छ। थाप्ले काठमाडौंको टाउको जस्तो छ। स्वयम्भुबाट काठमाडौं हेर्दा त कस्तो सुन्दर देखिन्छ भने त्यो थाप्लेबाट हेर्ने हो भने झन् कति राम्रो देखिन्थ्यो होला ? पूर्वतिर हेर्दा उपत्यकाको तीनवटै शहर देखिन्छ। पश्चिमतिर हेर्दा धादिङको फाँट सबै देखिन्छ। प्राकृतिकरूपमा निकै मनमोहक र सेटिङ भएको ठाउँको अझै विकास हुन सकेको छैन। भोलिको दिनमा होमस्टेदेखि लिएर उद्योग व्यवसायीलाई आकर्षण गरेर रिसोर्ट सञ्चालन, भ्यु टावर निर्माणको काम गरेर काठमाडौंभित्रैबाट वान नाइटका लागि उपयुक्त गन्तव्य बनाउन म प्रतिबद्ध भएर लाग्ने एजेन्डा लिएर मतदातासमक्ष पुगिरहेको छु।

निर्वाचन प्रचार–प्रसारको क्रममा जाँदा जनताको मागचाहिँ के पाउनुभयो ?

जनताले मुख्य गरी सडक, खानेपानी, ढल व्यवस्थापन, रोजगारीलगायतको समस्यालाई नै उठाएका छन्। शिक्षा, स्वास्थ्यको कुरालाई पनि प्राथमिकता दिएर उठाउनुभएको छ। निर्वाचन क्षेत्रभित्र जे–जति समस्याको रूपमा आएको छ। यसलाई समाधान गर्न सामूहिकरूपमा नै निकास निकाल्ने मैले सोचेको छु। जन सहभागिताबाटै योजना निर्माण गर्ने र त्यसको कार्यान्वय पनि जन सहभागिताबाटै सम्पन्न गर्नेछु।

विकासको प्राथमिकता कसरी निर्धारण गर्नुहुन्छ ?

जनताले भोग्दै आएको समस्यालाई नै पहिलो प्राथमिकता दिएर काम गर्ने योजना बनाएको छु। कलंकीदेखि थानकोटसम्मको सडक विस्तारको नाममा जनताले ठूलो सास्ती पाउँदै आएका छन्। ९ नम्बरबाट प्रारम्भ भएर १० नम्बरमा पुगेर उक्त सडक समापन भएको छ। कंलकी, तीनथाना, बलम्बु काठमाडौंबाट बाहिर निस्कने राजधानीसँग जोड्ने मुख्य सडक निर्माणमा ढिलासुस्ती गर्दा धुँवा र धूलोका कारण आक्रान्त बनेका छन्। अझ बढी त्यस क्षेत्रका जनता अत्यन्तै पीडित छन्। अर्को कलंकीमा निर्माण भइरहेको अन्डरग्राउन्ड निर्माणकार्यमा ढिलाइ भइरहेको छ। कलंकीबाट थानकोट जान निकै कष्टकर हुँदै आएको छ। जनताले असाध्यै दुःख पाएका छन्। यो समस्या ९ नम्बर निर्वाचन क्षेत्रको मात्र समस्या होइन देशभरका जनताले पाएको सास्ती हो। यो राष्ट्रिय समस्या नै भइसकेको छ। त्यसैले यसलाई पनि मैले सबैभन्दा पहिलो प्राथमिकतामा राखेको छु।

खेलकुद क्षेत्रको विकासका लागि पनि केही सोच्नुभएको छ कि ?

