मत कम खसेकोमा ध्यानाकृष्ट



प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार सो प्रतिशत भनेको २० लाख ७४ हजार ७ सय ६४ हो । कुल मतदाता ३१ लाख ९१ हजार ९ सय ४५ रहेकोमा त्यसको ६५ प्रतिशतले मात्र भोट हालेको देखिन्छ । अर्थात् ११ लाख १७ हजार १ सय ८० मतदाताले मत हालेनन् । यसप्रति निर्वाचन पर्यवेक्षक गर्ने संस्था र राजनीतिक विश्लेषकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

यसअघिको स्थानीय तहको चरणबद्ध निर्वाचनमा खसेको मतभन्दा अहिलेको निर्वाचनमा खसेको मत कम रहेको छ । पहिलो चरणको स्थानीय तहमा ७१, दोस्रो चरणमा ७० र तेस्रो चरणमा ७३ प्रतिशत मत खसेको थियो । उच्च हिमाली भेगमा बसोबास नै कम हुने, त्यसमाथि अत्यन्त चिसो, निर्वाचन नजिकिँदै गर्दा बम विस्फोट र आगजनीको डरका बाबजुद पनि अहिलेको निर्वाचनमा ६५ प्रतिशत मत खस्नुलाई सन्तोषजनकरुपमा लिनुपर्ने एकथरीको प्रतिक्रिया छ । अहिले भएको निर्वाचन संविधान बनेपछि भएको पहिलो आमनिर्वाचन भएकोले मतदाताको सहभागिता उत्साहजनक हुने अपेक्षा गरिएको थियो । तर अपेक्षा विपरीत मत खसेकाले यसलाई आममतदाताको राजनीतिप्रति वितृष्णाका रुपमा हेरिनुपर्ने केहीले औंल्याएका छन् ।

यता मतदातालाई आतंकित पार्ने घटनाको पृष्ठभूमिमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको आयोगको निष्कर्ष रहेको छ । निर्वाचन सफल भएकोमा सन्तुष्टि लिइरहँदा लाखौं जनता मतदान प्रक्रियामा सहभागी नभएको तथ्यलाई भने बिर्सिन मिल्दैन । यसपटकको निर्वाचन सैद्धान्तिक हिसाबले अत्यन्त महत्वपूर्ण रहेको छ । किनिकि संविधान निर्माण भएपछि भएको पहिलो आमनिर्वाचन हो यो । त्यसमाथि यो निर्वाचन संविधानले परिकल्पना गरेअनुसार संघ र प्रदेश तहको लागि भएको हो । यस हिसाबले यो निर्वाचनबाट मुलुक संघीय संरचनामा प्रवेश गर्नेछ । यस्तो युगान्तकारी महत्वको निर्वाचनमा लाखौं जनता सहभागी नहुनुले जनता आफ्नो गाउँ–ठाउँको भविष्यप्रति आश्वस्त हुन नसकेको रुपमा लिन सकिन्छ । यो अहिलेको व्यवस्थाको नाउँमा भएका कार्यप्रति असन्तुष्टि र असहमतिको संकेत पनि भन्न सकिन्छ । सोलुखुम्बुको तिङलाका बासिन्दाले क्षेत्र निर्धारणमा असन्तुष्टि जनाउँदै स्थानीय तहको निर्वाचनमा झैँ यस निर्वाचनलाई पनि बहिष्कार गरेको तथ्यले जनताको असन्तुष्टिलाई पुष्टि गर्दछ ।
स्थानीय तहको निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवार त्यही एजेन्डा लिएर आउने, अहिले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारले पनि उही एजेन्डा लिएर आउने कार्यले जनतामा अन्योल थपेको तथ्य कसैबाट लुकेको छैन । उही उम्मेदवार, चुनाव जितेपछि निर्वाचन क्षेत्रमा नाक–मुख देखाउन नआउने कारणले पनि आमजनतामा निराशा व्याप्त भएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा खसेको मत प्रतिशत कम हुनु यसैको संकेत हो । अहिलेका राजनीतिक दल र तिनका उम्मेदवारहरुले मत कम खस्नुका कारण पहिल्याएर त्यसतर्फ दृष्टिगोचर दिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्