तीन सुरक्षा घेरामा मतपेटिका



सुनील महर्जन, काठमाडौं
तदानस्थलबाट जिल्ला सदरमुकाम ल्याइएको मतपेटिका उच्च सुरक्षाका साथ भण्डारण गरिएको छ। मतदान भएको मतपेटिका ११ दिनसम्म भण्डारण गर्नु चुनौतीपूर्ण रहेको भन्दै निर्वाचन आयोगले उच्च सुरक्षा सतर्कताका साथ मतपेटिका राखिएको दाबी गरेको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मत गणना गर्ने भएकाले मतपत्र मुख्य निर्वाचन अधिकृतको रेखदेखमा विशेष सुरक्षाका साथ राखिएको जनाएको छ।
सदरमुकाममै मतपत्रसहितको मतपेटिका भण्डारणको व्यवस्था मिलाउन आयोगले जिल्ला निर्वाचन अधिकृतहरूलाई जिम्मेवारी दिएको छ। मुख्य निर्वाचन अधिकृत र जिल्लाका सुरक्षा प्रमुखहरू बसेर कहाँ भण्डारण गर्ने कुरा निर्धारण गरिने आयोगले जनाएको छ।

भण्डारण गरिएको मतपेटिका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको सुरक्षा घेरामा रहने आयोगमा सुरक्षा हेर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो। सुरक्षा अवस्था हेरेर पर्याप्त सुरक्षा व्यवस्था मन्त्रालयले गरेको पनि आयुक्त शाहले जानकारी दिनुभयो।
मतपेटिका त्यत्रो दिनसम्म ‘होल्ड’ मा राख्नु निकै जोखिम र चुनौतीपूर्ण हुने उल्लेख गर्दै उहाँले त्यसको सुरक्षाको व्यवस्था मिलाउन उच्चस्तरीय सुरक्षा समितिलाई निर्देशन दिइसकेको बताउनुभयो। उच्चस्तरीय सुरक्षा समितिको यसअघिको बैठकमा समेत प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारको सुरक्षासँगै मतपेटिका सुरक्षा चुनौतीपूर्ण रहेको धारणा राख्नुभएको थियो।

सोमबार साँझसम्ममा २ हजार ९ सय १७ मतदानस्थलमध्ये २ हजार ४ सय १० मतदानस्थलका मतपेटिका जिल्लाका सदरमुकाममा संकलन भइसकेको आयोगले जनाएको छ।

मतपेटिकालाई मतदान केन्द्रबाट ढुवानी गरेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि सबै मतपेटिकालाई एउटा निश्चित ठाउँमा राखेर ‘सिल’ गरिएको पनि उहाँले जानकारी दिनुभयो।

४० वटा मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट हिजो साँझ जिल्ला सदरमुकाममा ल्याइएको थियो। कतिपय जिल्लामा मतपेटिका लिन जाँदा हेलिकोप्टरमा आफूहरू पनि चढ्न पाउनुपर्ने भन्दै राजनीतिक दलहरूबीच विवाद भएपछि मतपेटिका नराखिकन हेलिकोप्टर फर्किएको थियो। यसले गर्दा पनि मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएको बुझिएको छ। आयोगका अनुसार ४ सय ६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको छ। मतपेटिका ११ दिनसम्म मुख्य निर्वाचन अधिकृतको जिम्मामा हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो।

पहिलो चरणको निर्वाचनको मतपरिणाम तत्काल सार्वजनिक गरिए त्यसले दोस्रो चरणमा हुने निर्वाचनमा असर पर्न सक्ने भन्दै एकै समयमा मतगणना गर्ने निर्णय निर्वाचन आयोगले गरेको हो। यसअघि तीन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चाहिँ मतदान भएलगत्तै मत गणना थालिएको थियो।
यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना शुरू भएको थियो। त्यतिबेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो।

प्रतिक्रिया दिनुहोस्