सबैभन्दा पहिले त मैले नैकापमा एउटा सुन्दर फुटबल ग्राउन्ड बनाउन पहल गर्छु। केही समयअघि नैकापमा भएको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता हेर्न जाँदा त्यहाँका स्थानीय जनतामा देखेको फुटबल क्रेज हेरेपछि त्यसबेलै मेरो दिमागमा यो कुराले जरा गाडिसकेको थियो। युवालाई कुलतबाट जोगाउन खेलकुदको माध्यबाट नै उनीहरुलाई अगाडि बढाउनुपर्छ। खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियरूपमा चिनाउने काम गर्छ। खेलाडी भनेका राष्ट्रका सम्पत्ति हुन्। स्थानीय जनताको स्वास्थ्यलार्ई समेत ध्यानमा राखेर नेपाली सेनासँग समन्वय गरी टँुडिखेलभित्रै विभिन्न खेलकुद गतिविधि र व्यवस्थित व्यायाम गर्ने वातावरण मिलाउँछु।

वाम गठबन्धनले नै जित्ने आधारबारे केही बताइदिनुहुन्छ कि ?

हरेक निर्वाचन क्षेत्रको स्पष्ट भिजनसहित अगाडि आएकाले वाम गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुको अर्को विकल्प जनतासँग छैन। युवा–युवती मात्र नभई देशभरिका बुज्रुकले भोट दिने ठाउँ भनेकै नेकपा एमालेसहितको वाम गठबन्धन हो। जसले शुरूदेखि नै वृद्धको सम्मान गरेको छ। हामीले वृद्धभत्तालाई एक सय रुपियाँबाट यो अवस्थासम्म आइपुग्दा २ हजार पुर्याइसकेका छौं। अहिले हामीले ५ हजार मात्र भनेका छौं। सबै वृद्धवृद्धा यस विषयमा जानकार छन्। बहुमतको सरकार हुँदा २ वर्षमा के गर्न सक्छौं ? ५ वर्षमा के गर्न सक्छौं भन्ने स्पष्ट खाका बनाइसकेका छौं। हामीले १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर बनाउने लक्ष्य लिएका छौं। जुन सामान्य कुरा होइन।

भूमिगत कालदेखि खुला वातावरणमा पनि यो क्षेत्रका जनतासँग सुख–दुःखका साथ दिएर हिँडेको मान्छे हुँ म। त्यस कारण यस क्षेत्रका लागि म अपरिचित व्यक्ति होइन। संसद्मा सुत्ने मान्छेलाई पटक–पटक प्रतिनिधि बनाएर हामीले गल्ती गर्यौं भनेर अहिले यहींकै मतदाता भनिरहेका छन्। अब संसद्मा सुत्ने र घुर्ने होइन, जनताको समस्यालाई लिएर बाघजस्तै गर्जिने प्रतिनिधिलाई जिताएर पठाउने भन्दै यहाँको जनताले लिएको संकल्पबाट म निक्कै प्रोत्साहित भएको छु। म जनताको यो संकल्पलाई विगतका प्रतिनिधिले जस्तो त्यतिकै खेर जान दिन्न। यो जनताप्रतिको मेरो पनि संकल्प हो।

तपाईंको निर्वाचन क्षेत्रमा खानेपानीको समस्या पनि धेरै छ भन्ने गुनासो आएको छ नि ?

हो, खानेपानीको यहाँ ठूलै समस्या छ। चन्द्रागिरी र मातातीर्थको पानीको मुहान सबै सुकिसकेको छ। अराजकताका कारण खानेपानीको मुहान धमाधम सुक्दै गएका छन्। पानी सम्बन्धी कानुन छैन। पानी भएको ठाउँमा ४ आना जग्गा किनेर खुलेआमरूपमा बोरिङ हुँदै आएको छ। त्यहाँबाट पानी निकालेका ट्याङ्करबाट बेच–विखन हुँदै आएको छ। असीमित खानेपानीको दोहन भइरहेको छ। यसलाई जसरी भए पनि व्यवस्थित गराउने मेरो योजना छ।

निर्वाचन क्षेत्रअन्तर्गत रहेको वडाको विकास गर्ने के योजना सार्नुभएको छ ?

