दलका प्रतिनिधि भन्छन्– मतदाता शिक्षाको जिम्मेवारी पार्टीलाई दिनुपर्छ



पुष्कर बुढाथोकी, भक्तपुर

भिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आयोगले गरेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्दै मतदाता शिक्षाको जिम्मेवारी राजनीतिक दलहरुलाई दिनुपर्ने धारणा राखेका छन्।

हाम्रा कुरा डक कम र ईआईसीटीले सोमबार भक्तपुरमा गरेको मतदाता शिक्षा अन्तरक्रिया कार्यक्रममा बोल्दै दलका प्रतिनिधिहरुले निर्वाचन आयोगबाट मतदाता शिक्षाको नाममा हुने करोडौं रुपियाँ बराबरको बजेटलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न मतदाता शिक्षाको जिम्मेवारी दलहरुलाई दिनुपर्ने तर्क राखेका हुन्। मतदाता शिक्षाको नाममा आयोगबाट छुटइइएको बजेट दलहरुलाई बाँड्नुपर्ने माग पनि उनीहरुले राखेका छन्।

भक्तपुर–२ का प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुंगानाले मतदाता शिक्षाको नाममा आयोगले खर्चिने रकम दलहरुलाई दिनुपर्ने सुझाव दिए। उनको सो भनाइलाई अन्य राजनीतिक दलका प्रतिनिधिहरुले सहमति जनाएका थिए। मतदाता शिक्षा प्रभावकारी नभएमा खसेको मतको ठूलो अंश बदर हुन सक्ने सम्भावना भएको उनले बताए। उनले भने– ‘अब म चुनाव प्रचार–प्रसारमा जाँदा केही समय मतदाता शिक्षाको नाममा खर्च गर्छु।’

प्रत्येक उम्मेदवारहरुले कमभन्दा कम मत बदर होस् भन्ने प्रयास गर्नुपर्ने उनले बताए। उनले भने– ‘मतदाता शिक्षामा हामी पछि नै छौं। यस्ता सचेतना कार्यक्रमहरु हुन आवश्यक छ ।’ मत बदर हुन नदिन उम्मेदवारहरुले गर्न सक्ने काम पनि उनीहरुले गर्न नसकेको, गर्न नचाहेको गुनासो ढुंगानाले गरे। उनले भने– ‘उम्मेदवारहरुले आफ्नो ध्यान प्रचार–प्रसारमा मात्र होइन। मतदाता शिक्षामा पनि दिनुपर्छ।’

कार्यक्रममा बोल्दै भक्तपुर नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले मतदाता शिक्षाको नाममा आयोगले खर्चिने बजेट दलहरुलाई दिन प्रस्ताव राखे। दलहरुले मतदाता शिक्षा कार्यक्रम गरे भने त्यस्ता निकै प्रभावकारी हुने उनको भनाइ थियो। ‘मतदाता शिक्षाको नाममा निर्वाचन आयोगले गर्ने कार्यक्रम घर–घरसम्म पुग्दैन। पुगे पने त्यो प्रभावकारी हुँदैन’, थापाले भने– ‘त्यसैले दलहरुलाई मतदाता शिक्षाको जिम्मेवारी दिइयो भने घर–घरमा प्रभावकारीरूपमा पुग्छ।’

कार्यक्रममा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष वचन देउजा, माओवादी केन्द्रका संयोजक डीपी ढकाल, नेता निर्मल भट्टराईलगायतले वाम गठबन्धनले घरदैलो अभियानसँगै मतदातालाई जागरुक र सचेत बनाउने अभियान पनि सँगै लगेको बताए।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले मतदाता शिक्षाका लागि गत कात्तिक २५⁄२६ देखि आयोगबाट देशभर स्वयंसेवक परिचालन गरिएको र स्वयंसेवकले गर्ने कामको पनि अनुगमन गर्ने गरिएको सुनाए। एउटा स्वयंसेवकले १ हजार ६४ मतदातालाई सचेतना दिनुपर्ने बाध्यता भएको उनले बताए। समय अभावले पहिलो चरणको चुनावमा मतदाता शिक्षा प्रयाप्त हुन नसके पनि दोस्रो चरणको चुनावमा मतदाता शिक्षा प्रभावकारी हुने उनले दाबी गरे।
उनले भने– ‘तर पनि मतदाता शिक्षा कार्यक्रममा हाम्रोभन्दा पनि राजनीतिक दलहरुको भूमिका महत्त्वपूर्ण हुन्छ।’ मतदाता शिक्षामा अनुगमन गर्न कहिलेकाहीं आफूहरु घर–घरमा पुग्ने गरे पनि मतदाताहरु, राजनीतिक दलका प्रतिनिधिहरु पर्खेर बस्ने गरेको अनुभव सुनाए। ‘मतदाताहरु जसलाई भोट चाहिन्छ, उनीहरु नै हामीलाई सिकाउन आउँछन्। तपाईंहरुले सिकाएको हामीलाई पुग्दैन भन्ने पनि गर्छन्।’ –उनले भने।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर–२ ‘ख’ का प्रदेशसभा उम्मेदवार गणेशमान चक्रधरले अबदेखि आफूले चुनाव प्रचार–प्रसार सँगसँगै मतदाता शिक्षामा पनि ध्यान दिने प्रतिबद्धता जनाए।

‘मतदाता शिक्षा पुगेन भने मत दिएर मात्र हुँदैन। दिएको मत बदर हुन सक्छ’, चक्रधरले भने– ‘त्यसैले मतदाता शिक्षा कार्यक्रम पनि उत्तीकै महत्त्वपूर्ण छ।’ यसै गरी नेमकिपा भक्तपुर–२ ‘क’ का प्रदेशसभा उम्मेदवार सरोजराज गोसाईंले आफ्नो पार्टीले चुनावलाई जनताको चेतनास्तर उकास्ने अभियानको रूपमा लिएको बताए। उनले भने– ‘हाम्रो पार्टीको उद्देश्य नै मतदाता शिक्षालाई प्रभावकारी बनाउनु हो।’

यसै गरी भक्तपुर–२ को विवेकशील साझा पार्टीका प्रतिनिधिसभा उम्मेदवार शशिविक्रम कार्की र प्रदेशसभा सदस्यले आफ्नो पार्टीले चुनाव प्रचार–प्रसार सँगसँगै मतदाता शिक्षालाई पनि ध्यान दिएको बताए। कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले मतदाता शिक्षा कार्यक्रमलाई दलहरुले महत्त्व दिनुपर्ने बताउँदै दलहरुले मतदाता शिक्षा सचेतना अभियान शुरु गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्