शेयर बजारको उत्साह टिकेन



काठमाडौं, (नेस)
प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन भएको दोस्रो दिन नेप्से परिसूचक शून्य दशमलव ६ अंकले घटेको छ। साताको दोस्रो दिन शेयर बजार १ हजार ५ सय १४ दशमलव ३४ अंकबाट शुरु भएको बजार १ हजार ५ सय १३ दशमलव ७४ को बिन्दुमा पुगेर बन्द भएको हो।

३२ जिल्लामा निर्वाचन भएको दिन आइतबार बजार परिसूचक २१ दशमलव शून्य ५ अंकले बढेको थियो। एक साता सकारात्मक रहेको शेयर बजार परिसूचक सोमबार भने ओरालो लागेको हो।
सोमबार नेप्से परिसूचक घट्दा कारोबार रकममा भने सुधार आएको छ।सोमबार बजारमा ६६ करोड ९८ लाख ९४ हजार २ सय १२ रुपियाँको कारोबार भएको छ। यसैक्रममा १ सय ५९ कम्पनीका १२ लाख ९८ हजार २ सय ८८ कित्ता शेयर किनबेच भए। आइतबार बजारमा ५९ करोड ७५ लाख १४ हजार ७२ रुपियाँको शेयर किनबेच भएको थियो। निर्वाचनको समयमा बढेको खरिद चापका बाबजुद परिसूचक ओरालो लागेको हो।

शेयर बजार सोमबार कारोबार शुरु भएको आधा घण्टामै घटेको थियो। तर, त्यो गिरावट १२ बजेसम्म पनि टिक्न सकेन। त्यसपछि स्थिर रहेको बजारले अन्तिम १५ मिनेट सम्हालिन नसकेको हो। नेप्से परिसूचक घट््दा सोमतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य १ अंकले घटेर ३ सय १९ दशमलव १४ अंकमा पुगेको छ।

सोमबार शेयर बजारमा कारोबारमा आएका नौवटा समूहमध्ये ५ समूहमा गिरावट आए। घट्नेमा होटल समूह सर्वाधिक १ दशमलव ६७ प्रतिशतले घट्यो। त्यस्तै ट्रेडिङ समूह १ दशमलव ५ प्रतिशतले घट्दा बीमा र विकास बैंक समूह क्रमशः शून्य दशमलव ४ र शून्य दशमलव २८ प्रतिशतले घटे।

लघुवित्त समूहमा शून्य दशमलव १५ र बैंकिङ समूहमा पनि शून्य दशमलव शून्य ८ अंकको गिरावट आयो। सोमबार बढ्नेमा जलविद्युत्, वित्त, र अन्य समूह रहे। ती समूह क्रमशः १ दशमलव २१, शून्य दशमलव ५५ र शून्य दशमलव ४८ प्रतिशतले बढे। अंकका आधारमा होटल समूह सर्वाधिक ३५ दशमलव २३ अंकले घट्दा जलविद्युत् समूह २४ दशमलव १ अंकले उकालो लागे। बीमा समूहमा पनि ३२ दशमलव ५३ अंकको गिरावट आयो।

सोमबार चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीका ६ करोड ४८ लाख रुपियाँभन्दा बढिको शेयर किनबेच भएको छ। त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि करिब ४ करोड ६० लाख रुपियाँ बराबरको कारोबार भएको छ।

सोमबार सबैभन्दा धेरै कमाउनेमा कालिका माइक्रो क्रेडिट विकास बैंकका लगानीकर्ता रहे। बैंकका शेयरधनीले सर्वाधिक ९ दशमलव १४ प्रतिशत कमाउँदा राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले सबैभन्दा धेरै ६ दशमलव ३ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्