निर्वाचन क्षेत्रको १२ नम्बर वडामा पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो। टेकु दोभानदेखि मचलीसम्म जाँदा चार धाम जानुपर्दैन। यो कसैलाई थाहा छैन। त्यहाँभित्रै चार धाम छ। तर, त्यहाँ अतिक्रमणले अस्तव्यस्त बनेको अवस्था छ। अब सरकारको तर्फबाट नै एरिया कहाँसम्म हो ? व्यक्तिगतरूपमा क–कसले दुरुपयोग गरेका छन् ? टेकुमा धार्मिक पुरातात्त्विक सम्पदालाई कसरी आकर्षण गर्न सकिनेछ। १२ नम्बर वडामा नै १२ वर्षे इनार रहेको छ।

त्यसको आवश्यक अनुसन्धान गर्नु बाँकी नै छ। १२ नम्बर वडामा जति पनि पुरातात्त्विक चोक बहालहरु छन् यस्ता खालका मठ–मन्दिर देवालय सम्पदालाई धार्मिक पवित्रस्थललाई भक्तजनको आकर्षणको केन्द्र बनाउन सकिन्छ। चोक–चोकमा अव्यवस्थितरूपमा फोहोरमैला फालिँदै आएको छ। फोहरले कुरूप बनेका ठाउँहरुलाई सुन्दरतामा रूपान्तरण गर्न सकिन्छ। यस क्षेत्रमा गल्ली र टनेलहरु धेरै छन्। ती टनेलमा सुरक्षाको समस्या छ। विभिन्न खालको अप्रिय घटना घटिरहन्छन् भन्ने गुनासो छ। वडा तहबाट नै लाइटिङ सिस्टम, सुरक्षा निकायकले ध्यान दिने गरी सिसी क्यामेरामार्फत सुरक्षा दिने योजना छ। यसबाहेक शहरलाई स्वच्छ सफा र सुन्दर बनाउने कार्यमा मेरो विशेष ध्यान हुनेछ।

त्यसै गरी १२ नम्बर वडामा भीमसेन थापाको दरबारलाई व्यवस्थित बनाउनेछु। १२ र १४ वडाको बीचमा कुलेश्वर महादेवस्थान छ। त्यो पनि पुरातत्त्व विभागअन्तर्गत नै रहेको छ। त्यहाँ गुठी निर्माण गर्न अहिलेको सरकारले अवरोध गरेको छ। भोलिका दिनमा सहजरूपमा निर्माण गर्ने वातावरण मिलाउने छु।

यहाँकै निर्वाचन क्षेत्रमा ऐतिहासिक धराहरा ढलेको वर्षौं बितिसक्दा पनि किन ठडिन सकेको छैन ?
धरहरा हाम्रो संस्कृतिको धरोहर हो। यसको निर्माणमा कस्को कारणले ढिलाइ भइरहेको हो तुरुन्तै बुझेर काम अगाडि बढाउनेछु। यसको पुनर्निर्माण गर्नै पर्छ। अब निर्वाचन सम्पन्न भएपछि धरहरा निर्माणले गति लिन्छ। यसको नजिकैै रहेको ऐतिहासिक सुन्धारा पनि सुकिसकेको छ। सुक्नुको मूल कारण सञ्चयकोष भवन निर्माण गरेपछि हो। सञ्चकोष बनाउँदा त्यहाँका बासिन्दाले विचार नै गरेनन्। पानी आउने मुहानभन्दा पनि तलसम्म जग हाल्न दिएर सुन्धारामा आउने पानीको मुहानै सुक्यो। सुन्धारा अहिले बेवारिसे अवस्थामा छ। अब सुन्धारामा जति पनि धारा छन् ती धाराहरुमा अन्डरग्राउन्ड पाइप बिछ्याएर पानी आउने व्यवस्थाका लागि मेरो पहलकदमी हुनेछ। सुन्धारा काठमाडौंको शोभा पनि हो। तसर्थ यसको सुन्दरता समाप्त गर्नुहुँदैन। यस क्षेत्रको २२ वडा निर्वाचन क्षेत्रमा संकटा महांकाल, ऐतिहासिक धार्मिक आस्थाका मन्दिरहरु रहेका छन्। टेवहालको मन्दिरको अवस्था पनि अत्यन्तै कुरूप भएको छ। टेवहालको मन्दिरको रूपमा टेवाहल संकटाको वरिपरि घर छन्। अहिले त्यहाँ संकटाको आफ्नै पहिचान छ। त्यसलाई हेर्न लायकको रूपमा विकास गर्ने पनि मेरो योजना छ।

अर्को कुरा भनेको मेरो क्षेत्रमा नपरे पनि काष्ठमण्डप राजधानीको पहिचान हो। यसको निर्माण अहिलेसम्म शुरू हुन नसकेका कारण म अत्यन्तै चिन्तित छु। चुनाव जितेर गएँ भने यसलाई पनि प्राथमिकतामा राख्नेछु।

काठमाडौं कंक्रिटको जंगल बनिसकेको छ। सबै खुला ठाउँ अतिक्रमण भइरहेका छन्।

टुँडिखेलजस्ता खुला ठाउँमा समेत विभिन्न भवन ठडिरहेका छन्। यसमा तपाईंको धारणा के छ ?

राजधानीको अहिले खुला स्थानको रूपमा रत्नपार्क र खुलामञ्च मात्र बाँकी छ। राजनीतिक कुदृष्टिका कारण हरियाली मासेर अहिले कुरूप बनाइएको छ। अहिले पैसा उठाएर खाने, गाडीको पार्किङ, कवाडी सामान राख्ने थलोको रूपमा रत्नपार्क परिणत भएको छ।

भूकम्पबाट भत्किएका ढुंगामाटो खुलामञ्चमा ल्याएर राखिएको छ। सैनिक मञ्च सेनाको नाममा छ। वर्षमा खास–खास प्रयोजनका लागि मात्र प्रयोग हुन्छ। सबै कुरालाई व्यवस्थापन गर्न स्थिर र बलियो सरकार चाहिन्छ। एउटा इच्छाशक्ति र आँट भएको सरकार चाहिएको छ। काठमाडौंको जनमतले स्वास्थ्यको दृष्टिकोणले खुला स्थान र शारीरिक सुगठनका लागि व्यायाम गर्ने ठाउँ छैन। सैनिक मञ्च, भद्रगालीको दायाँ–बायाँको जग्गा, गणेशमान पार्क अहिले रोइरहेको छ। रत्नपार्कमा धरैथरी बनाउने प्रस्ताव आएको छ। खुलामञ्चको अस्तित्व कुनै हालतमा समाप्त हुन दिँदैनां।

राजधानीमा पार्किङको ठूलो समस्या छ। तपाईं निर्वाचित भएको अवस्थामा कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हो, पार्किङको समस्या जटिल बन्दै गएको छ। यसबारेमा गम्भीर छु। न्युरोडमा व्यवसायीको पेसाको सुरक्षाका साथै पार्किङको समस्या पनि समाधान गर्नुपर्नेछ। ठूलो व्यापारिक केन्द्र भएकाले कुन–कुन एरियामा गाडी प्रवेश र निषेध भन्ने विषयमा गम्भीर गृहकार्य गरी एउटा व्यवस्थित योजना बनाउन लगाउनेछु।

अन्तिममा छुटेका केही कुरा छन् कि ?

बल्खुचोकदेखि गाङखेलसम्म र मगरगाउँदेखि शिवनगरसम्मका बासिन्दा ढलको उचित व्यवस्था नहुँदा पीडित हुँदै आएका छन्। पानी पर्दा बालबालिका नै डुब्ने अवस्था छ। अहिले त्यहाँको समस्या समाधान गर्नका लागि त्रिविले निर्माण गरेको ढलमा जोड्ने गरी निकास दिने सोच बनाएको छु।

 

प्रतिक्रिया दिनुहोस्